बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, १३ जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदै

दियोपोस्ट संवाददाता

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मंगलबार साँझ मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २० जनामध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था भने विस्तृत रूपमा खुलाइएको छैन ।

बाँकी सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । उपचारपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।