काठमाडौँ । ब्रोन्काइटिसका बिरामीलाई दिइँदै आएको एन्टिबायोटिक ‘लेभोफ्लक्स–५००’ नामक ट्याब्लेट औषधि व्यवस्था विभाग ९डिडिए०ले बजारबाट फिर्ता बोलाएको छ । प्रयोगशाला परीक्षणका क्रममा औषधि गुणस्तरहीन पाइएपछि विभागले उक्त औषधी फिर्ता बोलाएको हो ।
विभागका अनुसार बारा जिल्लामा रहेको ‘म्याग्नस फर्मा प्रा।ली’द्वारा उत्पादन गरिएको उक्त औषधिको ‘बिबि२४००१’ ब्याचले ९आइपी २०२२० मापदण्ड अनुसारको डिजोलुसन टेस्ट पास गर्न नसकेको भन्दै बजारबाट औषधी फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागका महानिर्देशक नारायण ढकालले औषधिको गुणस्तर सुनिश्चित गर्न, जोखिम न्यूनीकरण गर्न र उत्पादकहरूलाई जबाफदेही बनाउन औषधी फिर्ता गरिएको बताए । उनले भने, ‘गुणस्तरहीन औषधि बजारबाट हटाउनु विभागको प्रमुख दायित्व हो । त्यसैले हामीले उक्त औषधी बजारबाट फिर्ता बोलाएका हौँ ।’
लेभोफ्लक्स ५०० मिलिग्राम ट्याब्लेट, जसलाई लेभोफ्लक्सासिन पनि भनिन्छ । ब्रोन्काइटिस, तीव्र निमोनिया, छालाको सङ्क्रमण, र मूत्र मार्गको सङ्क्रमण तथा विभिन्न ब्याक्टेरिया सङ्क्रमणहरूको उपचारमा यो औषधीको प्रयोग गरिँदै आएको थियो । शुक्रवार मात्रै बजारबाट फिर्ता गरिएका उक्त औषधीका नमुना औषधि भने सन् २०२५ को फेब्रुअरीमा औषधि निरीक्षकहरूले सङ्कलन गरेका थिए । तर, प्रयोगशालाले उक्त औषधि गुणस्तरहीन भएको प्रतिवेदन सार्वजनिक गर्न झन्डै एक वर्ष लगाएको विभागले जनाएको छ ।
‘म्याग्नस फार्मा प्रालि’ले लेभोफ्लक्स औषधि ५०० मिलिग्राम र ७०० मिलिग्राम भेरियन्टमा उत्पादन गर्दै आएको छ । तीमध्ये ५०० मिलिग्रामको बिबि २४००१ ब्याच डिजोलुसन टेस्टमा असफल भएको विभागको भनाई छ ।
उक्त गुणस्तरहीन औषधि अझै बजारमा छ या सबै बिक्री भइसकेको छ भन्नेमा विभागसँग कुनै जानकारी छैन । उक्त औषधि पहिल्यै बिक्री भइसकेको छ या बिरामीले सेवन गरिसकेका छन् भन्ने बोरेमा विभागका महानिर्देशक ढकाल समेत अनविज्ञ छन् । नमुना सङ्कलन गरेपछि परीक्षण प्रतिवेदन आउन महिनौँ लाग्ने भएकाले यस्तो भएको उनले स्वीकार गरे ।
कर्मचारी अभावका कारण फिर्ता गरिएका सबै औषधी बजारबाट पूर्ण रूपमा हटाइए–नहटाइएको अनुगमन गर्न नसकिएको औषधी व्यवस्था विभागका अधिकारीहरूले बताए । देशभर सञ्चालनमा रहेका करिब २५ हजार फार्मेसीको अनुगमन गर्न जम्मा २० जना मात्र औषधि निरीक्षक रहेको उनीहरूको भनाइ छ ।
विभागले औषधि गुणस्तर परीक्षणमा असफल हुनुको कारण र फिर्ता गरिएको ब्याचको अवस्थाबारे ‘म्याग्नस फर्मा प्रालि’सँग छानबिन प्रतिवेदन माग्ने तयारी गरेको जनाएको छ । विभागका निरीक्षकहरूले नेपालमा औषधि आपूर्ति गर्ने स्वदेशी तथा विदेशी औषधि प्रयोगशालाहरूको पनि निरीक्षण गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने गुणस्तरहीन औषधिको प्रतिवेदन आउन महिनौँ वा वर्षौँ ढिलो हुनु बिरामीको स्वास्थ्यका लागि गम्भीर खतरा भएको भन्दै यसलाई सरकारको चरम लापरबाहीको संज्ञा दिएका छन् ।
बिरामीले गुणस्तरहीन औषधि सेवन गरे भने उनीहरूको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्ने र बिरामीको स्वास्थ्य झन् बिग्रन गई मृत्युसमेत हुन सक्ने उनीहरूको भनाई छ ।
औषधि व्यवस्था विभाग एलोप्याथिक(आधुनिक चिकित्सा) तथा आयुर्वेदिक औषधिको राष्ट्रिय नियामक निकाय हो । विभागले औषधिहरूले गुणस्तर मापदण्ड पूरा गरे नगरेको सुनिश्चित गर्न नियमित रूपमा देशभरका फार्मेसीहरूबाट औषधिका नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दै आएको छ ।

