
काठमाडौँ । नेपालको पर्यटन उद्योग सन् २०१९ को अन्तिममा आएको कोभिड-१९ महामारीपछि लामो समय थला नै पर्यो । यद्यपि अहिले बिस्तारै पर्यटनले पुनरुत्थानको यात्रा तय गरिरहेको छ । तर पर्यटन क्षेत्रमा देखिएका कैयन् समस्या अहिले पनि समाधान हुन सकिरहेको छैन ।
यस्तो अवस्थामा एउटा सक्षम, अनुभवी र सहकार्यमूलक नेतृत्वको खाँचो छ । यही परिप्रेक्ष्यमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को साउन २९ गते अर्थात् अगस्ट १४ मा हुने २५ औँ कार्यसमिति निर्वाचनमा प्रज्ञा शर्मा पाठकले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।
एडभेन्चर्स आउटडोर टुर एण्ड ट्राभल्सको नेतृत्व गरिरहेकी प्रज्ञाले पर्यटन क्षेत्रमा निरन्तर २५ वर्षको अनुभव बटुलेकी छिन् । इनबाउन्ड तथा आउटबाउन्ड टुर, टिकेटिङ, होटल, रेस्टुरेन्ट व्यवस्थापनदेखि उच्च सङ्ख्यामा हाई क्वालिटी विदेशी पर्यटकलाई नेपाल ल्याएर सेवा दिनमा आफ्नो दख्खल रहेको प्रज्ञाको दाबी छ ।
‘सामूहिकता र मेलमिलापको साझा यात्रामा हातेमालो गरौँ’ भन्ने नारा लिएर प्रज्ञा नाट्टाको चुनावी मैदानमा ओर्लिएकी छिन् । यही नारा र नारा जस्तै कर्मबाट सम्पूर्ण पर्यटन व्यवसायीलाई एकताबद्ध गराई नेपालको पर्यटनलाई नयाँ उचाइमा पुराउने प्रज्ञाको लक्ष्य छ ।
अहिले जिस्वा तुलाधर नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेकी उनै प्रज्ञासँग उम्मेदवारीको औचित्य, आगामी योजना, सुधारका एजेन्डा र नाट्टाको भविष्यका विषयलाई दियोपोस्ट संवाददाता अनिषा खत्रीले कुराकानी गरेकी छिन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
सवाल : उपाध्यक्षमा तपाईँको उम्मेदावारी किन र के का लागि ?
जवाफ : त्यो एउटा कार्यकारी पद नै हो ? मैले यही पर्यटन क्षेत्रमा २५ वर्ष काम गरिसकेकी छु, त्यसकारण वरिष्ठताको हिसाबले म उपाध्यक्षमा आएको हो भने तलको पदमा बसेर भन्दा पदाधिकारीमा बसेर धेरै सुधारका कामहरु गर्न सकिन्छ भन्ने ठानेर सिनियर पदमा उम्मेदावारी दिएकी हुँ ।
सवाल : तपाईंको उम्मेदवारी र अन्य प्रतिस्पर्धीको उम्मेदवारीमा फरक चाहिँ के छ त ?
अब फरक के छ भन्दा पनि मैले के योगदान गर्न सक्छु भन्ने नै हो । मैले यो पदमा उम्मेदवारी दिनुभन्दा अगाडि म उहाँहरूलाई चिन्दिन थिएँ । अहिले यहीँ आएपछि मात्र मैले उम्मेदवारी दिएको पदमा उम्मेदवारी दिनुभएका अन्य साथीहरूलाई देख्दैछु । अब उहाँहरू कसैको कुनै एउटा ट्रान्सपोर्टमा मात्र एक्सपर्ट हुनुहुन्छ होला, कोही टिकेटिङमा मात्रै वा कोही ग्यापमा बसिरहनु भएको होला । म भनेको निरन्तर २५ वर्षदेखि काम गरिरहेकी व्यक्ति हुँ । म ट्रान्सपोर्ट सम्हालिरहेको, टुर पनि सम्हालिरहेको, आउटबाउन्ड, इनबाउन्ड, टिकेटिङ, होटल्स, रेस्टुरेन्ट सबै सम्हालिरहेको अनुभवी व्यक्ति छु । त्यही भएर यहाँ आएँ भने यहाँका समस्याहरु समाधान गर्न सक्छु भन्ने विश्वास लागेर मैले उम्मेदवारी दिएको हुँ ।
सवाल : मतलब तपाईँलाई सबै क्षेत्रको ज्ञान छ र यसमा अझै सुधार गर्न सक्छु जस्तो लाग्छ ?
अनि म नेपालमा एकदम भोल्युम टुर र हाई क्वालिटीको टुर गर्ने कम्पनी र व्यक्तिमा पर्छु । यो किन भयो भने मसँग सबै क्षेत्रको ज्ञान भयो र त्यसलाई मैले सही ढंगबाट सेल गर्न सकेँ र तर यी क्षेत्रमा समस्या पनि धेरै भएका कारण मैले त्यही समस्या समाधान गर्न सकिन्छ भनेर उम्मेदवारी दिएकी हुँ ।
सवाल : तपाईं निर्वाचित हुनुभयो भने के कामलाई चाहिँ पहिलो प्राथमिकतामा राख्नुहुन्छ ?
पहिलो प्राथमिकता भन्नाले अब यो टुर र टिकेटिङमा अहिले हामीलाई काम गर्न धेरै गाह्रो भइरहेको छ, त्यसलाई सुधार गर्नतिर हामी लागि पर्नेछौँ । जस्तै अहिले यो क्षेत्रमा अत्यधिक अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, त्यसलाई रोक्नका लागि र स्वस्थ प्रतिस्पर्धा गराउनका लागि हामी लागि पर्नेछौँ । टिकेटिङमा भइरहेका समस्या रोक्ने, ट्रान्सपोर्टमा पनि बसपार्कदेखि लिएर दुनियाँ समस्याहरू छन्, यस्ता बेसिक समस्याहरु समाधानका लागि पहल गर्नु हाम्रो पहिलो काम हुनेछ । किनभने पहिले खुट्टा त टेक्नुपर्यो नि । पहिला खुट्टा टेक्ने काम गरेर मात्र ठुलाठुला कुरामा हात हाल्ने र देखिएका समस्या समाधानका लागि पहल गर्ने हाम्रो योजना छ ।
सवाल : नाट्टालाई थप प्रभावकारी बनाउन तपाईंसँग थप केही योजनाहरू छन् कि ?
धेरै योजनाहरू छन् । किनभने २५ वर्ष काम गरेर वर्षमा १२ हजार पर्यटक पुर्याउने व्यक्तिसँग योजना त हुन्छन् नै । यस क्षेत्रमा कहिल्यै काम नगरेका व्यक्तिहरुसँग योजना हुन्छ कि २५ वर्षदेखि यही क्षेत्रमा भिडिरहेको व्यक्तिसँग योजना हुन्छ भन्ने कुरा त हाम्रा सहकर्मी साथीहरु, ट्राभल तथा टुर व्यवसायीहरुले बुझ्नुभएकै छ त । त्यसकारण हामीसँग सुधारका व्यवसायीको हितमा काम गर्ने धेरै योजनाहरु छन् ।

सवाल : जस्तै एक-दुई वटा योजना भनिदिनुहोस् न ।
अब हामी नाट्टा भनेको त सानो संस्था हो, तर यो चाहिँ पर्यटन क्षेत्रमा काम गरिरहेको, संस्था चलाइरहेको व्यक्तिलाई समस्या पनि थाहा हुन्छ । त्यसकारण कार्यगत समस्या, नीतिगत समस्या आदिलाई सरकारसँग छलफल गरेर समन्वय गरेर सुधारका काम गर्न सकिन्छ । नाट्टा आफैले विकासका काम गर्ने त होइन, तर सरकारसँग समन्वय गरेर सुधारका र विकासका धेरै काम गर्न सक्छौँ भन्ने मलाई विश्वास छ । हामीले गर्ने भनेको व्यवसायीको हितका लागि बलियो आवाज निकाल्ने मात्रै हो । त्यसको लागि अब हामीले एयरपोर्टलाई नै बढी प्राथमिकता दिनेछौँ । त्यसपछि यातायात वा बाटोको कुरा सबैभन्दा महत्त्वपूर्ण विषय हुनेछन् हाम लागि, म र हाम्रो टिम सरकारसँग यही विषयमा लबिङ गर्नेछ ।
सवाल : हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउने कुराहरू पनि तपाईंको योजनामा परेको रहेछ ? तपाईंहरूले हटाउँदैमा त्यो हट्ला र ?
हटाउँदैमा हट्ने भन्दा पनि कस्तो हुन्छ भने त्यो १३ प्रतिशतलाई, एक लाखमा १३ प्रतिशत जोड्ने भनेको १ लाख १३ हजार भयो होइन ? त्यो भएपछि लागत बढ्ने भयो नि त । हाम्रो एक त यसै पनि नेपाल भन्ने देशमा अनेक कारणले गर्दा प्लेनको टिकट महँगो हुन गइरहेको छ, अब कस्ट हाई भएपछि त पर्यटक आउने कुरामै अप्सन खोज्न थाल्ने भएका छन् । हवाई टिकटको कुरा गर्दा नेपाल महँगो देशमै पर्छ, किनभने दुर्गम स्थान, हार्ड ल्यान्डिङ, टेक्निकल ल्यान्डिङ जस्ता कारणले गर्दा पहिले नै अति महँगो थियो ।
टिकटको कुरा गर्दा नेपाल महँगो देशमै पर्छ, किनभने दुर्गम स्थान, हार्ड ल्यान्डिङ, टेक्निकल ल्यान्डिङ जस्ता कारणले गर्दा पहिले नै अति महँगो थियो ।
अहिले भ्याट जोडेपछि थप महँगो भएको छ । त्यसले गर्दा हाम्रो टुरिस्टहरू नै कम भइरहेका छन् । आजभन्दा १० वर्ष अगाडि ३० हजारमा पाउने हवाई टिकट अहिले डेढ लाख पुगेको छ । १ लाख २० हजारको त्यत्रो ग्याप भइसक्यो नि त । अनि त्यो भ्याट हटाउने वा भ्याट नहटाईकन टिकट नै सस्तो पो गर्न सकिन्छ कि ? सरकारसँग छलफल गरेर अन्य कुनै विधिबाट टिकट सस्तो गराउन पो सकिन्छ कि ? भ्याटलाई अन्यत्र कहीँ कतै एडजस्ट गराउन पो सकिन्छ कि ? त्यो विषयमा हाम्रो बृहत् छलफल हुने नै छ, त्यो हाम्रो प्राथमिकतामै रहेको कुरा हो ।
सवाल : व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम लगायतका कामहरू गर्न त्यसका लागि बजेटको व्यवस्थापन कसरी गर्ने सोच्नुभएको छ ?
व्यवसायीको क्षमता वृद्धि गर्न हामीले एआई ट्रेनिङहरू दिन सक्नेछौँ । जस्तै बुकिङहरू कसरी गर्ने भनेर करेस्पोन्डिङ ट्रेनिङहरू दिन सकिन्छ । यस्ता धेरै ट्रेनिङहरू दिन सकिन्छ । अब नाट्टासँग बजेट भएको खण्डमा नाट्टाले आफै पैसा तिरेर गराउँछ, नभएको खण्डमा साझेदारीमा पनि काम गर्न सकिनेछ । किनभने म यसअघि नाट्टाको कार्यसमितिमा बसेको छैन र त्यहाँ कति बजेट छ भन्ने मलाई थाहा छैन । अब बाहिर बसेर हेर्दा व्यवसायीलाई ट्रेनिङको आवश्यकता छ भन्ने हामीले बुझेका छौँ, बरु आधी पैसा नाट्टाले हाल्ने र आधी पैसा व्यवसायीले हाल्ने हुनसक्छ । त्यसो हुँदा सस्तो पनि पर्ने भयो । त्यो मोडालिटीमा हामीले यसअघि पनि अन्य संस्थामा ट्रेनिङ चलाइरहेका छौँ । किनभने म सिस्टरहुड भन्ने अर्कै संस्थामा पनि आबद्ध छु । हाम्रो टुरिजमकै सिस्टरहुड भन्ने संस्थामा हामीले यसअघि विभिन्न कार्यक्रमहरू, ट्रेनिङहरु त्यसरी नै चलाएका छौँ र त्यो हामी सक्छौँ ।
सवाल : नाट्टाको पदाधिकारी भएर संस्थाबाटै त्यस्तो तालिम दिनु र अहिले एउटा एनजिओबाट दिनुमा त फरक होला नि त ?
हैन हामीले धेरै संस्थाहरूबाट पेड वाला तालिम पनि दिइरहेका छौँ । यसमा हामी आफैँ कुरा गर्छौँ, कति मान्छेलाई भोलिन्टियरी गराउँछौँ, एक दिन दुई दिनको । अब जस्तै एआई ट्रेनिङ अस्ति भर्खर हामीले एम्बेसडर होटलमा सिस्टरहुड भन्ने संस्थाबाट गरायौँ, त्यसको पनि म मेम्बर हो । अब त्यहाँ हामीले के गर्यौँ भने एक्सपर्टहरुलाई बोलायौँ अनि ५० वटा जति कम्पनीको आईटी मान्छेलाई बोलाएर भोलिन्टियरी गर्न लगायौँ । अनि भोलिन्टियर गरेको चाहिँ अब उहाँहरूको पनि प्रचार हुने अनि नयाँ पुस्ताले पनि सिक्न पाउने । त्यसकारण योङ जेनेरेसनले नयाँ सिक्न पाउने त्यस्तो भोलिन्टियर कार्यक्रम ट्रेनिङहरू हामीले गर्न सक्छौँ ।
यी क्षेत्रमा समस्या पनि धेरै भएका कारण मैले त्यही समस्या समाधान गर्न सकिन्छ भनेर उम्मेदवारी दिएकी हुँ
यसको अलावा केही मात्रामा पैसा तिरेर पनि यस्ता तालिमहरु गराउन सकिन्छ । उदाहरणका लागि कुनै तालिमको एक हजार रुपैयाँ पर्छ भने ५ सय रुपैयाँ नाट्टाले हाल्ने, ५ सय रुपैयाँ व्यक्तिले हाल्ने, त्यो पनि गर्न सकिन्छ । यस्ता विषयमा धेरै योजनाहरु हामीसँग छन् ।
सवाल : तपाईंहरूको योजनामा सबै सदस्यको दर्ता र नवीकरण अब अनलाइनबाट नै गराउने भन्नुभएको छ, त्यो गराउन कति समय लाग्ला ?
त्यो अब छिट्टै गराउने नै हो । म अहिले नाट्टामा त छैन, तर हाम्रै सुझावका आधारमा यसअघि नाट्टामा रहनुभएका टिमले पनि यसमा केही काम गर्नुभएकै छ जस्तो लाग्छ । उहाँहरुले अब दर्ता र नवीकरण अनलाइनबाटै गराउन धेरै काम अगाडि बढिसकेको र यही आर्थिक वर्षबाटै अनलाइनबाट गराउने गरी काम अन्तिम चरणमा पुगिसक्यो भनेर भन्नुभएको छ । बाँकी कामहरु हामी नाट्टामा पुगेपछि पूरा गर्नेछौँ ।
सवाल : तपाईंहरुको १२ बुँदे प्रतिबद्धतामा पनि यी कुराहरु समावेश छन् होइन र ?
हजुर छ । अब योजनामा रहेको भए पनि त्यो काम पूरा भइसकेको छैन । उहाँहरुले बजेटको कारण वा दक्ष जनशक्तिको अभाव के कारणले हो, गर्न सक्नुभएको छैन, अब हामी गएर त्यसलाई कम्प्लिट गर्ने प्लानमा छौँ ।
सवाल : त्यो काम गर्न चाहिँ कति समय लाग्ला त ?
यो त एकदमै जरुरी कुरा हो । अहिले म्यानुअल छ, तर अनलाइन भएपछि सदस्य सङ्ख्या थपिने, नवीकरण समयमै हुने आदि कारणले पनि यसबाट संस्थाको आम्दानी र काम गर्ने क्षमतामा पनि वृद्ध हुनेछ, त्यसकारण यो काम हामी निर्वाचित भएको तीन महिनाभित्रै पूरा गर्नेछौँ ।
सवाल : नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न तपाईंका योजनाचाहिँ के-के छन् त ?
नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा भित्राउने हाम्रो धेरै योजना छन् । नयाँ पुस्ता भनेको नयाँ-नयाँ भर्खर कम्पनी खोलेर बसेकाहरूलाई एक्जिबिसन, टुर प्रमोसन आदिमा लिएर जाने लगायतका छन् । यसले आफ्नो र देशकै पर्यटन प्रवर्द्धन हुन्छ नि । त्यसबाहेक उनीहरूलाई आयटाको ट्रेनिङ दिने, टिकेटिङको ट्रेनिङ दिलाउने लगायतका काम गरी आकर्षित गर्ने हामे योजना छ ।
सवाल : तपाईंको टिम र तपाईंलाई उपाध्यक्षमा जिताएमा व्यवसायीले पाउने गर्व गर्न लायक कामहरु के के हुन सक्नेछन् ?
मेजर कुरा भनेको म २५-२५ वर्ष इनबाउन्ड, आउटबाउन्ड सबै टुर चलाएको मान्छे । मलाई चाहिँ सबै कुराहरू जस्तै टुरमा हुने समस्या सबै थाहा छ । अहिलेसम्म आएका व्यक्तिमा मैले टुर चलाउने मान्छे कम देखेको छु, अहिले धेरै चाहिँ टिकेटिङको मान्छेहरू आएको मात्रै देखिन्छ नाट्टामा । अब टुरको मान्छे त्यसमा पनि भोल्युममा टुर गर्दाखेरि के-के समस्या छन्, ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ, के-के गर्न सकिन्छ, कसरी अब सहजीकरण गर्न सकिन्छ, ती सबै मैले उनीहरूलाई जानकारी गराउनेछु । किनभने म आफैँ त्यही फिल्डमा काम गरेर आएको व्यक्ति हुँ ।
सवाल : तपाईंले भन्न खोज्नुभएको तपाईंको एक्सपिरियन्सबाट व्यवसायीका समस्या र समाधानको बाटो देखाइदिनुहुनेछ होइन त ?
मैले भोगेका समस्या, मैले गरेको समाधान, भविष्यमा आउने समस्या आदिबारे जानकार भएकाले मेरो एक्सपिरिन्यसबाट पनि मैले व्यवसायी साथीहरुलाई समस्या पर्दा समाधान गर्न वा गराउन सक्छु भन्न खोजेको हो ।
सवाल : पहिला जो नाट्टामा हुनुहुन्थ्यो नि, उहाँहरूभन्दा तपाईंको चाहिँ एक्सपिरियन्स धेरै छ हैन त ? त्यो नै फरक कुरा भयो कि अरु केही छ ?
जवाफ : मैले पर्यटन र मुख्यतः टुर तथा टिकेटिङमा भागेका समस्या, आउने समस्या आदिबारे जानकार भएकाले समस्या समाधानमा सहजीकरण हुने र व्यापार बिस्तारमा पनि सहयोग गर्ने भन्ने खाजेको हुँ ।
