भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १ हजार ४०३ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ३ जना पुगेको छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बुधबार बिहान ८ बजे सम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको हो ।

जसमध्ये रसुवामा १ सय ९३ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय १ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ४ गरी कुल ३ हजार १ सय ९० वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ ।