वीरगंजमा कर्फ्यु आदेश जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म कर्फ्यु लागू हुनेछ।

कर्फ्यु आदेशअनुसार तोकिएको समयावधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। आदेशअनुसार कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा हातहतियारसहित आवत–जावत पूर्ण रूपमा निषेध गरिएको छ।

बीरगंजको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। अत्यावश्यक सेवाका सवारी साधन, स्वास्थ्य सेवा, एम्बुलेन्स, दमकल, खानेपानी तथा सरसफाइ, सञ्चारकर्मी, मानवअधिकारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई भने सुरक्षाकर्मीको समन्वयमा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।

कर्फ्यु अवधिमा कुनै अत्यावश्यक कारणले बाहिर निस्कनुपर्ने भए सुरक्षाकर्मीको अनुमति लिन वा प्रहरी आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

सिफारिस