
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
मंगलबार राति लस एन्जलसको च्याट्सवर्थस्थित सान फर्नान्डो भ्यालीमा एनबीसी लस एन्जलसको ‘न्यूजचोपर ४’ नामको समाचार संकलन गर्ने हेलिकप्टर दुर्घटनामा परेको बीबीसीले जनाएको छ । उक्त हेलिकप्टरले टेलिमुन्डो ५२ का लागि पनि समाचार संकलनको काम गर्दै आएको थियो।
मंगलबार भएको एक घातक बस दुर्घटनाको समाचार संकलनका लागि हेलिकप्टर उक्त क्षेत्रमा पुगेको बताइएको छ।
लस एन्जलस अग्निनियन्त्रण विभाग (एलएएफडी)का अनुसार एन.म्यासन एभिन्युको एक ब्लकमा रहेका दुई व्यावसायिक भवनको बीचमा हेलिकप्टर खसेको थियो । हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्किङ गरिएका केही सवारीसाधनमाथि खसेपछि आगलागी भएको थियो।
दुर्घटनापछि लागेको आगो चारवटा सवारीसाधन र दुईवटा भण्डारण कन्टेनरमा फैलिएको थियो । आगो नियन्त्रणका लागि ७० भन्दा बढी अग्निनियन्त्रक घटनास्थलमा परिचालन गरिएको एलएएफडीले जनाएको छ।
आगो नियन्त्रणमा आएपछि अग्निनियन्त्रक र लस एन्जलस प्रहरीले घटनास्थलमा उद्धार तथा अनुसन्धानको काम अघि बढाएका थिए। घटनास्थलमा एउटा शवलाई पालले छोपेर राखिएको दृश्यसमेत सार्वजनिक भएको छ।
लस एन्जलस प्रहरीले हेलिकप्टरमा कति जना सवार थिए भन्नेबारे अझै स्पष्ट नभएको जनाएको छ। मृतकको पहिचान पनि सार्वजनिक गरिएको छैन।
हेलिकप्टर दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।