ठगी धन्दामा कलाकार खतिवडा र सशस्त्रका पूर्व एसएसपी गुरुङको संलग्नता

दियोपोस्ट संवाददाता

काठमाडौँ । अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकहरूलाई छुटाइदिन्छु भन्दै रकम लिएपछि कलाकार नारद खतिवडा, सशस्त्र प्रहरीका पूर्व एसपी गोपाल कुमार गुरुङ लगायतका व्यक्तिहरू पक्राउ परेका छन् । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिन्छु भन्दै ७२ लाख रुपैयाँमा मोलमोलाइ गरी ९ लाख रुपैयाँसमेत लिइसकेको अवस्थामा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कलाकार नारद प्रसाद खतिवडा, सशस्त्र प्रहरीका पूर्व एसएसपी गोपाल गुरुङ र विक्रम बहादुर थापा रहेका छन् ।

विभिन्न कसुरमा ललितपुरको सानेपाबाट गत असार १२ गते ९ जना चिनिया नागरिकहरूलाई पक्राउ गरिएको थियो । पक्राउ गरी उनीहरूलाई कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा राखिएको थियो । हिरासतमा रहेकाहरूलाई छुटाइदिन्छु भनी यी व्यक्तिहरूले ७२ लाख रुपैयाँ डिल गरी ९ लाख रुपैयाँ समेत लिइसकेको पाइएको छ ।

तर हिरासतबाट छुटाइदिन्छु भन्दै रकम लिई उनीहरूलाई नछुटाई फरार भएपछि पीडितहरूको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी सोमबार टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये नारद प्रसाद खतिवडा कलाकार तथा गायक समेत हुन् । खतिवडाको ढोका खोलन फिस्टेकी आमा लगायतका कमेडी गीत चर्चित थिए । सर्लाहीको लालबन्दी नगरपालिका ५ स्थायी ठेगाना भई काठमाडौँको बुद्धनगरमा बस्दै आएका खतिवडालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको थियो ।

त्यसै गरी पक्राउ परेका गोपाल कुमार गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् । ५९ वर्षीय गुरुङको स्थायी ठेगाना नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनौल नगरपालिका ७ रहेको तथा हाल ललितपुरको नखीपोटमा बस्दै आएका थिए । उनलाई जावालाखेलबाट पक्राउ गरिएको हो ।

त्यस्तै पक्राउ परेका अर्का व्यक्ति विक्रम बहादुर थापा उदयपुर कटारी ८ सिरिसेका स्थायी बासिन्दा हुन् । उनी ललितपुर १४ नखीपोटमा बस्दै आएका थिए ।

सिफारिस