नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, पार्टी निर्णयविपरीत सम्मेलनको प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि १० गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ । पार्टीले सम्मेलन स्थगित गर्ने संस्थागत निर्णयविपरीत निष्कासित तथा पदमुक्त व्यक्तिहरूले बैठक र वक्तव्यबाजी गर्दै भ्रम सिर्जना गरेको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले असोज ४ गते जारी गरेको प्रेस वक्तव्यमा भदौ १० गतेदेखि आएको अविरल वर्षासँगैको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकाले राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

प्राकृतिक विपत्तिका कारण सम्मेलनमा प्रस्तुत गर्ने महत्वपूर्ण राजनीतिक प्रस्तावमाथि आवश्यक छलफल हुन नसकेको र तत्काल पार्टी पंक्तिलाई विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा सहयोगमा केन्द्रित गर्नुपर्ने अवस्था आएको भन्दै सम्मेलन स्थगित गरिएको वक्तव्यमा उल्लेख छ।

पार्टीका अनुसार सम्मेलन स्थगित गर्ने निर्णयबारे भदौ १५ गते केन्द्रीय कार्यालयबाट प्रेस विज्ञप्तिमार्फत सार्वजनिक जानकारीसमेत गराइएको थियो । तर, पार्टीबाट पदमुक्त गरिएका उदयबहादुर चलाउने ‘दीपक’ तथा पार्टी सदस्यबाट निष्कासित गुणराज लोहनीलगायतले पार्टीको निर्णयविपरीत बैठक तथा वक्तव्यबाजी गर्दै असोज ५ गतेदेखि राष्ट्रिय सम्मेलन हुने भन्दै सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरेको नेकपा (बहुमत) को आरोप छ ।

अध्यक्ष कञ्चनको वक्तव्यमा पार्टीको संस्थागत निर्णयलाई बेवास्ता गर्दै गरिएको यस्तो गतिविधिलाई संगठनात्मक रूपमा गम्भीर विषय भनिएको छ। पार्टीको निर्णयविपरीत हुने गुटगत भेला वा बैठकलाई आधिकारिक बैठक तथा सम्मेलनका रूपमा प्रचार गर्नु ‘व्यक्तिवादी अराजकता, फुटवाद, अवसरवाद र चरम पदलोलुपता’ भएको पार्टीको दाबी छ ।

पार्टीले त्यस्ता अनधिकृत भेलाबाट भएका दाबी, निर्णय तथा प्रचारबाजीलाई नेकपा (बहुमत) को आधिकारिक निर्णयका रूपमा प्रचार नगर्न पार्टी पंक्ति तथा आम जनसमुदायलाई आग्रह गरेको छ।

वक्तव्यमा पार्टीभित्र मतभेद राख्ने अधिकार सबैलाई भए पनि पार्टीका दस्तावेजमाथिको राजनीतिक तथा वैचारिक छलफलबाट भागेर गुटगत रूपमा पार्टीको निर्णय अस्वीकार गर्ने र समानान्तर संरचना निर्माण गर्ने गतिविधिलाई सामान्य वैचारिक मतभेदका रूपमा लिन नसकिने उल्लेख छ।

पार्टीले राष्ट्रिय सम्मेलनका विषयमा भ्रम सिर्जना गरेको भन्दै यसअघि कारबाहीमा परेका व्यक्तिहरूमाथि थप कारबाही गर्नसमेत सम्बन्धित कमरेड तथा आम जनतालाई आग्रह गरेको छ।

साथै नेकपा (बहुमत)ले आफ्ना ‘इमानदार तथा क्रान्तिकारी’ कार्यकर्तालाई अनधिकृत गुटबन्दीको भ्रममा नपरी पार्टीमा एकताबद्ध रहन अपिल गरेको छ ।

सम्बन्धित खबर

सिफारिस