
काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ । सु.प.प्र.०१-००२ ज ४३३ नम्बरको ईभी माइक्रो बर्दिया नगरपालिका-७ रम्तापुरस्थित हाइवेमा गुडिरहेको अवस्थामा आगलागी भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको माइक्रोमा अचानक आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा माइक्रोमा चालक र सहचालक मात्रै रहेका कारण मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट माइक्रोमा राखिएका कागजपत्र तथा नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।