
काठमाडौँ। निजी शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूबाट असुल गरिँदै आएको ३ प्रतिशत समता शुल्क (समतामूलक कर) नउठाउने निर्णय गरेकोमा अभिभावक संघ नेपालले सरकारप्रति आभार व्यक्त गरेको छ।
संघका अध्यक्ष केशव पुरीद्वारा २०८३ साउन ७ गते जारी प्रेस वक्तव्यमा सरकारको यस निर्णयले आम अभिभावकहरूमा राहत मिलेको जनाइएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीको शुल्कमा ३ प्रतिशत समता शुल्क लगाउने निर्णय गरेको थियो। उक्त व्यवस्था संसदबाट पारित भई, राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशित भएर २०८३ साउन १ गतेदेखि लागू भएको थियो।
अतिरिक्त शुल्कको भार अभिभावकहरूमा पर्न गएको भन्दै अभिभावक संघ नेपालले सो कर खारेजीका लागि सरकारलाई पटक-पटक अनुरोध गर्दै आएको थियो। संघका अध्यक्ष, संरक्षक तथा पदाधिकारीहरूले सार्वजनिक रूपमा कर खारेजीको माग उठाउनुका साथै सर्वोच्च अदालतमा रिट दायर गर्नेसम्मको निर्णय गरिसकेका थिए।
सोही पृष्ठभूमिमा नेपाल सरकारले उक्त समतामूलक कर नउठाउने निर्णय गरेपछि संघले नेपाल सरकार तथा विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहप्रति आभार प्रकट गर्दै सम्पूर्ण अभिभावकका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ।