
गुलाबी, हरियो र पहेँलो रङको प्लाष्टिकभित्र बेरिएका ती अबोध नानीहरू आफ्नै धुनमा उकालो चढिरहेका छन्। भिडियोको पृष्ठभूमिबाट एउटा चिरपरिचित आत्मीय आवाज सुनिन्छ- “हेल्लो साथी हो, ओ! छाता ओढेका साथीहरू!” तर, बाह्य दुनियाँको कुनै चासो नराखी ती बालबालिकाहरू बेवास्ताको सुन्दर लयमा अगाडि बढिरहन्छन्। त्यही बिचमा एउटा मोटरसाइकल ओरालो झर्छ, भिडियो खिच्ने व्यक्तिले “काँ जाँदैछौ?” भनेर सोध्छन् र दृश्य यत्तिकैमा अडिन्छ।
एउटा सामान्य दृश्य, तर यसले लाखौँ नेपालीको मनभित्र गुम्सिएर बसेको बाल्यकालको सुमधुर स्मृति र आञ्चलिक सुवासलाई सरक्कै बिउँझाइदिएको छ।
अनेकौँ कृत्रिम फिल्टर, एआईका भ्रामक टुल्स र चमकधमकपूर्ण ग्राफिक्सले ढाकिएको यो आधुनिक डिजिटल युगमा कहिलेकाहीँ मानिसको हृदय स्पर्श गर्न कुनै ठूलो प्रविधि चाहिँदैन रहेछ। एउटा सादा, निश्छल र प्रकृतिको काखमा पोखिएको सरलता नै काफी हुँदो रहेछ।
यतिबेला सामाजिक सञ्जालको भर्चुअल पर्दामा रोल्पाको एउटा कुहिरोमय कच्ची बाटोमा खिचिएको १७ सेकेन्डको भिडियोले व्यापक तरङ्ग ल्याएको छ। दृश्यमा त्यस्तो कुनै अभूतपूर्व घटना छैन, तर सिमसिम झरी र हिलाम्मे उकालोमा प्लाष्टिकका रेनकोट गुटमुट्याएर विद्यालयतिर सोझिएका साना पाइलाहरूसँग देश-विदेशमा रहेका आमनेपालीले आफूलाई कनेक्ट भएको पाएका छन्।
फेसबुकमा पोष्ट भएको दुई दिनमै २५ मिलियन बढी भ्युज, ७ लाख भन्दा बढी रियाक्सन, १० हजार बढी कमेन्ट र ५ हजार ४०० भन्दा बढी सेयर भइसकेको यो भिडियो सामाजिक सञ्जालभरि छाइसकेको छ। सिमसिम पानी परिरहेको बखत, कुहिरोले ढाकेको उकालो बाटोमा खिचिएको यो भाइरल रिल्सलाई डाउनलोड गरेर टिकटक र फेसबुकमा हाल्ने मात्र होइन, धेरैले ती नानीहरूको एआई अवतार र फोटोहरूसमेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।
भिडियो कहाँको हो? कसले खिचेका हुन्? ती नानीहरू को हुन्?
प्रविधिको यो पछिल्लो लहर पछाडिको वास्तविक धरातल भने रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, सुर्पाल हो। यो भिडियो स्थानीय युवा लोकेन्द्र पुन (फेसबुक नाम: लोकेन पुन) ले खिचेका हुन्। त्यो दिन उनी माइत आएकी आफ्नी दिदीलाई घोराही फर्काउन बस पर्खिँदै सुर्पालको ‘टंक सुपारी स्मृति प्रतिक्षालय’ मा बसेका थिए। त्यो बाटो सुर्पाल बजार, होलेरी हुँदै घोराही र प्युठानको स्वर्गद्वारी जोड्ने एउटा मूल पहाडी मार्ग हो। झरीको सिमसिम लयबिच प्लाष्टिक ओढेर स्कुल गइरहेका साना नानीहरूको सादगी देखेर खिचिएको भिडियोले यसरी विश्वभरका नेपालीको ध्यान खिच्ला भनेर स्वयम् लोकेन्द्रले पनि सोचेका थिएनन्।

भिडियोमा देखिने तिनै जना अबोध बालिकाहरू हुन्। उनीहरू सुर्पाल बजारमा रहेको ‘एडभान्स चाइल्ड केयर सेन्टर’ मा अध्ययनरत छन्। दुई जना एकै घरका र एक जना छिमेकी रहेका ती नानीहरू काँधमा गह्रौँ झोला बोकेर, हात समात्दै बर्खाको प्रवाह नगरी सधैँ यसरी नै स्कुल आउजाउ गर्छन्।
भिडियोले सरक्कै ब्युँताइदिएको बाल्यकालीन स्मृति:
भिडियोको कमेन्ट सेक्सन नियाल्ने हो भने, सहरतिर भासिएका वा सात समुद्रपारि रहेका नेपालीहरूको मनभित्र सुतिरहेको बाल्यकालीन स्मृति र भूगोलप्रतिको अगाध प्रेम छचल्किएको देखिन्छ। धेरैले आफ्ना ती विगतका स्वर्णिम दिनहरू सम्झिँदै, हा’म्रो पालामा छाता वा यस्ता रेनकोट कहाँ हुन्थ्यो र, हामी त केरा र पिँडालुका ठूला पात ओढेर हिलो छ्याप्दै स्कुल धाउँथ्यौँ’ भनेर आफ्ना भावुक अनुभवहरू पोखेका छन्।
नेपाली सञ्जाल प्रयोगकर्ताहरूले ती नानीहरूलाई बेलायती कार्टुनका प्यारा पात्र ‘टेलीट्युबिज’ (Teletubbies), त कसैले फिल्म ‘कोई मिल गया’को ‘जादू’सँग दाजेका छन्। कसैले हिमाली भूगोलको ‘पेन्गुइन (नेपाली पेन्गुइन)’ त कसैकसैले झरीमा रुझ्दै हिँडेका प्यारा ‘हाँसका चल्ला’ भन्दै “यी नानीहरू र यिनको रेनकोटले सामाजिक सञ्जाल नै कब्जा गर्यो” भनेर असीम स्नेहमयी भाव व्यक्त गरेका छन्।

भाइरल भिडियोको अर्को पाटो
यो दृश्य हेर्दा जति भावुक र ‘क्युट’ लाग्छ, यसको अर्को पाटो उत्तिकै गम्भीर पनि छ। सुविधासम्पन्न सहर वा प्रवासमा बसेर स्क्रिन नियाल्दै हामीले “आहा! कति प्यारा, कति क्युट, बाल्यकालको याद आयो” भन्न त पक्कै सजिलो छ। तर, दिनहुँ त्यही हिलाम्मे बाटो, झरी र असुविधा खेपेर स्कुल धाउनुपर्ने ती साना बालबालिकाका लागि यो दृश्य कुनै ‘रमाइलो नोस्टाल्जिया’ मात्र होइन, यो उनीहरूको ‘दैनिक कष्ट, जोखिम र सङ्घर्ष’ हो। यसले हाम्रो समाजका दुई विपरीत ध्रुव: सहरी आधुनिकताको भावुक नोस्टाल्जिया र ग्रामीण भूगोलको कठोर वातावरणीय चुनौतीबिचको ठूलो दूरीलाई छर्लङ्ग पारिदिएको छ।
जलवायु परिवर्तनको असरले मनसुनी ढाँचा बिग्रिँदै जाँदा र पहाडी क्षेत्रमा अव्यवस्थित सडक निर्माणले भू-क्षय बढाउँदा हाम्रा ग्रामीण बाटाहरू बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएका छन्। कच्ची बाटो, सिमसिम पानी र लेसिलो हिलोमा साना बालबालिकाहरू यसरी स्कुल जानुपर्ने बाध्यता हाम्रो शिक्षा, पूर्वाधार र दिगो विकासको कछुवा गतिको प्रतिनिधि तस्बिर हो। रुन्टीगढी वा रोल्पा मात्र होइन, नेपालका सयौँ पहाडी गाउँपालिकामा बर्खा सुरु हुनासाथ बालबालिकाको स्कुल यात्रा यसरी नै असुरक्षित बन्छ। प्रधानमंत्री बालेन शाह, शिक्षामन्त्री सस्मित पोख्रेल वा केन्द्रीय नेतृत्व एवं स्थानीय वडा, गाउँपालिका र प्रदेश सरकारहरूलाई गाउँका गोरेटाहरू सुरक्षित बनाउन, तटबन्ध र न्यूनतम पूर्वाधार पुर्याउन यो १७ सेकेन्डको भिडियोले ठूलो घण्टी पनि बजाएको छ।
सामाजिक सञ्जालको भाइरल संस्कृति अल्पकालीन हुन्छ। हामीकहाँ त् झनै गम्भीर विषयहरू भाइरल हुने तर डाइभर्ट हुने वा बिर्सिने समस्या पनि छ। यी भिडियोहरू १-२ दिनमा सेलाएर जालान्, मानिसहरू अर्को कुनै नयाँ ट्रेन्डतिर मोडिएलान्। तर, भाइरल लहर सकिएपछि पनि ती नानीहरूको उकालो यात्रा र दैनिकी रोकिने छैन। त्यसैले, यो ‘भाइरल एकाउन्टिबिलिटी’ डिजिटल भ्युज, सेयर र कमेन्टमा सीमित नहोस्; गाउँका कच्ची बाटाहरू सम्याउन, वातावरणीय सुरक्षा कायम गर्न र बालबालिकाको शिक्षा यात्रा सुरक्षित बनाउन राज्य र नीतिनिर्माताको ध्यान खिच्ने दरिलो माध्यम बनोस्।
मिडिया होडबाजी, एआई र बाल अधिकारको मर्यादा
यसैबिच, भिडियो भाइरल भएपछि धेरै सचेत र भावुक दर्शकहरूले एउटा जायज सञ्चार-नैतिकता सम्बन्धी चिन्ता पनि व्यक्त गरेका छन्। भोलिदेखि भाइरल खोज्ने युट्युबरहरू पुगेर क्यामेरा र माइक तेर्स्याउँदै अन्तर्वार्ताको नाममा ती अबोध नानीहरूलाई हैरान पार्ने त होइनन्? सर्वसाधारणको यो चिन्ता एकदमै मननीय छ। नयाँ सञ्चारमाध्यम र ‘भाइरल दौड’को नाममा ती अबोध बालबालिकाको निश्छल दुनियाँ, गोपनीयता र बाल्यकालमा कुनै नकारात्मक असर पर्नु हुँदैन। उनीहरूले भिडियोमा केही नबोली, क्यामेरातिर नहेरी आफ्नै बाटो लागेर सञ्चार जगत्लाई एउटा मौन पाठ पनि सिकाएका हुन् कि ?
अर्कोतिर, नानीहरू र उनीहरूका अभिभावकको पूर्वस्वीकृति बिना उनीहरूको तस्बिर वा भिडियोलाई व्यावसायिक फाइदा, डिजिटल आर्ट वा एआई अवतारका नाममा जथाभावी प्रयोग गरिनु बाल अधिकार र व्यक्तिगत गोपनीयताको दृष्टिकोणले न्यायोचित होइन। भाइरल ट्रेन्डको नाममा बालबालिकाको आत्मसम्मान र सुरक्षामा आँच नपुगोस् भन्नेतातर्फ हामी सबै सचेत नागरिक, डिजिटल प्रयोगकर्ता र जिम्मेवार मिडियाकर्मीहरू उत्तिकै गम्भीर हुन जरुरी छ।
हिलो बाटोमा तुकुटुकु पाइला सार्दै उकालो काटिरहेका ती साना नानीहरू सधैँ यसरी नै बिना कुनै डर, जोखिम र बाधा, आफ्नो सुन्दर भविष्य र गन्तव्यतर्फ मुस्कुराउँदै अघि बढिरहून्… यही नै शुभकामना!
भिडियाे पनि हेर्नुहाेस् :