
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला परिसरमा महिनौँदेखि रातको समयमा टेन्ट टाँगेर धर्ना बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ । रातको समयमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह अटेर गरेपछि बुधबार बिहानै उनीहरूलाई माइतीघर परिसरबाट हटाइएको हो ।
प्रहरीका अनुसार रातको समयमा खुला ठाउँमा टेन्ट टाँगेर बस्दा सुरक्षा चुनौती बढ्नुका साथै स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले उनीहरूलाई राति नबस्न आग्रह गरिएको थियो । यद्यपि, दिउँसो माइतीघर मण्डलामा हुने धर्ना, कार्यक्रम तथा प्रदर्शनमा भने कुनै रोक नलगाइएको प्रहरीले जनाएको छ ।
माइतीघरमा लामो समयदेखि टेन्ट टाँगेर धर्ना बस्दै आएका केही व्यक्तिले गत महिना रातिको समयमा आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले रातको समयमा माइतीघर परिसरमा धर्ना तथा टेन्टसहित बस्न रोक लगाउने निर्णय गरेको हो ।
यसैक्रममा प्रहरीले मंगलबार माइतीघर परिसरमा माइकिङ गर्दै रातको समयमा टेन्ट टाँगेर नबस्न आग्रह गरेको थियो । आग्रह नमानेपछि बुधबार बिहान प्रहरी परिचालन गरी टेन्ट हटाइएको हो ।