सरकारविरोधी अभिव्यक्तिका कारण राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार र समसामयिक राजनीतिक विषयमा कडा टिप्पणी गर्दै आएका उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी परेको छैन । नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको बताइएको छ ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दाहाललाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार दाहालविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र कपोलकल्पित सूचना प्रवाह गरेको आरोपमा उजुरी परेको बताइएको छ ।

उनका अनुसार यही उजुरीका आधारमा गत शुक्रबार काठमाडौँ जिल्ला अदालतबाट दाहाललाई पक्राउ गर्न अनुमति लिइएको थियो । त्यसपछि उनी मोरङमा रहेको जानकारी पाएपछि स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहीले जनाएको छ ।

सरकारविरोधी अभिव्यक्तिका कारण दाहाललाई पक्राउ गरिएको भए पनि प्रहरीले भने पक्राउ गर्नुको औपचारिक कारण सरकारको आलोचना नभई साइबर ब्युरोमा परेको उजुरी र अदालतबाट जारी पक्राउ अनुमतिलाई जनाएको छ ।

दाहाल एक कार्यक्रमका लागि मोरङ पुगेका बेला बेलबारीबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेपछि साइबर ब्युरोको जिम्मा लगाउन काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा हालसम्म सार्वजनिक भएका प्रहरी विवरणअनुसार दाहालमाथि लागेको आरोप विद्युतीय कारोबार ऐनअन्तर्गतको साइबरसम्बन्धी कसुरसँग सम्बन्धित रहेको देखिन्छ। यद्यपि साइबर ब्युरोमा परेको उजुरीमा कुन सामग्री, कुन अभिव्यक्ति वा कुन सामाजिक सञ्जाल पोस्टलाई आधार बनाइएको हो भन्ने विस्तृत विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन।

सम्बन्धित खबर

सिफारिस