
काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार बमले सेवाग्राहीलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै बदनियतपूर्ण ढंगले बार्गेनिङ गरेका थिए । सो क्रममा उनले सेवाग्राहीसँग घुस माग गरी २ लाख रुपैयाँ लिएको आरोप छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बमले घुसबापत रकम लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागदाबी गरिएको हो ।
आयोगले बमलाई २ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कानुनबमोजिम सजाय हुन मागदाबी गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।