स्वास्थ्य विभागका प्रशासक सापकोटाविरुद्ध २ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ३ लाख ९४ हजार ६ सय १५ रुपैयाँभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गर्दै डा.सापकोटाले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो।

अनुसन्धानका क्रममा सापकोटाले स्रोत नखुलेको २ करोड ३ लाख ९४ हजार ६ सय १५ रुपैयाँ २४ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ।

उक्त रकम बराबर बिगो कायम गरी जरिवाना, कैद सजाय तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ।

त्यस्तै, वास्तविक सम्पत्तिको विवरण नलुकाई वा नछिपाई पेस गर्नुपर्नेमा झुट्टा विवरण पेस गरी सम्पत्ति लुकाएकोसमेत पाइएको भन्दै भ्रष्टाचार निवारण ऐनबमोजिम थप कैद तथा जरिवानाको माग गरिएको छ।

अख्तियारका अनुसार डा.सापकोटाले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट श्रीमती निरजा पण्डितको नाममा विभिन्न सम्पत्ति खरिद गरेको पाइएको छ।

गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निरजा पण्डितको नाममा समेत राखेको पाइएकाले गैरकानूनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमतीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

 

सम्बन्धित खबर