काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेसनल अस्पताल र एक उद्धार कम्पनीले नेपाल घुम्न आएकी जापानी महिला आरोहिमाथि ठगी गरेको खुलेको छ । उपचार खर्चको नाममा नर्भिक अस्पतालले र उद्धार खर्चको नाममा हेलिकोप्टर कम्पनीले जापानी आरोहि युकी मोरिताबाट लाखौ रकम असुल्ने गरी बिल पेश गरेको खुलेको हो ।
जापानी आरोहि मोरिता सगरमाथा क्षेत्रमा पर्ने लोबुचे शिखर आरोहणका लागि गएकी थिइन् । लोबुचे शिखरको सफल आरोहणपछि फर्किने क्रममा वैशाख ११ अर्थात् अप्रिल २३ गते बिहान ६ हजार १ सय मिटर अग्लो लोबुचे शिखरबाट खसेर उनी घाइते भएकी थिइन् ।
ग्ल्यासियर हिमालय ट्रेक्स नामक ट्राभल कम्पनीबाट गएकी उनको हेलिकोप्टरमार्फत तत्काल उद्धार गरिएको थियो । अल्टिच्युड एयर नामक हेलिकोप्टर कम्पनिले उनलाई उद्दार गरेको थियो । उद्धारपछि सोहि दिन उनलाई काठमाडौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालको डिलक्स रुममा भर्ना गरिएको थियो । मोरिताको स्वास्थ्यमा सुधार आएपनि हालसम्म आरोहि मोरिताको डिस्चार्ज भने गरिएको छैन ।
नर्भिकले ४ दिन अस्पचाल राखेको बिल भने ३४ लाख ८६ हजार रुपैयाँ निकालेको छ । आरोहि गएको ट्राभल कम्पनीका म्यानेजिङ डिरेक्टर दावा डेन्डी शेर्पाअनुसार अस्पतालमा जम्मा ४ दिन मात्रै राखिएको हो । तर, अस्पतालले भने १० दिनसम्म राखेको दाबीसहितको बिल पेश गरेको छ । घाइते अवस्थामा उद्धारपछि अस्पताल भर्ना गराइएकी मोरिताको विभिन्न चेकजाँचको नाममा नर्भिकले यत्तिका रकमको शुल्क दाबी गरेको हो ।
वास्तवमा उनी एक घाइते आरोहि हुन् । तर नर्भिक अस्पतालले भने उनको विभिन्न ४६ वटा चेकजाँच गरेको दियोपोष्टलाई प्राप्त बिलमा देख्न सकिन्छ । जसमा एचआइभी एड्सदेखि नर्सिङ केयरसम्म विभिन्न चेकजाँचको २ हजारदेखि ४ लाख ४१ हजार ६६९ शुल्क राखिएको छ । नर्भिकले नर्सिङ केयर र इन्फेक्सन कन्ट्रोलको शुल्क मात्र ४ लाख ४१ हजार बढि लिएको छ । जबकी नर्भिक अस्पतालमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नै छैन । नर्भिकमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नहुनाले अस्पतालका मालिक बसन्त कुमार चौधरीले दुबई र सिंगापुरका स्थापित अस्पतालमा उपचार गराउने गरेका छन् ।
विरामीलाई दिइएको बिलमा विरामीका आफन्तको नाम अंकित अग्रवाल उल्लेख छ । तर, उनी विरामीका सक्कली आफन्त होइनन् नर्भिक अस्पतालकै व्यापार निर्देशक हुन् । अस्पतालले कुन आधारमा बिल पेश गरेको भन्ने प्रश्नमा बिरामीको आफन्तको नाम रहेका उक्त चेकजाँकमा संलग्न नर्भिक अस्पतालका अंकित अग्रवालले भने, ‘बिरामीको सुचना र बिलमा उठेको शुल्कबारे हामीले सुचना दिन मिल्दैन । प्रशासनसँग बुझ्नुहोला । बिलको विषयमा चाहीँ बिरामीको मान्छेसँग छलफल भइरहेको छ । एकछिनमा टुंगो लाग्ला ।’
यस विषयमा ति आरोहिको आरोहण व्यवस्थापन गर्ने ग्लेसियर हिमालय टे«क्सका म्यानेजिङ डिरेक्टर दावा डेन्डी शेर्पासँग बुझ्दा उनले पनि बिलबारे छलफल चलिरहेको बताए । ‘अहिले अस्पतालसँग बिलको विषयमा छलफल चलिरहेको छ’ उनले भने, ‘हामीले बिलमा उठेको उपचार खर्च डिस्काउन्ट गर्न मिल्छकी भनेर छलफल गरिरहेका छौ ।’
उनले यसो भनेर प्रतिक्रिया दिएको केहीबेरमा फेरी फोन गरे र भने,‘नर्भिकले हेभि डिस्काउन्ट दिने भयो । ५० प्रतिशत डिस्काउन्टपछि डिस्चार्ज हुने कुरा छ ।’ नर्भिक अस्पतालले विदेशी विमा कम्पनिको हकमा यस्तो महँगो बिल दाबी गरेको ती शेर्पाले बताए । ‘उहाँहरुले विमा कम्पनिको हकमा यति धेरै बिल बनाएका हौँ भनेर भन्नुभयो । व्यक्तिले तिर्ने भए आधा घटाइदिने प्रस्ताव गर्नुभएको छ,’ उनले भने ।
उद्दारमा कम्पनिको अर्को बद्मासी !
तिनै आरोहि मोरिताको हेलिकोप्टरमार्फत गरिएको उद्धार शुल्क पनि ३३ हजार ९ सय अर्थात् झन्डै ३४ हजार डलरमा उद्धार गरिएको बुझिएको छ । उक्त रकम नेपालीमा रुपान्तरण गर्दा ४५ लाख ८ हजार ७ सय हुन आउँछ ।
काठमाडौको गैरीगाउँमा अवस्थित अल्टिट्युड एयरले उनको उद्धार गरेको थियो । उद्धारपछि उनलाई फेरिचे, लुक्ला हुदै उपचारको लागि काठमाडौ पुर्याइएको थियो ।
यसअघि पटक पटक फेक रेस्क्यु प्रकरणमा कारबाहीका लागि सिफारिस भएको अल्टिच्युड एयरले उद्दार गरि ४५ लाख भन्दा बढी रकम दाबी गरेको हो । यो कम्पनिका संचालक राम प्रसाद सापकोटा फेक रेस्क्यु प्रकरणमा कारबाहीमा परेका पात्र हुन् । उनलाई कारबाही गर्न तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव (हालसचिव) घनश्याम उपाध्याय नेतृत्वको उच्चस्तरिय समितिले सिफारिस गरेको थियो ।
उद्दारमा हुने बद्मासी रोक्न सरोकारवाला निकायले पटक पटक सिफारिस गर्दा पनि नियामक निकाय मौन छ । यसअघि पर्यटन मन्त्रालयले नै कारबाही र नियमनको कार्यविधि नै बनाएको थियो । तर, उक्त कार्यविधि हाल लुकाएर राखिएको छ ।
उद्धारसम्बन्धि सरकारले हालसम्म सिमित शुल्कसमेत नतोकेको संस्कृति तथा नागरिक उड्ड्यन मन्त्रालयअन्र्तगत पर्यटन विभागका सुचना अधिकारी एवम् प्रवक्ता काली बहादुर भुजेलले बताए । ‘यस्तो किसिमको उद्धारसम्बन्धी नेपाल सरकारले कुनैपनि शुल्क तोकेको छैन’ उनले भने, ‘हामीले आरोहिलाई पर्मिट मात्र उपलब्ध गराउने हो । चाहे विदेशी पर्यटक होस् या स्वदेशी उद्धार कम्पनीले नै उद्धार शुल्क निर्धारण गर्छन् । त्यो निजी क्षेत्र भएकोले हामीले शुल्क निर्धारणलगायत काम हामीले हेर्दैनौ । हामीले सकेसम्म जिवितै उद्धार कसरी गर्ने भन्ने हेर्ने हो शुल्कको कुरा कम्पनीहरुको हातमा हुन्छ ।’
उजुरी परेको खण्डमा मात्र अनुगमनलगायत प्रक्रिया अघि बढाउनेसमेत उनले बताए । ‘फेक उद्धारको मुद्धा छ भने मात्र हामीले हेर्छाै त्यो पनि उजुरी पर्यो भने मात्र’ उनले भने, ‘जस्तो बिल बढि उठ्यो या कसैले ठगी गर्यो भनेर पर्यटकले उजुरी दिन्छन् अनि मात्र हामीले अनुगमन प्रक्रिया अघि बढाउछौ । हालसम्म त्यस्ताखाले उजुरी पनि आएका छैनन् ।’
नर्भिकबारे दियोपोस्टमा प्रकाशित अन्य समाचार