काठमाडौं प्रहरी प्रमुख कार्कीलाई हटाएर आफन्त एसएसपी ल्याउन गृहमन्त्री श्रेष्ठको कसरत !

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीको बरिष्ठ प्रहरी अधिकृत (एसएसपी) सरुवामा व्यापक चलखेल भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू अनुकुल व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा सरुवाको चलखेल गरेका हुन् ।
गृहस्रोतका अनुसार श्रेष्ठले आफू निकट केही व्यक्तिलाई सरुवा गरेर जिम्मेवारी दिन प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर समक्ष दबाव दिएका छन् ।

गत पौष २८ गते मात्रै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएका एसएसपी दान बहादुर कार्कीलाई त्यहाँबाट सरुवा गर्न गृह मन्त्रालयमा विचौलियाहरुको लाइन लागेको छ । विचौलियाकै प्रभावमा गृहमन्त्री श्रेष्ठले एसएसपी जीवन कुमार श्रेष्ठलाई काठमाडौं प्रहरी प्रमुख (किलो १) बनाउने तयारी थालेको स्रोत बताउँछ । गृहजिल्ला गोरखाबासी समेत रहेका जीवन गृहमन्त्री श्रेष्ठका समेत आफन्त हुन् ।

सामान्यतया प्रहरीमा काठमाडौं प्रहरी लगायतमा एक वर्षपछि मात्रै नेतृत्व परिवर्तन गर्ने प्रचलन छ । तर पछिल्लो समय शक्तिकेन्द्रको स्वार्थ अनुसार समय नपुग्दै सरुवा गर्ने गरिएको छ । यसअघि एसएसपी रहेका हाल डिआइजीमा बढुवा भइसकेका भरतबहादुर बोहरा पनि एक वर्ष नपुग्दै सरुवा भएका थिए । उनलाई त्यहाँबाट सरुवा गरेर प्रहरी प्रधान कार्यालयको उजुरी छानबीन शाखामा पुर्याइएको थियो ।

शक्तिकै आडमा काठमाडौं प्रहरी प्रमुख बन्न आइपुगेका कार्की ५ महिना नपुग्दै सरुवा हुने भएका छन् । तत्कालिन गृहमन्त्री रवी लामिछानेको निकट रहेका कारण उनको सरुवा काठमाडौंमा भएको थियो ।