बैंकिङ कसुर र ठगी मुद्दापछि सेफ सन्तोष साहको ‘मिथिला थाली’ गैरीधारा शाखा बन्द

दियोपोस्ट संवाददाता

काठमाडौं । बीबीसी मास्टरसेफ द प्रोफेसनल्स-२०२० मा ‘सेकेन्ड रनरअप’ बनेपछि चर्चामा आएका सेफ सन्तोष साहले सञ्चालन गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट बन्द भएको छ। उनीमाथि लागेको बैंकिङ कसुर र ठगी मुद्दापछि काठमाडौंको गैरीधारामा संचालित मिथिला थाली बन्द भएको हो ।

साहले ललितपुरको झम्सिखेल, काठमाडौंको गौशाला, गैरीधारा तथा जनकपुरमा ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका थिए। गैरीधारा शाखा भने हाल बन्द भएको छ।

सिरहाको कर्जन्हा नगरपालिका-९ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय साहबिरुद्ध आर्जव होल्डिङ प्रालिका सञ्चालक सकुन्तला अधिकारीले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्।

यसै मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई गत जेठ ३० गते पक्राउ गरेको थियो। उनी असार २ गते रिहा भएका थिए। आर्जव होल्डिङले सञ्चालन गर्दै आएको नक्साल–गैरीधारास्थित ‘शिला रेस्टुरेन्ट’ मिथिला थाली प्रालिले २ करोड २५ लाख रुपैयाँमा खरिद गरेको थियो। खरिदका क्रममा साहले २५–२५ लाख रुपैयाँका तीन वटा चेक दिएको तर ती चेक साटिन नसकेपछि उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो ।

साह सन् २०२० मा बेलायतमा आयोजित ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’ प्रतियोगितामा ‘सेकेन्ड रनरअप’ बनेपछि चर्चामा आएका थिए। त्यसपछि उनी नेपाल फर्केर ‘मिथिला थाली’ ब्रान्डमार्फत विभिन्न स्थानमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।