काठमाडौँ । दुई धार्मिक समुदायबीच उत्पन्न तनावका कारण वीरगञ्जमा मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ। स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न समुदायका अगुवाबीच भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात कर्फ्यू हटाइएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सर्वपक्षीय बैठकमा शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्ने विषयमा सहमति भएको छ । हाल वीरगञ्जको अवस्था सामान्य बन्दै गएको र सुरक्षा सतर्कता भने यथावत् राखिएको प्रजिअ दाहालले बताए।
सर्वपक्षीय बैठकले निम्न पाँच बुँदे सहमति गरेको प्रशासनले जनाएको छः
१. धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने र कुनै पनि समुदायको धार्मिक आस्था र भावनामा चोट नपुर्याउने।
२. धार्मिक स्थल र पवित्र स्थानको सम्मान गर्ने तथा त्यस्ता स्थान वरपर कुनै पनि किसिमका उक्साहटपूर्ण गतिविधि नगर्ने।
३. अशान्ति फैलाउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्ने र त्यसमा सबै पक्षले सहयोग गर्ने।
४. बन्द, हड्ताल, उग्र प्रदर्शन र भड्किला जुलुस नगर्ने, शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्ने।
५. सामाजिक सञ्जालमा जात, धर्म र समुदाय लक्षित घृणात्मक तथा भ्रामक सामग्री नफैलाउने, फैलाएमा कानुनी कारबाहीको सामना गर्ने।
केही दिनअघि धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादपछि वीरगञ्जमा तनाव बढेको थियो।
सामाजिक सञ्जालमार्फत फैलिएका सामग्री र त्यसपछि भएको विरोध प्रदर्शनका कारण अवस्था उग्र बन्दै गएपछि प्रशासनले सम्भावित झडप र अशान्ति रोक्न कर्फ्यू जारी गरेको थियो। तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो।
कर्फ्यू हटेसँगै वीरगञ्जमा बजार, यातायात तथा दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। प्रशासनले भने आगामी दिनमा पनि अवस्था नजिकबाट अनुगमन गरिने जनाएको छ।