काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ को उपदफा (५) को खण्ड (क) बमोजिम ७५ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
निर्वाचन अधिकृतमा न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ७५ जना अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको आयोगले जानकारी दिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भण्डारीका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्नेछन् ।
