बसन्त चौधरीलाई आफ्नै नर्भिक अस्पतालप्रति विश्वास छैन : उपचार गर्न किन पुगे सिंगापुर ?

दियो पोस्ट  

काठमाडौं, १ चैत्र । राजधानीको थापाथलीस्थित प्रसुति र तथा स्त्री रोग अस्पतालको ठीक अगाडी एउटा भव्य अस्पताल छ ।

विदेशबाट समेत उपचार गर्न आउने भएका कारण यसलाई ‘नर्भिक अन्तर्राष्ट्रिय अस्पताल’ भनिन्छ । नर्भिक अस्पतालले आफूलाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको अस्पतालको रुपमा दाबी गर्दै आएको छ । ‘नर्भिक अस्पताल पुगे जस्तो सुकै रोग ठीक हुने’ भन्ने भ्रम समेत कतै–कतै पाइन्छ ।

ठूला नेतादेखि पूर्व राजासम्मका व्यक्तिहरुले नर्भिकमै उपचार गराउँछन् । शुल्कको हिसाबले निकै महँगो अस्पतालका सञ्चालक नेपाली मुलका एक मात्रै डलर अर्बपति विनोद चौधरीका भाई बसन्त चौधरी हुन् ।


तर, उनै बसन्त चौधरीलाई भने आफ्नै स्वामित्व रहेको नर्भिक अस्पताल प्रति विश्वास छैन भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । हो, नर्भिकका मालिक बसन्त चौधरी उपचारकै लागि आजभन्दा ३ दिनअघि एउटा टोलीसहित सिंगापुर उडेको खुलाशा भएको छ ।


आफ्नै अस्पतालमा काम गर्ने सिनियर डाक्टरसहितको टोली लिएर उनी सिंगापुरमा उपचारका लागि गएको पाइएको हो ।


‘चियरमेन साप केहीदिन अघि सिंगापुर उपचारका लागि जानु भएको हो,’ अस्पताल स्रोतले दियोपोस्टसँग भने,‘यहाँ पनि उपचार त संभव थियो । तर उहाँ विशेषकारणबस उता जानु भएको हो । उहाँको केयरको लागि डाक्टरहरुको समुह नै सक्रिय छ ।’


अस्पताल स्रोतका अनुसार चौधरीलाई अस्पतालले नै उच्च तहको स्वास्थ्य सुरक्षा दिँदै आएको छ । यद्धपी उनी कुन रोगका कारण सिंगापुरमै उपचार गर्न पुगे भन्ने विषय खुलेको छैन । तर, उनी निकट स्रोतका अनुसार उनको उपचार नर्भिक अस्पतालमै आरामले हुन सक्थ्यो ।

‘उहाँले आफ्नै लगानी भएको अस्पताललाई विश्वास गर्न सक्नुहुन्थ्यो,’ नर्भिकमै कार्यरत एक चिकित्सकले भने,‘केही स्वार्थी समुहले उहाँलाई उचालेर सिंगापुर पुर्यायो । यसले गलत सन्देश जान्छ ।’