
लमजुङ । लगातार भइरहेको वर्षाका कारण लमजुङस्थित मस्र्याङ्दी नदीमा पानीको बहाव बढेको छ।भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार नदीको जलसतह अहिले ८.२४ मिटर आसपास पुगेको छ।
उक्त केन्द्रले १० मिटरलाई चेतावनी तह तोकेको छ। वर्षाका कारण पछिल्ला दिनमा मर्स्याङ्दी नदीको पानी पटकपटक चेतावनी तह आसपास पुगेको केन्द्रले जनाएको छ।
नदीमा पानीको सतह बढेपछि आसपासका क्षेत्रमा जडान गरिएका साइरनमार्फत स्थानीयलाई सचेत गराउने व्यवस्था गरिएको छ । नदी तथा खोला आसपासका जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको बहाव बढेको जानकारी स्थानीयले पाउने गरेका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले निरन्तर वर्षा भइरहेकाले मर्स्याङ्दी नदी तथा आसपासका खोलामा पानीको सतह बढ्न सक्ने बताए । उनले नदी र खोला आसपासका बस्तीमा जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार वर्षा जारी रहेकाले नदीको अवस्था कति बेला जोखिमपूर्ण बन्छ भन्ने यकिन गर्न कठिन छ। त्यसैले नदी तथा खोला आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
यसअघि २०७८ सालमा आएको बाढीले मर्स्याङ्दी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण लमजुङ-मनाङ सडकखण्डसहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो।