
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत अवस्थामा भेटिएकी युवतीको हत्यामा संलग्नको पहिचान खुलेको छ । युवतीको हत्यामा संलग्न रहेका रमेश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ३ गते आइतबार काठमाडौँको नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसमा युवतीको शव भेटिएको थियो । गेस्टहाउस भित्रको एक कोठा सफा गर्ने क्रममा गन्ध आएपछि पलङमा हेर्दा युवतीको शव भेटिएको थियो ।
पलङभित्र युवतीको शव भेटिएलगत्तै गेस्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै पुगेको प्रहरीले मृत युवती कैलालीको धनगढी नगरपालिका ७ की निशा सुनुवारको रूपमा पहिचान गरेको थियो । त्यसपछि सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले सुरुमा ५ जनालाई पक्राउ गरे पनि घटनामा संलग्नता नखुलेपछि ३ जनालाई छाडेर दुई व्यक्तिलार्य भने नियन्त्रणमा लिएको थियो ।
प्रहरीले दैलेख घर भएका रमेश बुढा र नेपालगञ्ज बस्ने दान बहादुर शाहीलाई पक्राउ गरी अनुसनधान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा घटनामा रमेश बुढाको संलग्नता पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित रमेश बुढाले घटनामा आफ्नो संलग्नताको स्वीकार गरेका छन् । रमेशले आफ्नो बयानमा युवतीले आफ्नो पैसा चोरेर भागेपछि उनलाई खोज्दै जाँदा भेटाएर गेस्टहाउसमा ल्याएर हत्या गरेको बयान गरेका छन् ।
यौनकर्मी महिला लिएर गेस्ट हाउसमा पुगेका थिए रमेश
रमेश बुढाले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार उनले गत असार ३२ गते निशालाई उक्त गेस्ट हाउसमा लिएर गएका थिए । तर रमेश नुहान भन्दै बाथरुममा छिरेपछि निशाले रमेशको साथमा भएको एक लाख रुपैयाँ चोरेर भागेको रमेशको आरोप छ ।
रमेशका अनुसार असार ३२ गते पोखराबाट दैलेखस्थित आफ्नो घर जान भनेर रमेश काठमाडौं आएका थिए । काठमाडौं आएर गेस्ट हाउस खोज्ने क्रममा रमेशको भेट निशासँग भएको थियो । निशाले रमेशलाई ‘जाने हो ?’ भनेर सोधेपछि रमेशले रकमको मोलतोल गरेर निशाले नै भनेको गेस्ट हाउसमा गएका थिए ।
गेस्टहाउसमा इन्ट्री गरेर कोठामा गएपछि निशाले रमेशलाई पहिले नुहाएर आउन भनेकी थिइन् । त्यसपछि रमेश नुहाउन भन्दै बाथरुममा छिरेपछि निशाले बाथरुम र कोठाको ढोकाको चुकुलसमेत लगाएर रमेशको साथमा भएको नगद चोरेर भागेको रमेशले प्रहरीलाई बताएका छन् । रमेशका अनुसार उनको झोलामा रहेको एक लाख रुपैयाँ चोरेर निशा भागेकी थिइन् ।
यता रमेशले आफ्नो घर परिवारमा फोन गरेर आफू पैसा लिएर घर आउँदै छु भनिसकेका थिए । तर आफू घर नपुग्दै पैसा चोरिएपछि विचल्लीमा परेका थिए ।
आफ्नो पैसा चोरिएपछि रमेशले काठमाडौंमै बस्ने आफ्ना साथी दान बहादुर शाहीलाई फोन गरेका थिए । आफ्नो रकम पनि चोरी भएको र चोरी गर्ने युवतीलाई खोज्ने भन्दै रमेशले भनेपछि शाहीले आफू बसिरहेको होटेलकै कोठामा रमेशलाई समेत बास दिएका थिए । शाहीले आफू बस्दै आएको कोठाको ४०४ नम्बरको कोठामा रमेशलाई पनि साथमै राखेका थिए ।
अघिल्लो दिन भागेकी निशालाई खोज्दै रमेश त्यसको भोलिपल्ट अर्थात् असार ३२ गते बसपार्क क्षेत्रमै निस्किए । खोज्ने क्रममा रमेशले असार ३२ गते निशालाई बसपार्क क्षेत्रमै फेला पारे । तर रमेशले मास्क लगाएका कारण निशाले रमेशलाई चिनिनन् । अनि अघिल्लो दिन नै झैँ निशाले रमेशलाई ‘होटेलमा जाने हो रु’ भन्दै सोधेपछि रमेश निशालाई लिएर साथी बसिरहेकै होटेलमा पुगेका थिए ।
रमेश कोठामा पुगेर मास्क खोलेपछि निशासँग अघिल्लो दिन चोरी गरेको एक लाख रुपैयाँ फिर्ता मागेका थिए । तर निशाले ‘ए तँ पो हो ?’ भन्दै कोठामै रहेको बियरको बोत्तलले रमेशलाई प्रहार गर्न खोजेकी थिइन् ।
त्यसपछि रमेशलाई बियरको बोत्तल रोकेर निशालाई समातेर आफ्नो कम्मर पेटीले निशाको घाँटीमा कसिदिएका थिए । त्यसपछि अचेत बनेकी निशामाथि रमेशले बर्बर यातना दिएको पाइएको छ । प्रहरीका अनुसार रमेशले कोठामै भएको बियरको बोत्तलले समेत निशाको संवेदनशील अंगहरुमा आक्रमण गरेको पाइएको छ ।
निशाको मृत्यु भएपछि रमेशको उनको शवलाई कोठाकै पलङभित्र लुकाएका थिए । त्यसपछि राति साथी आएपछि उक्त रात रमेश र उनका साथी दान बहादुर शाही सोही पलङमाथि सुतेका थिए । प्रहरीका अनुसार निशाको हत्याको सम्बन्धमा दानबहादुरलाई जानकारी थियो कि थिएन भन्ने अझै खुलेको छैन । त्यसको भोलिपल्ट रमेश र दान बहादुर होटेलबाट चेक आउट भएर निस्किएका थिए । त्यसपछि साउन १ गतेपनि उक्त कोठामा भाडामा गएको थियो । तर कसैले पनि घटनाबारे जानकारी पाएका थिएनन् ।
तर साउन ३ मा कोठाको सरसफाई गर्ने क्रममा गन्ध आएपछि हेर्दा पलङभित्र युवतीको शव भेटिएको थियो । त्यसपछि प्रहरीलाई खबर गरी प्रहरी घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी पवनकुमार भट्टराईका अनुसार आरोपितमध्ये दान बहादुर शाहीलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको थियो भने रमेशलाई दान बहादुरकै सूचनाका आधारमा महाराजगञ्जबाट पक्राउ गरिएको हो । मंगलबार अदालतबाट अनुसन्धानको म्याद लिई थप अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले दियोपोस्टलाई बताए ।