
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३, बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने-धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परी छथर जोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका-९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री घाइते भएका छन् । त्यसैगरी धनकुटा नगरपालिका-४ की ४० वर्षीया धनमाया राई, ३३ वर्षीया पुनम लिम्बू, उनकी २ वर्षीया छोरी आरध्या लिम्बू, सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बू र ३० वर्षीय अबिन लिम्बू घाइते भएका छन् ।
यस्तै धनकुटा नगरपालिका-३ का २७ वर्षीय भवानी लिम्बू, ४७ वर्षीय हेमबहादुर लिम्बू र छथर जोरपाटी गाउँपालिका-३ का २१ वर्षीय आशिष लिम्बू घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइते सबैको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।