
काठमाडौँ । सप्तरीमा घरमा भण्डारण गरेर राखिएको अवस्थामा करिब २ हजार किलो गाँजाज बरामद भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।
डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल अन्दाजी २ हजार किलो अर्थात् २० क्विन्टल रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित भोला सदा र मंगल मुखियालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।