
हरितालिका तीज मनाइरहँदा यसपालि मन्दिरका प्राङ्गणहरूमा एउटा भिन्न दृश्यले धेरैको ध्यान खिचेको छ। सारी र पोतेको रातो-हरियो चमकबीच महिलाहरूको चुल्ठोमा सजिएका थरीथरीका स्वदेशी फूलहरू यसपालि अलि बढी नै प्रखर रूपमा देखिएका छन्। अघिल्ला वर्षहरूमा पनि चुल्ठोमा फूल सिउरिने परम्परा नभएको होइन, तर यसपालि यो अभ्यास आम दिदीबहिनीहरूको सामूहिक रोजाइ र नयाँ सौन्दर्य-मानकका रूपमा अगाडि बढेको पो हो कि भन्ने भान भएको छ।

एकातिर पतिको दीर्घायुका नाममा गरिने व्रतसँग जोडिएका परम्परागत धारणाहरूमाथि प्रश्न उठिरहने र अर्कोतिर सुन-गहनाको भद्दा पुँजीवादी होडबाजीलाई लिएर ‘तीज भड्किलो भयो’ भन्ने चौतर्फी आलोचना भइरहने परिवेश छ। यिनै बहसका बीचमा महिलाहरूले आफ्नो चुल्ठोमा सादा र प्राकृतिक फूल सिउरिनु; एउटा मौसमी फेसन मात्र हो वा तडकभडकविरुद्धको मौन विद्रोह? यो लहरभित्र लुकेको राजनीति, अर्थशास्त्र, सौन्दर्यशास्त्र र सांस्कृतिक पुनर्जागरणबारे बहस हुनु अब आवश्यक देखिन्छ।
यसपालिको तीज वातावरण पूर्णतः उल्लासमय भने छैन। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सिर्जित जनधनको क्षति र शोकको छाया धेरैका आँखामा अझै कायमै छ। तथापि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरका प्राङ्गणहरूमा रातो र हरियो रङ्गमा सजिएर पुगेका महिलाहरूको उपस्थिति बाक्लो छ।
फ्रान्सेली दार्शनिक अल्बर्ट कामुले भनेका थिए, “मुटुभित्र अनन्त हिउँद भए पनि मभित्र एउटा पराजित नहुने ग्रीष्म बाँचिरहेको हुन्छ।” ठूला विपत्ति र पारिवारिक दुःखका बाबजुद चुल्ठोमा सिउरिएको यो ताजा फूललाई नेपाली समाजको पराजित नहुने जिजीविषा, धैर्यता र आशाको प्रमाणका रूपमा पनि व्याख्या गर्न सकिएला। आफ्ना पीडाहरूलाई एकातिर पन्छाउँदै जीवनलाई मुस्कानका साथ अघि बढाउने हाम्रो सांस्कृतिक सामर्थ्यको यो एउटा विम्ब हो कि भन्ने ठाउँ छ।
संस्कृति र मानवशास्त्रको दृष्टिमा कपाल मानिसको जैविक ऊर्जा, मर्यादा र आध्यात्मिक चेतनाको केन्द्र मानिन्छ। वैदिक तथा दक्षिण एसियाली परम्परामा खुला र अस्तव्यस्त कपाल अशान्तिको प्रतीक मानिन्थ्यो भने त्यसलाई बाटेर रातो धागोले बाँध्नु सामाजिक सुव्यवस्था र पारिवारिक सामञ्जस्यको सङ्केत थियो। ‘सोलह शृङ्गार’ भित्र पनि केश शृङ्गारको विशेष स्थान छ। उत्तर अमेरिकाका रैथाने ‘नेटिभ अमेरिकन’ संस्कृतिमा चुल्ठोका तीन लटालाई शरीर, मन र आत्माको त्रिवेणी मानिन्छ।

यता, नेपालको लोकजीवनमा चुल्ठोमा फूल सिउरिने परम्परा हाम्रा खेतका कान्लाहरूसम्म फैलिएको छ। असारमा रोपाइँका क्रममा खेतमा काम गर्दा कान वा चुल्ठोमा सिउरिने असारे फूल (Lagerstroemia indica, जसलाई लोकबोलीमा ‘खेताली फूल’ पनि भनिन्छ) कृषि संस्कृति र श्रमसँग जोडिएको पुरानो साक्षी हो।
त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका प्रा. डा. पशुपति न्यौपानेका अनुसार नेपाल उर्वरा भूमि भएकाले यहाँका लोकजीवनमा फूलको ठूलो सांस्कृतिक र सौन्दर्यशास्त्रीय महत्त्व रहँदै आएको छ। न्यौपाने भन्छन्, “तिब्बततर्फ पठार भएकाले त्यहाँको पारिस्थितिकीका कारण खादाको प्रचलन बढेको हो, तर हाम्रो भूमि उर्वर छ। यहाँ विभिन्न रैथाने र रङ्गीबिरङ्गी फूलहरू छन्, जसलाई नेपाली महिलाहरूले विशेष अवसरमा ग्रहण गर्दै आएका हुन्। यसपालि त्यो अलिक बढेको देखियो। यसलाई हाम्रै पुराना सांस्कृतिक र कृषि मान्यताको आधुनिक निरन्तरताका रूपमा अध्ययन गर्न सकिन्छ।”
काव्यिक र साहित्यिक दृष्टिकोणबाट हेर्दा चुल्ठोमा फूल सिउरिनु भनेको श्रम र प्रकृतिलाई सौन्दर्यमा रूपान्तरण गर्ने प्रयास पनि हो। महाकवि कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’ मा शकुन्तलाले वनका जंगली फूलहरूबाट आफूलाई सजाएको वर्णन पाइन्छ भने बिपी कोइरालाको प्रसिद्ध उपन्यास ‘सुम्निमा’मा सुम्निमाले कानमा जंगली फूल सिउरिएका प्रसङ्गहरू आउँछन्। लोकदोहोरी र लोककथाहरूमा ‘पहाडको गुराँस’ नारी स्वाभिमानको प्रतीक बनेको भेटिन्छ।

समालोचक तथा लेखक डा. गीता त्रिपाठीका अनुसार महँगो सुन र भड्किलो कपडाको प्रतिस्पर्धा भइरहेका बेला महिलाहरूले सादा स्वदेशी फूललाई आफ्नो फेसन र पहिचान बनाउनु सकारात्मक सङ्केत हो। “सुनले वर्गको प्रतिनिधित्व गर्दछ, तर फूलले त्यसो गर्दैन,” उनी भन्छिन्। यसले प्रदर्शनमुखी संस्कृतिलाई निरुत्साहित गर्दै सादगी र जैविक सौन्दर्यलाई अघि बढाउन मद्दत पुर्याउने विश्वास डा. त्रिपाठीको छ।
अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्दा पनि हेयर-हिस्टोरियन रेचेल गिब्सनका अनुसार मानव इतिहासमा कपाल सजाउने पहिलो साधन प्राकृतिक फूल नै थियो। युरोपको रेनेसाँ कालका चित्रकलादेखि ‘ज्याम्ब्याटिस्टा भ्याली’ जस्ता आधुनिक विश्वविख्यात फेसन रनवेहरूसम्म फूलको प्रयोग पुनरावृत्त भइरहने सौन्दर्य भाषा मानिन्छ। अध्ययनहरूले कपालमा ताजा फूल सजाउने महिलाहरूले अरूलाई अन्जानमै आत्मीयता र सकारात्मक ऊर्जाको सन्देश दिने उल्लेख गरेका छन्।

यस घटनाक्रमलाई समाजशास्त्रीय र वैचारिक लेन्सबाट हेर्दा केही प्रश्नहरू पनि उब्जिन्छन्। तीजको परम्परा लामो समयदेखि पुँजीवादी उपभोक्तावादको मारमा पर्दै आएको छ। कार्ल मार्क्सले ‘वस्तु-पूजा’को सिद्धान्तमा भनेझैँ बजारले नारी सौन्दर्य र सामाजिक प्रतिष्ठालाई सुनको तौल र हिराको चमकमा नाप्ने कोसिस गर्यो। गहनाको होडबाजीले वर्ग-विभेद बढाउने र नारीलाई प्रदर्शनको वस्तु बनाउने खतरा रहन्छ र त्यो छ।
तर जब महिलाहरूले सुनको देखावटी साटो सादा फूल रोज्छन्, त्यहाँ बजारशास्त्रका स्थापित नियमहरूमाथि प्रश्न उठ्छ। सुन र हिरा सीमित वर्ग र देखावटीका साधन बन्न सक्छन्, तर फूल प्रकृति हो। यो समतावादी छ, जसले धनी वा गरिबको भेद गर्दैन।
यसैगरी, पारिस्थितिकीय-नारीवाद (इको-फेमिनिज्म) को सिद्धान्त अनुसार पुँजीवाद र पुरुषसत्ताले प्रकृति र नारी दुवैलाई उपभोगको साधन बनाउने प्रयास गर्छन्। तीजमा कृत्रिम सामग्री र महँगा गहनाको होड छाडेर आफ्नै माटोका फूलहरूसँग जोडिनुलाई कतिपय विश्लेषकहरूले एउटा मौन ‘पारिस्थितिकीय-नारीवादी प्रतिरोध’ का रूपमा व्याख्या गर्न सकिने तर्क गर्छन्। पर्यासमालोचक समेत रहेकी डा. त्रिपाठीका अनुसार यसले अस्वस्थ प्रतिस्पर्धालाई छाडेर महिलाहरूबीच आत्मीयता (सिस्टरहुड) र सादगीलाई बढावा दिने सम्भावना रहन्छ।

यस लहरको सबैभन्दा व्यावहारिक र सकारात्मक पाटो स्थानीय अर्थतन्त्रसँग जोडिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) का जनरल सेक्रेटरी हिरामणि शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि तीजको समयमा फूलको प्रयोग १० देखि १५ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ। शर्माका अनुसार अहिले बजार र महिलाहरूका चुल्ठोमा देखिएका यी प्रायः सबै फूलहरू आयातित नभई हाम्रै नेपाली कृषकहरूले उब्जाएका १०० प्रतिशत स्वदेशी उत्पादन हुन्।
आयातित र महँगा शृङ्गारका सामान छाडेर आफ्नै खेतबारीका फूलहरूसँग जोडिनुले स्थानीय कृषि र पुष्प व्यवसायलाई प्रत्यक्ष टेवा पुर्याएको छ। यसले सांस्कृतिक सचेतनालाई आर्थिक आत्मनिर्भरतासँग जोड्ने ढोका खोलेको शर्माले बताए।
यद्यपि, यस वर्ष देखिएको यो दृश्यलाई नै पूर्ण सांस्कृतिक क्रान्ति वा स्थायी रूपान्तरण भनिएहाल्न भने हतारो हुन सक्छ। के यो लहर केवल सामाजिक सञ्जाल र क्षणिक फेसनको लहड मात्र हो कि यसले नेपाली समाजमा स्थायी सादगी र सचेतनाको जग बसाल्दै छ? यसको उत्तर खोज्न समाजशास्त्रीय र सांस्कृतिक शोधकर्ताहरूले थप सूक्ष्म अध्ययन गर्नुपर्ने देखिन्छ।
तीजका परम्परागत संरचना र पुँजीवादी तडकभडकका बीचमा महिलाहरूले आफ्नो खुसी, सादगी र जैविक सौन्दर्यका लागि चुल्ठोमा स्वदेशी फूल सिउरिने यो अभ्यास आफैँमा एउटा सुन्दर सम्भावना भने पक्कै हो। आफ्नै माटो र प्रकृतिलाई सम्मान गर्दै अघि बढ्ने यो चेतनाले आगामी दिनमा कस्तो रूप लिन्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, तीजको यो नयाँ र सादा रङ्गले एउटा स्वस्थ बहसको ढोका भने पक्कै उघारिदिएको छ।