ओखलढुंगामा दम्पती हत्या र लुटपाटमा संलग्न ४ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चिसाङ गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, चिसाङ गाउँपालिका–४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल तथा चिसाङ गाउँपालिका-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।

उनीहरुले गत मंगलबार थापा दम्पतीको हत्या गरी नगद १ लाख रुपैयाँसहित २ तोला सुनका गरगहना र ६ तोला काँचो सुन लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । त्यससंगै उनीहरुले तीन महिनामा ३ जनाको हत्या गरेको पुष्टि समेत भएको छ ।

पक्राउ परेकामध्ये संगमलाई चिसाङ गाउँपालिका–३ दियालेबाट र विनोदलाई चिसाङ गाउँपालिका–४ रातमाटेबाट शुक्रबार पक्राउ गरिएको र प्रकाश र अशोकलाई शनिबार सोही स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को समेत गत असोज २६ गते हत्या गरेको खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक, एक थान सुनको औँठी, एक थान बन्चरो, एक थान खुकुरी र एक थान कोदालो बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस