[अन्तर्वार्ता] नेपाली राजनीतिको बजारमा प्रचण्डका प्रवल समर्थकहरु अहिले दागी भइसके : किशोर नेपाल

- सुदीप विश्वकर्मा/प्रदीप घताल  

 

काठमाडौं । लेखक तथा पत्रकार लिलाराज खतिवडाको भाषामा नेपाली पत्रकारीताको ‘बाघ’ भनिने वरिष्ठ पत्रकार किशोर नेपाल ५६ वर्षदेखि पत्रकारीतामा क्रियाशिल छन् । नेपालद्वारा लिखित निबन्ध, उपन्यास, कथा र संस्मरणसहित १० वटा पुस्तक प्रकाशित छन् । गोरखापत्र, कान्तिपुर दैनिक, नागरिक दैनिक लगायत दुई दर्जनभन्दा बढी मूलधारका संचार माध्यमको सम्पादकीय नेतृत्व गरेका नेपाल पछिल्लो समय रुपान्तरण डटकमको सम्पादक छन् ।

हरेक विषयमा खरो टिप्पणी गर्ने नेपाललाई दियोपोस्टकर्मी प्रदिप घताल र सुदीप विश्वकर्माले पहिलो प्रश्न सोधेको थियो,– पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

मेरो विचारमा अहिले राजनीतिमा जे भइराखेको छ । त्यो पानीमा भूल्का आएको जस्तो मात्रै हो । यसले राजनीतिलाई विशेष गति दिँदैन । अब केहीसमय पछि एमालेसँग पनि माओवादीको सम्बन्ध मधुर हुनसक्छ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालको जुनखालको मनस्थिति देखिन्छ । उहाँले एक पटक मध्यावदी निर्वाचन गराउनुहुन्छ । यो मध्यावदीमा नगइकन सुख पनि छैन । किनभने यो एकधारमा नआइकन र एउटा परिस्थितिको श्रृजना नभएसम्म सेटल हुनसक्दैन । सेटल हुने तत्वहरु (ईलेमेन्ट्स) नै छैनन् । को– कोसँग मिल्ने ? जुन संविधानले नेपाललाई संघीय गणतन्त्र बनायो त्यो संविधान नै अहिले अलपत्र परेको छ । अहिले समानुपातिकको उपयोगिता सकिएको छैन । तर, दलहरुले अहिले नै समानुपातिकलाई घाँडो मान्न थालेका छन् । समानुपातिक भनेको हाम्रो जस्तो निर्धन र दरिद्रताको क्रुर पार भइरहेको मुलुकमा तल पारिएका र माथि आउन नसकेका मानिसहरुलाई निर्णय गर्ने ठाउँसम्म एडजस्ड गर्ने विधी हो । त्यो विधि नै अहिले विवादास्पद भइराखेको छ । किनभने मान्छेलाई अहिले कुर्सीमात्रै चाहिएको छ ।

प्रचण्डजीले एउटा कालखण्डको नेतृत्व गरेँ अब मलाई पुग्यो भनेर पेल्ने हो भने एउटा कुरा भयो । उहाँकै व्यक्तित्वका लागि पनि विनाशकारी सावित हुन्छ । तर, त्यसो गर्नुहुन्न भन्ने लाग्छ । किन भने प्रचण्डको मनस्थिति जतिसुकै चञ्चल देखिएपनि प्रशासनिक हिसाबले काम गर्दा उहाँले निर्णयहरु छिटो छिटो लिन सक्नु भएको छैन । तर, राजनीतिक तहमा उहाँमा चिन्तनको गहिराई छ । त्यसकारण उहाँले मध्यावदी चुनाव गराउनुहुन्छ । त्यो उहाँको बाध्यता हो । खुसीले होइन । तर, अहिले उहाँ किन यसलाई तन्काइरहनु भएको छ भने उहाँको संगठन ‘छ्याल्लब्याल्ल’ छ । भर्खरै कामरेडहरु फेरी गाउँभित्र पस्न थालेका छन् । तर, गाउँमा उनीहरुलाई फूलमाला लगाएर स्वागत गर्ने त कोही छैनन् । १०/२० वर्षको यो कालखण्डमा माओवादीले यो पुरुषार्थ गर्यो भनेर हामीले देखेका छैनौँ । माओवादी भनेको हिंस्रक हुन्, फटाह हुन्, यीनीहरु दूश्मन हुन् भनेर एउटा न्यारेटिभ तयार गरिएको छ । त्यो न्यारेटिभ क्यापिटलमा स्थापित भएको छ । माओवादीका धेरै नेताहरु त्यही हल्लाको पछाडी लागेका छन् । आफ्नै विरुद्ध आफै झण्डा उठाएका छन् ।

तपाईंले भन्नु भएको जुन माओवादीप्रतिको न्यारेटिभ छ त्यसैले संघीयता र समावेशीतालाई पनि स्विकार गर्न नसकेको हो ?

 

तपाईंको राजनीति राजधानी केन्द्रित भयो । तपाईंले नेपालको राजनीति गर्याकी काठमाडौं भ्याली भित्रको राजनीति गरेको ? अहिलेसम्म राष्ट्रिय राजनीतिले हाँगाविगा फैल्याउन पाएको छैन । यो काठमाडौं सेन्ट्रिक छ । काठमाडौंको हेजेमोनी स्थापित भइरहेको छ । यो खाल्डोको जहिलेपनि हेजेमोनी स्थापित भएको छ । चाहे त्यो मल्ल कालमा होस्, शाहकाल वा राणकालमा होस् । इतिहासलाई हेर्दै जानुभयो भने यसको विचित्रता छ । अहिले के ले तपाईंलाई निर्णय गर्नबाट रोकेको छ । संवैधानिक निर्णयहरु गर्न केले रोकेको छ ?

अहिले प्रचण्डजीले नेतृत्व गर्नुभएको नयाँ गठबन्धनले पूर्णता नपाउँदै फेरी अर्को वैकल्पिक गठबन्धन बन्दै गरेको सुचनाहरु बाहिर आइरहेको छ । यसको सार्थकता कत्तिको देख्नुहुन्छ ?

एक ताका इटलीमा १५/१७ दिनमा सरकार परिवर्तन हुन्थ्यो । तपाईंहरु त्यतिबेला जन्मनु भएको थियो÷थिएन । हामीले त्यतिबेला रेडियो नेपालबाट त्यस्ता खबर सुन्थ्यौँ । त्यो खेल इटलीले धेरै लामो समयसम्म भोग्यो । त्यो सामथ्र्य हामीसँग छैन । त्यो राजनीतिक अस्थिरता व्यहोर्न हामी सक्दैनौँ । त्यतिबेला नै सोच्नुपर्थ्यो । यति ठूला क्रान्तिकारी नेताहरु थिए । उनीहरुले संविधानको स्वरुपलाई १० वर्ष लगाएर लेखे । त्यो संविधानले पनि आफ्नो औचित्य सावित गर्न सकेन । यो संविधानको स्वामित्व लिने अरु पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले होइनन् । त्यसको स्वामित्व प्रचण्डले नै लिनुपर्यो । माओवादीसँग गिरिजा प्रसाद तथा तत्कालिन सरकारले गरेको बृहत शान्ति सम्झौताको उत्पादन हो त्यो ।

अहिले समानुपातिकको उपयोगिता सकिएको छैन । तर, दलहरुले अहिले नै समानुपातिकलाई घाँडो मान्न थालेका छन् । समानुपातिक भनेको हाम्रो जस्तो निर्धन र दरिद्रताको क्रुर पार भइरहेको मुलुकमा तल पारिएका र माथि आउन नसकेका मानिसहरुलाई निर्णय गर्ने ठाउँसम्म एडजस्ड गर्ने विधी हो । त्यो विधि नै अहिले विवादास्पद भइराखेको छ । किनभने मान्छेलाई अहिले कुर्सीमात्रै चाहिएको छ ।

प्रचण्डमा त्यो संविधानको स्वामित्व लिने तागतमा क्षयीकरण भएको हो ? किनभने पछिल्लो समय हिजोको जस्तो रापताप छैन, कार्यकर्ता पनि छैनन् नी ?
होइन रापताप छ । कार्यकर्तापनि छन् तर देखिन कोहीपनि चाहँदैनन् । किन भने नेपाली राजनीतिको बजारमा प्रचण्डका प्रवल समर्थकहरु थिए । ती अहिले दागी भइसके । रामबहादुर थापा, कृष्णबहादुर महरा, नन्दकिशोर पुनलाई हेर्नुहोस् । ‘एक से एक’ माओवादीका हस्तीहरु कोही केमा, सुन तस्करीमा, परेका छन् । म ०५६ सालदेखि क्यामेरासहित यो देश पुरै घुमेको छु । त्योबेला यी मानिसहरुले नेतृत्वप्रति आस्था गर्थे । यीनै महराजीप्रति कति ठूलो आस्था र सम्मान थियो । मैले आफ्नै आँखाले देखेको छु । त्यो रहेन । त्यो भ्रम रहेछ भन्ने भयो । त्यसले गर्दा प्रचण्डजीलाई गाह्रो भएको हो । तर, प्रचण्डजीमा एउटा खुबी के छ भने उहाँ नयाँ मानिसहरुलाई श्रृजना गर्न सक्नुहुन्छ ।

तर, प्रचण्डजीमा पछिल्लो समय निजि सम्पति र पारिवारिक मोह देखिन्छ । पार्टी भित्रकै विशिष्ट नेताहरुपनि सांसारिक मोहमा फसेजस्तो देखिनुहुन्छ नी ?
– उहाँले कतै भन्नुभएको छ,‘यही छोरी छ । श्रीमती र छोरा पनि छैन । मेरो को छ र !’ भनेर बडो दयनीय बिलाप गर्नुभयो । प्रचण्डले ठूलो काम गरेको हो । सानो कन्जर्भेटिभ मुलुकलाई गणतन्त्रको लिकमा ल्याउनु भनेको धेरै ठूलो साहसको कुरा हो । त्यसकारण उहाँलाई यसमा केही भन्न मिल्दैन । तर, प्रचण्ड जत्तिको मान्छेले यतिसानो ‘पितुर्के’ कुरा गर्न मिल्दैन । मेरो को छ र ? मैले के खान्छु र ? यो सबै कुराहरु थाङ्ने कुरा हो । उहाँले यस्तो कुरा गर्न सुहाउँदैन थियो ।

प्रचण्डमा वैचारिक संकुचन पनि देखिएको छ । हिजो हजारौँ सहिद र वेपत्ता भए ती सबै प्रचण्डकै मान्छे थिए । कतिपय अझैपनि छन् । तर, आज उहाँ सत्तामा पुगेपछि आफ्नो मात्रै देख्ने ‘मेरो को छ र भन्नुले त्यस्तै बुझाउँछ होइन ?

उहाँको छोरी रेणुले भरतपुरमा राम्रो काम गर्नुभएको छ । मैले देखेको छु । उहाँमा डेडिकेशन छ । प्रचण्डकै छोरी भएकै कारणले उहाँलाई गाली र निन्दा गर्न मिल्दैन । गंगाजीलाई उहाँले नीजि सचिव बनाएर राख्नु भएको छ त्यो पनि संसारमा नचलेको कुरा होइन । ईन्दिरा गान्धीले पनि जवाहरलाल नेहरुको नीजि सचिवको रुपमा काम गर्थिन् । हामीकोमा पढ्ने चलन छैन । इतिहास पनि थाहा छैन । प्रचण्डजीमा आडम्बर छैन । उहाँ भावनामा आएर प्वाक्क बोलिहाल्नु हुन्छ । तपाईंले उहाँको प्रतिपक्षी भएर प्रश्न गर्दै हुनुहुन्छ । म उहाँको पक्षबाट उत्तर दिँदैछु । उहाँलाई डिफेन्स गर्ने को त ? पार्टी खै ? संविधान सभाको पहिलो चुनावमा सारा बुद्धिजिवी काठमाडौंमा भेला भएर माओवादीले ल्याउने भनेको २०÷२५ सिट हो भनेका थिए । मैले ९० सिट भन्दा कम ल्याउँदैन भनेँ ।

एक्लो बृहस्पति भएँ । तर, एक्लो बृहस्पति झूटो भएन । पहिलो गणतान्त्रिक सरकारको नेतृत्व प्रचण्डजीले गर्नुभयो । त्योबेला मलाई अगुल्ठो हान्न मान्छेहरु चारैतिर तयार भएर आएका थिए । माओवादीको प्रसंशक रहेछ भन्ने पनि धेरै आए । ममाथि आक्रमणको कोशिस भयो । संविधान सभाको दोस्रो चुनाव पनि हेर्न गएको थिएँ ।

गिरिराजमणीजीको क्षेत्र बर्दिवासदेखि धनगढीसम्म मैले माओवादीलाई फलो गरेको थिएँ । त्यतिबेला माओवादी र गैरमाओवादीले मलाई सोधेका थिए । तर, म केही बोलिनँ । किनभने माओवादीको पक्षमा हावा चलेको देखिनँ । मान्छेहरुले यो कुरा बिर्सिएकी प्रचण्डजीलाई रुकमाङ्गत कटुवाल हटाउने अधिकार थियो । नेपाल अधिराज्यलाई नेपाल राष्ट्र बनाउने गणतन्त्रका संस्थापक मध्येका एक हुन्–प्रचण्ड । उनी प्रधानमन्त्री हुनु स्वभाविक थियो । उनले राज्यको व्यवस्थापन र रुपान्तरणका लागि सेनाका मानिसहरु विशेषगरि आफूलाई भरोसा नलागेका मान्छेहरुलाई हटाउन पाउँछ । कुनै पनि प्रधानमन्त्रीलाई त्यो अधिकार हुन्छ । तर, उहाँलाई त्यो दिइएन ।

हस्तक्षेप भयो । त्यसका राजनीतिक कारणहरु छन् होला । सुरक्षात्मक कारणपनि होलान् तर, मलाई त्यस्तो लाग्दैन । त्यो कारणप्रति नजाउँ । तर, रुकमांगत कटुवाललाई उहाँले हटाउन सक्नु भएन । त्यसपछि प्रधानमन्त्रीको कुर्सी निर्धो भयो । उहाँले राजिनामा दिएर हिँड्नु भयो । झूकेर पनि बस्नु भएन । तपाईं त्यहीबाट बुझ्नु भर्खरै त्यत्रो रापतापले संविधान सभामा जितेर आएको प्रधानमन्त्रीको यो देशमा त्यो हविगत हुन्छ भने अरु कसको कुरा गर्नुहुन्छ तपाईं ?

राजनीतिक ‘ट्रयाक’ त्यतिबेलादेखि नै बिग्रियो भन्ने तपाईंको निष्कर्श हो ?

हो त्यहीँबाट बिग्रियो । कांग्रेसले एकपछि अर्को बेवकुफी गर्दै गयो । त्यतिबेला एमालेको कुनै भूमिका थिएन । गिरिजाप्रसाद कोइरालाले माधव नेपाललाई प्रधानमन्त्री बनाइ दिनुभयो । त्यसको विरहमा प्रचण्डजी रेखा थापासँग बबरमहलमा छमछमी नाचेको मैले देखेकै हो । हाम्रोमा राजनीतिको लिगेसी बन्न सकेको छैन । तर, हिजेमोनीको लिगेसी जमेको छ । त्यसैले काम गरिरहेको छ । तपाईं देश एकदमै शुद्ध भयो भनेर हिड्नुस् तपाईंको निर्णय प्रक्रियामै छक्क पर्नुहुन्छ । कुनैपनि निर्णय प्रक्रिया हेर्नुस् । सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु भ्रष्ट सावित हुन्छन् । महाअभियोग लाग्ने अवस्थामा पुग्छन् । जुन देशका सचिवहरु टेबुलमा बसेर घुस खान्छन् तर सत्यवादी चरित्रको गफ लगाउँछन् । जुन देशमा मन्त्रीहरुमा आफ्नो एजेन्डा के हो ? आफ्नो मन्त्रालयले के गर्ने भन्ने कुराको याद हुँदैन । योजना हुँदैन । जुन देशमा नेताहरु चुनाव जितेर मख्ख पर्छन् तर दायित्वबोध गर्दैनन् । त्यो देशमा के हुन्छ ?

समाजको चरित्र र बनोटमै समस्या देख्नुहुन्छ ?

हाम्रो जस्तो गरिव देशमा समाजको चरित्र परिवर्तन हुन समय लाग्छ । पिजर्ब राखेको पनि हुन सक्छ । किर्तिपुरको मिठो ओयला खान पाइन्छ भनेर कुनै अमेरिकन, चिनियाँ र कुनै इन्डियनले पिजर्भ गरेर राखेको पनि हुनसक्छ । तर, काठमाडौंको हिजेमोनी स्टाइललाई निरन्तरता दिइएको छ । संविधान जारी भएको १० वर्ष भयो । दुईवटा चुनाव भइसक्यो तर, संविधानको हालत हेर्नुस् त । यो अगाडी बढ्न सकेको छैन । सामान्य जनताले जेब्राक्रसबाट सडक पार गर्न ट्राफिक पुलिसलाई दाई भनेर सलाम गर्नुपर्छ । जुन देशमा नागरिकको सम्मान र इज्जत हुँदैन । त्यो देशको के महत्व हुन्छ । तपार्ईं हेर्नुस् सडक भत्काइएको हुँदैन तर पेटी भत्काइराखेको हुन्छ । मानिसहरुलाई जेब्राक्रसिङको नियम ट्राफिकले सिकाउने हो तर सिकाउँदैन । महानगरले सडकका पेटी सफा गर्न तरकारी पसल उठाउँछ त्यो ठीकै छ । तर, उनीहरुलाई व्यवस्थित गर्दैन । कुनैपनि कुरामा ‘सिभिल सेन्स’ छैन । सिभिल आचरण छैन भने के गर्नुहुन्छ । त्यो आचरण कर्मचारीतन्त्रमा हुनुपर्छ । पञ्चायतकालमा पनि घुस प्रसस्त खान्थे । अहिलेको भन्दा बढी खान्थे । तर, घुस खाने मान्छेहरुले प्रमाण प्रमाण प्रमेयहरुलाई पनि म्यानेज गर्थे ।

धेरै विसंगती देखेपछि त्यसलाई संगती हो की भन्छ । त्यो राजाको पास्ट (विगत) तपाईंले हेर्नुभएको छैन । त्यो राजतन्त्रले कति मान्छेको हत्या गर्यो । कति मान्छेलाई निर्वासनमा पठायो । कति सम्पत्ति ज्ञानेन्द्रले लुट्यो । त्यो न्यारेटिभ खै दिनु भएको ? दियोपोस्टले लेखोस् न । गुगलले ज्ञानेन्द्रलाई अहिले १० नम्बरमा देखाउँछ । उसको सम्पत्ति खोज्नु भयो भने त्यसको वारपार नै लाग्दैन ।

 

त्यो म्यानेज गरेका कुराहरुलाई अहिले खोतलेर बाहिर ल्याएर हामीले भ्रष्टाचार मुक्त देश बनाएका छौँ भनेर सरकारले भनेको होला । त्यसलाई महत्व दिनुपर्छ भन्ने छैन । त्यसपछि भएका भ्रष्टाचारहरु पनि खोतल्नुपर्छ । सरकारको चरित्र हेर्नुस् कस्तो मान्छेहरु सरकारमा छन् । प्रधानमन्त्रीजीले अस्तिसम्म शेरबहादुरजीसँग दायाँ गाला जोड्नु भएको थियो । अब अहिले ओलीजीसँग बायाँ गाला जोड्नु भएको छ । त्यो कतिदिन ? त्यसकारण म भनिरहेको छु मध्यावदी हुन्छ । यो भन्दा अर्को लजिकल इन्ड नै छैन । देशका जनताको धेरै ठूलो महत्वकांक्षा छैन । सानो जनतालाई एउटा लालीपप दिनु भयो भने त्यो लालीपप हातमा लिन पनि डराउने मानसिकता छ । त्यति हामी कमजोर भएका छौँ । संसदको रोष्टमबाट कसैले मिठो बोल्दिए पनि खुसी भइहाल्छौँ । मिठो त धेरैले बोल्छन् । तर गर्छन के त ? तपाईंहरु जस्तो मिडियावाला वा मै पनि मिडियावाला हुँ । यसलाई मनिटर कसले गर्ने ? तपाईंहरु आउनुभो यतिराम्रो राजनीतिक कुरा गर्नुभो । अब यो कुरा कम बिक्छ । तपाईंले यसलाई बिकाउ बनाउन केही न केही सेन्सेस्नल कुराहरु जोड्नुपर्छ । त्यो जोडेपछि यसको सारतत्व सकिन्छ ।

मिडियालाई दास बनाउने काम भइरहेको छ । केही फटाहहरु मिलेर सोसियल मिडिया र मेनस्ट्रम मिडियाबीच सम्बन्धलाई विगार्ने काम भइरहेको छ । मेनस्ट्रिम मिडियालाई तल झार्ने खेल भइरहेको छ । यो पोलिटिकल मुभमेन्ट हो । यसलाई तपाइले नसोच्नुहोस् की एआइ, वा च्याट जेपीटिको प्रभाव होइन ।

भन्नुको अर्थ नेपालमा पनि भारतमा जस्तै ‘गोदी मिडिया’को बिगबिगी बढेको हो ?

मलाई त्यस्तो लाग्दैन । भारतीय मानसिकता त्यस्तै छ । उनीहरुले कांग्रेस आइको शासन धेरै लामो समयसम्म देखे । त्यहीबेलामा भारतीय जनता पार्टीले उठाएका मुद्दाहरु खराबै हो भन्न मिल्दैन । भारतीय जनता पार्टीले १० वर्षे नेतृत्वमा भारतले असिम प्रगती गरेको छ । यो सबै छर्लंगै छ । सोनिया गान्धी, राजिव गान्धी वा प्रियांका भाद्राले बोलेर केही हुनेवाला छैन । टेलिभिजनमा सानका साथ नितिन गडगरीले सडक बनेको प्रचार गरिरहेका छन् । त्यो बनेको पनि छ । तीन/चार घण्टामा दिल्ली–मुम्बइ पुग्न सक्ने बाटो बनेको छ । त्यहाँको मूलधारका संचारमाध्यमहरु ‘न्युट्रोल’ तर ‘लिटिल पोजेटिभ विथ बिजेपी’ जस्तो देखिन्छ । किनभने रविस कुमारले युट्युबमा जतिसुकै फलाके पनि उनलाई कांग्रेस आईले अवसर दिएको त होइन नी । त्यसै म्यागासेसे अवार्ड पाएको थिएन । कसरी पाउँछ हामीलाई पनि थाहा छ ।

सोसियल मिडिया र मूलधारका संचारमाध्यमबीचको विभाजन एउटा राजनीति हो भन्नु भयो कस्तो खाले राजनीति हो ? के ल्याउन खोजिँदैछ ?

यहाँ थोकमा खरिद हुँदैछ । मान्छे काम छैन के गरेर बस्छ । पत्रकारीताको त्यस्तै हालत छ । एउटा पत्रकार महासंघ भन्ने थियो । त्यो कुनैबेला शक्तिशाली थियो । तर, त्यसलाई पनि चौतारी मिल्यो, युनियन मिल्यो र सेन्टर मिलेर भागबण्डा गरेर सिद्धयायो । प्रेस युनियनले कांग्रेस पार्टीको, चौतारीले एमाले पार्टीको र प्रेस सेन्टरले माओवादी पार्टीको काम गरेर पत्रकारहरुलाई पत्रकारीता गर्न स्वच्छ राखेको भए महासंघको यो हरि बिजोग हुँदैन थियो । महासंघको महाधिवेशन भनेपनि मान्छेलाई चिन्ता र चासो छैन ।

 

म आफै पत्रकार महासंघको निर्वाचित सभापति हुँ । पत्रकार महासंघको जग्गा हाम्रै पालामा खोजेका हौँ । अहिले दलतन्त्र छ । अहिले त्यसको अस्तित्व र अस्मितालाई स्विकार गर्न कोही तयार छैन । त्यही हालत प्रेस काउन्सिलको छ । प्रेस काउन्सिल त्यही हुन्छ त ? संसुारभरीको प्रेस काउन्सिल तपाईं अध्ययन गर्नुस् । आज जस्ता मान्छेहरु प्रेस काउन्सिलमा छन् त्यस्तै मान्छे हुन्छन् त ? नेपाली पत्रकारीताको स्ट्यान्डर्ड त्यही हो ? म कसैको नाम लिन्न । तर, पछिल्लो समयमा बहुदलीय प्रजातन्त्र र ६२ सालको परिवर्तनपछि त्यसको स्वरुप बदलिएको छैन । प्रेस काउन्सिल र महासंघ दुवै पुरानै शैलीमा छन् । व्यवस्थाका नाम बदलिए समाज बदलिएका छैनन् ।

यति ठूलो परिवर्तनमा सहभागी भएको हाम्रो समाज परिवर्तन किन हुन सकेन ?

हाम्रो समाजको संस्कार संस्कृति दरिद्र किसिमको छ । हाम्रो मानसिकता पनि पहिलेदेखि थिचिँदै आएको छ । गोरखाको पाण्डेहरुको लहरो खोज्दै जानुस् त्यहाँ गएर नेपाली समाज टुंगिन्छ । कहाँका बस्नेत त्यहाँ गएर त्यसको समाज टुंगिन्छ । यसरी एउटा हेजेमोनी खडा भएको छ ।

भनेपछि समाज परिवर्तनमा जातले अवरोध गरेका देख्नुहुन्छ ?

त्यो भन्दा पनि धनको देखिन्छ । कसको कति रोपनी खेत थियो । कतिरोपनी धान थियो । कति रोपनी बारी थियो ।

त्यो खेत र बारी कसको कति हुने भन्नेपनि पहिले नै निर्धारित थियो होइन र ?

हो पहिले नै निर्धारित थियो । २००७ र २०१५ सालमा मधेशमा नेपाली कांग्रेसमा भोट पायो । किन भने यसले हामीलाई जग्गाको मालिक बनाइदेला भनेर भोट दिए । २००९ सालको नागरिकता ऐनमा टोपी लगाएको फोटो चाहिँदैन थियो । नेपाली बोल्न जान्नुपर्दैन थियो । मधेशको मान्छेले नेपाली बोल्छ र ? मधेशको दलितको छोरोले बोलेको सुन्नु भएको छ ? वा टोपी लगाएको देख्नुभएको छ ? २००९ सालको भन्दा २०१७ सालको नागरिकता ऐन खत्तम छ । उनीहरुको त मातृभाषको पनि उपमातृभाषाहरु होलान् ।

नेपाली समाजको ज्ञानशास्त्रमा पनि समस्याहरु देखियो भन्ने तपाईंको निष्कर्श हो ? युरोपमा ईन्लाइटमेन्ट वा चीनमा भएका सांस्कृतिक परिवर्तन यहाँ पनि जरुरी देख्नुहुन्छ ?

यहाँ कस्तो छ भने दुईचार अक्षेर पढेका मान्छेहरु हार्वड र अक्सफोर्डको हवाला दिएर हिँड्छन् । अरु मान्छेहरु सुख सुविधाका पछाडी लागेका छन् । पढेलेखेका मान्छेहरुलाई पहिले दरबारले ट्रयापमा पार्थ्यो । व्यक्तित्वको निर्माण उनीहरुले गर्दथे । त्यसबाट उम्किएर यता आउने व्यक्ति भनेको मैले देखेको एकै जना हुनुहुन्छ–देवेन्द्रराज पाण्डे । उहाँ २०३६ सालको जनमत संग्रहको बेलामा निस्किएर हिँड्नु भयो । त्यसले यहाँ बौद्धिक समुदाय नै साँघुरो छ । त्यो प्रभावकारी छैन । त्यो बौद्धिक समुदायलाई दुई/चारवटा चुरोट, राम्रो लुगा, दुईचार वटा पुस्तक र जुत्ता चाहियो । जो पहिलेदेखि नै काठे स्वभाव हो । यो समाज त्यसरी बनेको छ । यीनिहरुलाई भत्काउने भनेको निकै कठिन कुरा हो । तपाईंले भनेको सोसियल चेन्जको सुत्रहरु अन्त कसरी आयो ? वर्लड म्यान्डेरले पेरिसमा त्यत्रो ठूलो प्रदर्शन गर्यो । तत्कालिन शासकको मुटु हल्लाइदियो । यहाँ दुईतिरबाट खेलकुद पनि बढी हुन्छ । त्यसैमा हामी रमाउँछौँ । रत्नपार्कमा यस्तो विकृति देखेको छु । दिउँसो भारतीय विस्तारवाद मुर्दावाद भनेर रातो झण्डा लिएर नारा लगाउने मान्छेहरु मैले एम्बेसीको पार्टीमा भेटेको छु । यो हो द्वेद चरित्र भनेको ।

के यो निकै उच्च तहका नेताहरुसम्मै छ ?

धेरै माथिका नेताहरुमा छ । यो भन्न लाज लाग्नु पनि पर्दैन डराउन पनि पर्दैन । यो समाजको निर्माण र पुनर्लेखन गर्न कसैले पनि सकेन । कसैले जसदिएपनि नदिएपनि विपी कोइरालाले गर्न खोजेकै हो । अठाह्रै महिनामा निर्वाचित प्रधानमन्त्रीलाई हटाएर किन कु गर्नुपरेको थियो भने आफ्नो हेजेमोनी टुट्ला भन्ने डर थियो । अरुले त्यस्तो हिम्मतै गर्न पाएका छैनन् । जसले हिम्मत गरे ती मारिए र जेल हालिए । अनि हामीले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र सहितको संविधान ल्याएऔँ । त्यसले अर्को बिजोग गर्यो । त्यसले त राम्रो र असल मान्छेहरुलाई सत्तामा आउँनै दिएन । एउटा काम गर्यो–कृष्ण प्रसाद भट्टाईलाई हराइयो ।

उहाँको पराजयको घटनाले पुरा देश नै डिमोरलाइज भयो । उहाँको पराजयबारे मार्क टलीले बीबीसीमा ४५ मिनेट लामो टिप्पणी गरेको थियो । किनभने त्यो कृष्णप्रसाद भट्टराई भन्ने प्युसो बाहुनको पराजय थिएन । एउटा मान्यताको पराजय थियो । ५६ सालमा उहाँले चुनाव जित्नु भयो । उहाँलाई गिरिजा प्रसाद लगायत सबै मिलेर हटाए । उहाँले एउटा मान्यता स्थापित गर्नुहुन्छ की भन्ने डर सबैलाई भयो । उहाँ संसदबाट रुँदै निस्कनु भयो । नैतिक मुल्य मान्यताको कुरा जो नेताहरुले गर्नुहुन्छ । कांग्रेस, एमाले र माओवादीका नेताहरुले जो मुल्य मान्यताको कुरा गर्नुहुन्छ त्यो पुरा गर्नसक्नुहुन्छ ? रातभर भट्टीमा जाँड खाने र विहान उठेर पुराण भट्टयाए जस्तै होइनर त्यो ? बेलुका चिनियाँको वाइन खाने विहान उठेपछि इन्डिनको ब्रेकफास्ट खाने राष्ट्रवाद छ हाम्रो ।

हाम्रा नेपाली मारबाडीमा एक खालको एकता छ । त्यो हुनुपर्छ । त्यो एकता तोड्ने प्रयत्नले गर्दाखेरी नै नेपालको आर्थिक अवस्था जिर्ण हुँदैछ । व्यापारीहरुलाई लडाएर कमिशनको खेलमा लाग्यो भने यस्तै हुन्छ । संचार सम्बन्धी नाम चलेका एनसेल र एनटिसी दुवै विवादमा छन् । एनटिसीको विवादमा हाम्रा मुख्य सचिव वैकुण्ठ अर्याल विदा बस्नु पर्यो । नेपालमा फलफूल त राम्रो फल्छन् । तिनीहरुलाई प्रिजर्भ गरेर हामी त्यसलाई अमेरिकन बजारमा पठाउँदैनौँ । फलफूलको ठेकेदार आउँछन् । उठाएर लान्छन् । त्यो तपाईंको मुखमा पर्दैन । बंगलादेश पुग्छ । तपाईंले आठ महिना एक वर्ष फ्रिजर्भ गरेर राखेको पाउँदा रमाउनु हुन्छ । पत्रकारहरुले हेर्नुभयो भने अहिले नेपाली जनताको मानसिकता नै तलतल गिर्दै गएको छ । निराशाको उचाई बढ्दो छ ।

थाहा छ युक्रेन र रुस युद्धमा भर्ना हुँन जाँदा मरिन्छ भन्ने तर, हरेक दिन पासपोर्ट बोकेर मान्छेहरु गइरहेका छन् । युरोप संकटहरुमा नेपालीहरु संलग्न छन् । कति नेपाली अफ्रिकामा हराई रहेका छन् । सुन-खानी र हिराखानीमा मरिरहेका छन् । भारतमै कोइला खानीमै काम गरिरहेका छन् । दुवई कतार जाने लहर पनि अब बन्द हुन्छ । त्यहाँ सरकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेको संकेत छ । त्यस्तो समाजका लागि हाम्रो नेपालीहरु सानो अनुहार लगाएर त्रिभुवन विमानस्थलमा जान्छन् । त्यहाँपनि १० वटा ठाउँमा हप्काई खानुपर्छ । रिकुटेदेखि डिएसपीसम्मले लछारपछार गरिराखेको छ । उनीहरु प्रति गर्ने व्यवहार जहिलेपनि दोस्रो नम्बरको नागरिक जस्तो हुन्छ । हाम्रोमा मोरल लिडरसिप छैन । आशा थियो प्रचण्डजीहरुले गर्नुहोला । शेरबहादुरजीले गर्नुहोला र ओलीजीले पनि गर्नुहोला भन्ने आशा थियो । सबैको संघर्षमा भूमिका थियो ।

प्रेस काउन्सिलको त्यो हालत छ । खैजडी बजाउनेहरुलाई ल्याएर राख्दिनुभएको छ । यो गठबन्धन सरकारको सबैभन्दा खराब कामै त्यही हो । त्यस्ता मान्छेहरुलाई त्यहाँ नियुक्ती दिइन्छ । जसले गलत काम मात्रै गरेको हुन्छ । प्रेस काउन्सिल भन्ने संस्थामा गरिमामय व्यक्तिहरुले नेतृत्व गरेको ठाउँ हो । निष्पक्ष खालका पूर्वन्यायधीश अध्यक्ष थिए । पत्रकारहरुबाट गोपाल दाई त्यहाँ हुनुभयो । त्यसपछि निरन्तर खस्किँदै गएको छ । डेमोक्रेसीमा संस्थाहरु खस्कनु हुँदैन । डेमोक्रेसी भन्ने चिज शब्दमा आयो पार्टीको प्रभूत्व र जोडबलले नेतातन्त्र आउन थाल्यो ।

 

 

 

तर, संघर्ष त उहाँहरु आफैलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै रहेछ । उहाहरुसँग कुनै विशेष कार्यक्रमै रहेनछ । आज नेपाली कांग्रेसको कुनै विशेष कार्यक्रम छैन । एमालेको टावर बनाउने बाहेक केही छ ? विशाल टावर बनाएर के गर्ने ? त्यहाँबाट समुन्द्र हेर्ने ? माओवादीको त्यस्तै छ । मलाई के लाग्यो भने यो रिङमा यति मान्छेहरु छन् । अहिले जहाँ संसद बसिरहेको छ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । त्यो संसदभित्र केही ‘भुइँख्याचा’हरु छन् । ती भुइँख्याचाहरु कराईराखेका हुन्छन् हामी सुनिरहेका हुन्छौँ । यीनिहरु नै हाम्रो भाग्य विधाता हुन् भनेर सोचिराखेका हुन्छौँ । हिजो क्रान्ति गर्नेहरुमा आज क्रान्तिको जिन छैन । हिजो व्यवस्था परिवर्तन गर्छु, सोसियलीजम ल्याउँछु भनेर त्यही पढ्ने शेरबहादुर देउवाजी त्यो सोसियलिजममा जाने आँट छैन । म जनवादी क्रान्ति गर्छु नेपालमा भनेको पञ्चायतकालमा मिलेर बसेको, अहिलेसम्म नमिलेर बसेको पछिल्लो समयमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले आन्दोलनको आह्वान गर्नुभएपछि मदन भण्डारीको बुद्धिले एक भएका एमाले भन्ने पार्टीको कम्युनिजम पनि हामीले देखिसक्यौँ । यी त सबै असफल भइसकेका छन् । यीनीहरुले खाको, लाको र पिएको देखेर पछाडी लागेका देखेर अहिले संसदमा आएकाहरु पनि त्यही जातका हुन् । यो देशलाई हजारौँ वर्षदेखि तीन वटा वर्गले च्याप्प समातेर आफ्नो नियन्त्रणमा राखेको छ । हिजेमोनी भनेको त्यही हो । किर्तिपुरमाथि किन पृथ्वी नारायण शाहले तीन पल्ट चार पल्ट आक्रमण गर्नु पर्यो । किर्तिपुरलाई जितेर काठ्माडौँमा शासन गर्न नसक्ने अवस्था थियो ।

मुलुकका अहिले विद्यमान तीन पात्रहरु शेरबहादुर देउवा, प्रचण्ड र ओलीलाई के चिजले रोकिरहेको छ ?

४७ सालको आन्दोलनमा जस्तो सिद्धान्तहरुको रुपरेखा छैन । कम्युनिस्टहरु मार्क्सले परिकल्पना गर्नुभए जस्तो, लेनिनले प्रयोग गर्न खोज्नु भएजस्तो र रोजा लक्जबर्गहरुको विचारले गाइड गरेजस्तो छैन । पूर्वी युरोपको पतनपछि कम्युनिजमको पतन भयो । अहिले चीनमा जुन कम्युनिजम छ । त्यो पुँजिवादी तानाशाही हो । भारतमा नेहरु र राम मनोहर लोहियालाई देखाएर प्रजातान्त्रीक समाजवादको कुरा गर्र्यौं । तर, ५० वर्षपनि नपुग्दै त्यो रेजिम भत्कियो । अहिले मोदीजी आउनु भएको छ रामको मुर्ति लिएर । हामी सबै सियाराम गरिरहेका छौँ । राहुल गान्धीले चुनाव जित्ने कुरा कसर म पत्याउँ । त्यसकारण अहिले सिद्धान्त मर्यो । पार्टीहरुले जसले यो सिद्धान्तलाई अपनाएका थिए उनीहरुले नै त्यसलाई खान, लाउन र पानी पनि पिलाएनन् । भोको प्यासो भयो । सिद्धान्तको ‘डेथ’ भइसकेको छ । अहिले भ्याकुम छ । तपाईंहरुले देखेदेखि उही मान्छेहरुले शासन गरिरहेको छ । राजाका राष्ट्रिय पञ्चायतका सदस्यहरु र अहिलेका सांसदमा कत्तिको भिन्नता देख्नु भएको छ ? माओवादीले जन्माएको एउटा सम्झनै पर्ने नेता पोष्टबहादुर बोगटी हो । कांग्रेसमा कति जना पोष्ट बहादुरहरु छन् ? एमालेमा कति छन् देखाइदिनुस् । एउटा कृष्ण प्रसाद भट्टराई कांग्रेसको सभापति र डेमोक्रेसीको नेता हो । विपी र पुष्पलालहरुलाई माथि नै राख्नुस् । ओलीले प्रेरणा दिनुहुन्छ ? शेरबहादुरजीले प्रेरण दिनुहुन्छ ? प्रचण्डजीले प्रेरणा दिनसक्नु हुन्थ्यो उहाँकै ताल त्यस्तै हो । उहाँले दिने भनेको पनि उहाँको योगदानले हो । त्यो पनि छैन अहिले ।

सिद्धान्तहरुको ‘डेथ’ भएपछि अवश्यपनि लिडरसिपको पनि अन्त्य होला र अन्ततः डेमोक्रेसीको डेथ हुने खतरा कत्तिका देख्नुहुन्छ ?

 

सिद्धान्तको डेथ भएपछि लिपडरसिपको छैन नी । लिडरशिप भनेको भिजन हो । अहिलेका नेताहरुले के जानेका छन् ? तर, सिद्धान्तको डेथ भयो भने त्यसलाई पुनर्जिवन दिएर नयाँ पुस्ता आउनेछ । तपाईंको छोरा र मेरो छोराको भरमा संसार चलेको छैन । अहिले हामी अन्तर्वार्ता दिइरहँदा पनि नेपालकै कुनै कन्दरामा एउटा ब्रिलियन्ट मान्छेको जन्म भइराखेको छ । यो कसलाई थाहा छ । एआइले थाहा पाउँछ ? च्याट जेपीटिले थाहा पाउँछ ? तपाईंमा धर्यता हुनुपर्छ । तपाईंले चाहेको बेलामा बम विष्फोट हुँदैन । बम त्यतिबेला विष्फोट हुन्छ जब समाज रापिन्छ, तापिन्छ ।

हिजो राजा ज्ञानेन्द्र शाहको  ७ लाख सुरक्षाकर्मीको घेरामा थिए। तर, प्रचण्डहरुको नेतृत्वले गरेको आन्दोलनका कारण उनी बाहिरिनु पर्यो । उनै प्रचण्डको पछाडी भिड थियो । तर, अहिले फेरी प्रधानमन्त्रीकै कुर्सीमा भएका प्रचण्ड असुरक्षित जस्तो देखिन्छन् तर, ज्ञानेन्द्र शाह सडकमा हिँड्दा मानिसहरुको भिड देखिन्छ । यसलाई व्यवस्थामाथिको खतरा भन्न मिल्छ ?

त्यो होइन तपाईंहरुलाई लागेको मात्रै हो । धेरै विसंगती देखेपछि त्यसलाई संगती हो की भन्छ । त्यो राजाको पास्ट (विगत) तपाईंले हेर्नुभएको छैन । त्यो राजतन्त्रले कति मान्छेको हत्या गर्यो । कति मान्छेलाई निर्वासनमा पठायो । कति सम्पत्ति ज्ञानेन्द्रले लुट्यो । त्यो न्यारेटिभ खै दिनु भएको ? दियोपोस्टले लेखोस् न । गुगलले ज्ञानेन्द्रलाई अहिले १० नम्बरमा देखाउँछ । उसको सम्पत्ति खोज्नु भयो भने त्यसको वारपार नै लाग्दैन । तपाईंहरुले केही गर्नुपर्दैन ?

बाबुराम भट्टराई लगायतका नेताहरुले नयाँ विचार र सिद्धान्तको कुरा गरिरहेका छन् नी ?

त्यो सबै बेकारको कुरा हो । नयाँ भनेको के हुन्छ दुनियाँमा ? तपाईंले लगाउनु भएको सुतीको कपडाको कमिज लगाउनुहुन्छ । कहिले भोटो, कमिज, दोउरा बनाएर लगाउनु हुन्छ । नयाँ केही पनि हुँदैन दुनियाँमा । नयाँ विचार हो । बाबुराम जी जस्तो आफूलाई प्रकाण्ड विद्वान मान्ने मान्छेले विचारशिल भइरहेको भए कति परिवर्तन राम्रो हुन्थ्यो होला । किन भएन ? उहाँको विचारमै साँघुरोपन छ । उहाँको ससुराली त काठमाडौं नै हो नी । म काठमाडौं विरोधी होइन । मेरो स्तम्भ नै छ । तर, हिजेमोनीको कुरा गर्दा लिच्छबीकालदेखि भ्रष्टाचार गरिएका, लुटपाट गरिएका धनसम्पत्तिहरु कहाँ छन् ? कसैले खोज्नु भएको छैन । नेपाल पत्रकार महासंघको त्यो हालत छ ।

काउन्सिलको वर्तमान नेतृत्वले केही घटनामा प्रतिशोधपूर्वक पत्र काट्ने गरेको छ नी ?

प्रेस काउन्सिलको त्यो हालत छ । खैजडी बजाउनेहरुलाई ल्याएर राख्दिनुभएको छ । यो गठबन्धन सरकारको सबैभन्दा खराब कामै त्यही हो । त्यस्ता मान्छेहरुलाई त्यहाँ नियुक्ती दिइन्छ । जसले गलत काम मात्रै गरेको हुन्छ । प्रेस काउन्सिल भन्ने संस्थामा गरिमामय व्यक्तिहरुले नेतृत्व गरेको ठाउँ हो । निष्पक्ष खालका पूर्वन्यायधीश अध्यक्ष थिए । पत्रकारहरुबाट गोपाल दाई त्यहाँ हुनुभयो । त्यसपछि निरन्तर खस्किँदै गएको छ । डेमोक्रेसीमा संस्थाहरु खस्कनु हुँदैन । डेमोक्रेसी भन्ने चिज शब्दमा आयो पार्टीको प्रभूत्व र जोडबलले नेतातन्त्र आउन थाल्यो । नेताले जसरी घुमायो त्यसरी घुम्न थाल्यो ।
हिजो सबैकिसिमको अधिकार एउटा राजाको हातमा थियो । त्यसपछि राजाबाट त्यो अधिकार नेताको हातमा पुगेको छ । के नेताहरुलाई पनि राजा हुँ भन्ने भूत चढेको हो ?

अहिले नेता उत्पादन भन्दा दलालहरु उत्पादनको थलो बनेको छ नी ?

कांग्रेस, कम्युनिस्ट र माओवादी सबैका केही बाहेक नेता वा कार्यकर्ताहरु मध्यमस्तरकै शिक्षित मान्छे हुन् । केही ब्रिलियन्ट पनि छन् । समाज जस्तो मान्छे, शिक्षा, धर्म र संस्कार हुन्छ त्यस्तै बन्ने हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरिसकेपछि २०४६ साल फागुन ७ गतेसम्म जतिपनि पञ्चायत व्यवस्थाले गरेको कर्म कुकर्महरु त्यसलाई अनुमोदन गर्ने काम प्रतिबन्धित नेपाली कांग्रेस, नेकपा एमाले पछि जनमत संग्रहपछि पुरानो माले, पुरानो कांग्रेसले गरे । त्यसका नेताहरु राजाको दरबारमा चलखेल गरिराखेका हुन्थे । गिरिजाबाबु विन्ति पत्र लिएर दरबार जानुभयो भनेर हामीले सुन्थ्यौँ । सुर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो कांग्रेसका । मनमोहनजी हुनुहुन्थ्यो एमालेका । तीनै नेताहरुले ४६ सालको परिवर्तन पछि के गरे त ? ४७ सालपछि हामीले के नयाँ राम्रो काम गर्न सकेका छौँ र ? कांग्रेसले भन्ला हामीले अर्थतन्त्रको सुधार गर्यौँ । त्यो हावादारी कुरा हो । उनीहरुले गरेको सुधार त प्रकाशचन्द्र लोहोनीले पञ्चायतकालमै गरिसकेका थिए । विश्व बैंकको स्ट्रक्चरल एडजसमेन्ट प्रोग्राम भनेर लोहोनीले शुरु गरेका हुन् । ५ वर्षपछि रामशरण महतले त्यसैलाई निरन्तरता दिए । अलिकति सुधार र विस्तारसहित । त्यो सुधारले मधेसका जनजातीले अधिकार पाएकी ? छुवाछूत हट्योकी खानपुग्ने खेति गर्ने नीति आयो की ? देश झन् झन् बन्झर हुँदै गएको छ । खेति हुँदैन । हिजो द्वन्दकालमा लहलहँदो धान फल्ने खेतमा अहिले के फल्छ थाहा छैन । वैदेशिक रोजगारीले सजिलो बनाइदिएको छ । त्यसबाट आएको आम्दानीले देशमा केही गरेको छ ? फिलिपिन्स यस्तो देश हो जसले सबैभन्दा बढी कामदार अमेरिका पठाएको छ । अमेरिकामा रोजगारीमा गएका फिलिपिनोहरुले आफ्नो देशलाई संकट पर्दा बजेट बन्न सक्ने अवस्था नआउँदा बजेटै बनाइदिए । त्यो हो देशभक्ती । हामीकहाँ कहाँ छ त्यस्तो । देशभक्ति पनि पेटमा आगो निभ्यो भनेन जाग्छ । भोको पेटमा के को देशभक्ती ? पेटको आगो शान्त हुनुपर्छ । आधारभूत रुपले परिवर्तन गर्न जरुरी छ । त्यसकारण पार्टीहरुको रिओरेन्टियशन हुनुपर्छ । नयाँ पार्टी खोलेर नयाँ तमासा हुने होइन । पुरानै पार्टीलाई रिओरेन्टियसन गर्नुपर्छ । नयाँ ढाँचामा लिएर जानुपर्छ । दक्षिणपन्थी हो भने मोदी जस्तै दक्षिणपन्थी बन्नुस् । वामपन्थी हो भने राहुल गान्धी जस्तै बन्नुस् । भारतमै दुईवटा पार्टी कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ माक्सिस लेनिन कहाँ छन् ? संसदमा पनि छैन विधानसभामा पनि छैन ?

नेपालमा त बहुमत कम्युनिस्टहरु नै छन् नी होइन र ?

त्यो बहुमतको कुनै अर्थ छैन । मैले पनि भोट दिएको हुनसक्छ । भोट दिनेका कति कारणहरु हुनसक्छ नेपाल जस्तो देशमा । एमालेले छोरी लिएर गएको छ भने त्यहाँ ज्वाइँ नाता परियो । तपाईंले एमालेको छोरी ल्याउनु भएको छ भने तपाईं ज्वाइँ पर्नुभयो । नेपालमा शिक्षाको प्रतिशत कति छ ? अक्षेर चिन्नुमात्रै शिक्षित होइन । १२ खरी जसले जान्छन् । नातेदार कुटुम्ब दोस्ती यार हिसाबले पनि भोट दिन्छन् । सिद्धान्तनिष्ठ भोट दिने भनेको त एकदमै विकसित मुलुकहरुमा हो । ०ं.१ प्रतिशत धाँधली त त्यहाँ पनि हुन्छ ।

पछिल्लो समय उदाएका नयाँ दलहरुकाे पछाडी एउटा भिड देखिन्छ । त्यो भिडलाई कसरी हेर्नुहुन्छ ?

अहिले मान्छे थाक्यो । थकाई लागेपछि दिमागमा अनेक परिकल्पना गर्छ । बागमतीमा बाढी आएर सबैलाई बगाएर लगे कस्तो हुन्थ्यो भन्ने परिकल्पना गर्छ कसैले । ती दुस्वप्नहरु हुन् । अहिले नेपालीलाई त्यही दूस्वप्नहरुले छोपेको हो । तपाईं मानिसहरुको अतितलाई हेरेर कुरा गर्नुस् । अतितलाई हेरेपछि वर्तमानलाई हेरिराख्नु पर्दैन । ५५ वर्ष पत्रकारिता गरेको मान्छे मेरो हालत यही हो । ५ वर्षे पत्रकारिता गर्ने मान्छेको गाडी चढेर हिँड्ने फूर्ति तपाईं हेर्नुस् । त्यस्तो किसिमको फाइदा गर्ने प्रवृति चारैतिर भइसकेपछि तपाईं के गर्नुहुन्छ । त्यही प्रवृत्ती प्रचण्डजीकै जस्तो, देउवा जीकै जस्तो भएपछि मैले के गर्नसक्छु । बौलाउने हामी । जुन पार्टीले समाजवादी क्रान्ति गर्छु भनेको छ, जसले जनवादी क्रान्ति गर्छु भनेको छ, जुन पार्टीले मान्छे गेँडेर पनि गणतन्त्र स्थापना गरायो । ती पार्टीहरु नै अलमलमा छन भनेँ तपाईं भूरा मसिनाहरुलाई टिपटाप पारेर किन चर्चामा ल्याउनु हुन्छ । किन श्रमशक्ति किन खेर फाल्नु हुन्छ ? कि भन्नु पर्यो तपाईंहरुले पनि वि आर पेड भनेर ?

पार्टीहरुले जारी गर्ने घोषणा पत्र चुनाव अघि आकर्षक हुने तर सत्तामा आएपछि झूट सावित हुन्छन् नी ?

होइन घोषणापत्र राम्रा छन् । तर, कार्यन्व्यनमा समस्या हो । योजना कार्यन्वयनका लागि मेसिनरी छैन । जबसम्म नेतृत्वको गिदिबाट भ्रष्टाचार भनेको देशको काल हो भन्ने ज्ञान पसाउनु हुन्न तवसम्म केही हुनेवाला छैन । अहिले पैसाको राजनीति केपी ओलीले मात्रै चलाउनु भएको छैन । अहिले पैसाको राजनीति शेरबहादुर देउवाजीले पनि चलाउनु भएको छ । अरु भूरे टाकुरे नेताहरुले पनि चलाउनु भएको छ ।

प्रचण्डले पनि पैसाको राजनीति चलाउनु भएको छ ?

उहाँले भनिसक्नु भएको छ नी पैसाकै राजनीति चलाउनु भएको छ । त्यो पैसाको राजनीतिबाट सिद्धान्तलाई प्रभावित हुन नदिएर दृढ हुनु भो । बाहिर हिँड्दा १० वटा मोटर नहिँडेर २ वटामा हिँड्नुभए पुगिहाल्छ । एउटा सुरक्षा एउटामा प्रधानमन्त्री हुन्छ । यी सबैकुरा हुँदै गयो भने माथिबाटै आचरणमा सुधारको संकेत जान्छ । कसैलाई केही गर्नुछैन । सबै नेताहरु ७० पुग्न लागिसके । यत्रो जीन्दगी वितिहाल्यो बाँकी के छ र भन्ने त हो नी । अब शेरबहादुर, ओली र प्रचण्डबाट सपना खोज्ने होइन । अहिले खोज्ने भने को मध्यावदी चुनाव गराइदिनुस् र यसलाई फिल्टर गराइदिनुस् भन्ने हो । जसले समाज फेरी एक पटक फिल्टर हुन पाओस् ।