काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकहरुको उद्दारको नाममा फर्जी विमा दाबी भुक्तानी लिई अर्बौं रुपैयाँ ठगी धन्दा चलाउनेहरुमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अपरेशन चलाइरहेको छ । यो धन्दामा संलग्न रहेको अभियोगमा हालसम्म ९ जना व्यक्तिहरु पक्राउ परेका छन् ।
पदयात्री पर्यटकलाई हिमाल अरोहणको क्रममा लाग्ने सामान्य हाई अल्टिच्युडको समस्यालाई माफिया व्यापारीहरुले हेलिकोप्टर मार्फत उद्दार गरी अवैध धन्दा चलाउँदै आएका छन् । ट्रेकिङ कम्पनि, हेलिकोप्टर कम्पनि, रेस्क्यु कम्पनि, पर्यटन सम्बद्ध अस्पतालको मिलेमतोमा नेपाल घुम्न आउने पदयात्री पर्यटकमाथि विमा भुक्तानीको नाममा ठगी हुँदै आएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरु विरुद्ध राष्ट्रहित विरुद्धको कसुर, संगठित अपराध र सम्पत्ति सुद्धिकरण कसुरमा म्याद गरेर अनुसन्धान गरिरहेको छ ।
हाल पक्राउ परेका जयराम रिमालको नाममा १० वटा भन्दा बढि कम्पनि देखिएको सीआइबी स्रोतको भनाई छ । त्यस्तै मुक्ती पाण्डे, सुवास केसी, डा. गिर्वाणराज तिमिल्सिना र रविन्द्र अधिकारी लगायतसँग शंकाष्पद कारोबारमा जोडिएकाहरुमाथि समेत सीआइबीले अनुसन्धान गरिरहेको छ । विशेषगरी उनीहरुको खातामा भएको शंकाष्पद कारोबारमा मुछिएका व्यक्तिहरुमाथि अनुसन्धान जारी छ । रिमालको स्वामित्व रहेको कम्पनि फ्लाइट कनेक्सन ईन्टरनेश्नलसँग अधिकांश ट्रेकिङ कम्पनि जोडिएको जोडिएका विभिन्न कम्पनि समेत अनुसन्धानको दायरामा आउँदैछन् ।
लाक्पा शेर्पाको स्वामित्व रहेको ईजि हेलिकोप्टर रेस्क्यु कम्पनिमाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । उक्त अनुसन्धानलाई छल्नका लागि उनी नेपाल बाहिर रहेको समेत खुलेको छ । फुर्वा शेर्पाको स्वामित्व रहेको डेली हेलि फ्लाइ सर्भिस पनि फेक रेस्क्यु धन्दामा रहेको तथ्य दियोपोस्टले फेला पारेको छ । फेक रेस्क्यु धन्दामा विदेशी कम्पनिहरु समेत सामेल छन् । वर्ल्ड ट्राभल प्रोटेक्सन समेत संलग्न रहेको उच्च स्रोतले दियोपोस्टलाई बताएको छ ।
टानकै अध्यक्ष सागर पाण्डेको कम्पनि हिलायन ग्लासियर पनि फेक रेस्क्यु धन्दामा मुछिएको स्रोतले बताएको छ । उनको कम्पनिलाई तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको समितिले पनि छानबीन गरेको थियो । ती विवरण समेत माग गरेर सीआइबीले छानबीन गरिरहेको छ । पाण्डेको कम्पनिले हाल पक्राउ परेका अभियुक्तहरुसँग शंकाष्पद कारोबार गरेको पाइएको छ ।
ठमेलको हिमालयन हाइट प्लाजा तेस्रो तलामा रहेको नेपाल माउन्टेन एसिस्टेन्स पनि नक्कली उद्दार तथा ठगी कार्यमा संलग्न रहेको छ । जसको सम्बन्ध हाल पक्राउ परेका अभियुक्तहरुसँग समेत रहेको पाइएको छ । ग्लोबल हेलिचार्टर सर्भिसका सञ्चालकहरु पनि फेक रेस्क्यु तथा फर्जी उद्दारको धन्दामा रहेको अनुसन्धानले देखाएको छ । यो कम्पनिका संचालक र हाल पक्राउ परेका कम्पनिका मालिकहरुको वित्तिय कारोबारसमेत भएका तथ्यहरु प्राप्त भएको छ ।
* कैलास हेलि चार्टर एण्ड रेस्क्यु सर्भिसमाथि पनि छानबीन जारी छ । यो कम्पनिका संचालक श्रीराम केसी हाल अनुसन्धान छल्नका लागि प्रहरीको सम्पर्कमा छैनन् । यता कैलाश हेलिकोप्टर सर्भिसमाथि पनि छानबीन जारी छ । कम्पनिका संचालक मध्येका एक ईश्वरी पौडेलले कम्पनिबाट सीआईबीले कागजात लिएर गएको र अनुसन्धानमा आफूहरुले सहयोग गर्ने बताए । पाैडेलले अनुमानित ४५ मिलियन डलरको शंकाष्पद कारोबार गरेको समेत स्रोतले बताएको छ ।*
स्नो आइस रेस्क्यु कम्पनिको कारोबार शंकाष्पद रहेको र ती कम्पनिका संचालकहरुले हाल पक्राउ परेका अभियुक्तहरुसँग मुछिएको स्रोतले बतायो ।
अल्पाइन रेस्क्युको प्रमाणहरु दियोपोस्टले सार्वजनिक गर्दै आएको छ । पछिल्लो समय यो कम्पनिको कारोबारपनि सीआइबीले झिकाएर अनुसन्धान गरिरहेको कम्पनिका संचालक प्रकाशचन्द्र लोहनीले दियोपोस्टलाई बताए ।
नेपाल रेस्क्यु एण्ड मेडिकल एसिस्टेन्स नामक कम्पनिको धन्दा पनि फेक रेस्क्यु नै हो । यो कम्पनि र हाल पक्राउ परेका अभियुक्तहरुबीच शंकाष्पद कारोबार रहेको स्रोतले बताएको छ । ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान)का पूर्व महासचिव विनोद सापकोटाले हेलि अन कल नामक कम्पनि मार्फत रेस्क्यु गर्दै आएका थिए । यो कम्पनि र हाल पक्राउ परेका अभियुक्तहरुले संचालन गरेको कम्पनिबीच पनि शंकाष्पद कारोबार छ ।
वर्ल्ड मेड एसिस्टेन्सको पनि फेक रेस्क्युमा संलग्नता रहेको स्रातले बताएको छ । यो कम्पनिको कारोबार शंकाष्पद रहेको समेत स्रोतले दियोपोस्टलाई बताएको छ ।
भारतीय कम्पनि मेडि एसिस्टले पनि फेक रेस्क्यु गर्दै आएको छ । तर, राज्यको अनुसन्धानको दायरामा पर्न नसकेको निकटस्थहरु स्रोतहरुको दाबी छ । फस्ट एसिस्टेन्स नेपाल नामक कम्पनिले पनि लामो समयदेखि फेक रेस्क्यु धन्दामा सामेल रहेको र संचालकहरु फरार रहेको बताइएको छ । वेभसाइट नै डाउन गरेर संचालकहरु फरार रहेको सीआइबी स्रोतले बताएको छ ।
ठमेलस्थित ईरा अन्तर्राष्ट्रिय अस्पतालमाथि पनि सीआइबीले छानबीन गरिरहेको छ । संचालकहरु लाक्पा शेर्पा लगायतको कारोबार शंकाष्पद देखिएको स्रोत बताउँछ । कतिपय संचालक विरुद्ध पक्राउ पुर्जी समेत जारी भएको बताइएको छ । सिवेक क्लिनिकले पदयात्री पर्यटकको उपचारमा लुट मच्चाउँदै आएको छ । तर, अनुसन्धानको दायरा भने उनीहरुमाथि केन्द्रित हुन नसकेको बताइएको छ । दियोपोस्टले सिवेकको धन्दाबारे पनि लामो समयदेखि रिपोर्टिङ गर्दै आएको छ ।
ह्याम्स अस्पतालको पनि भौचरसहितको समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि सीआइबीले अनुसन्धान थालेको भएपनि कारबाहीको टुंगो लागेको छैन । फ्रन्ट लाइन अस्पतालमा एभरेष्ट एक्सपेरियन्स र एभरेष्ट कनेक्सनले फेक रेस्क्यु गरेको विरामी भित्र्याउने गरेका छन् । अस्पताल संचालकहरु छानबीनमा तानिने प्रमाण सीआइबीमै रहेको स्रोतको भनाई छ ।
सप्रदा एडभेन्चर्स र प्रिसियस ट्राभल्सले पनि फेक रेस्क्यु धन्दा गराउँदै आएको छ । कम्पनिका संचालक कुमारमणि थपलिया हाल पक्राउ परेका अभियुक्तहरुबीच शंकाष्पद कारोबार रहेको अनुसन्धानमा संलग्न स्रोतको भनाई छ । थपलिया नाट्टाका अध्यक्ष र पर्यटन बोर्डको सदस्य समेत रहेको खुलेको छ ।
* सच्याइएकाे : यसअघि कैलाश चार्टर एण्ड रेस्क्यु सर्भिसका संचालक ईश्वरी पौडेल भनि भूलबस गलत नाम पर्न गएकोमा सत्याइएको छ ।