भीमफेदीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं-हेटौँडा जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी-कुलेखानी सडक खण्डमा काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते मध्ये दुई जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडाका ४० वर्षीय सविता लम्साल, हेटौँडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र बिहार बेगुसराइका करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन्। अन्य दुई मृतक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जनाको हेटौँडा अस्पताल तथा भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीके भनाई छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा खटिएका थिए। अप्ठ्यारो भौगोलिक अवस्था र गहिरो खोल्साका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार जिप अनियन्त्रित भएर सडकबाट खसेको आशंका गरिएको भए पनि दुर्घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सिफारिस