नर्भिकमा विरामी पर्यटकमाथि ज्यादती : श्रीमतीमाथि बलात्कार प्रयास, श्रीमानबाट २७ लाख असुली !

दियो पोस्ट  

काठमाडौं, ९ मंसिर । राजधानीको नर्भिक अस्पतालमा विदेशी पर्यटकमाथि चरम ठगी हुने गरेको छ ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई नर्भिक अस्पतालले ‘मुर्गा’ बनाएर चर्को रकम असुली गरिरहेको भएतापनि नियामक निकाय मौन छ ।


नर्भिक अस्पताल भित्रै बलात्कार प्रयासको शिकार भएका एक विदेशी नागरिकले उनको श्रीमानलाई एक वर्षअघि नर्भिकमा भर्ना गराएका थिए ।

उनी थिए– स्पेनबाट आएका एक इजरायली नागरिक । उनै इजरायली नागरिकमाथि नर्भिकले चर्को असुली मात्रै गरेको छैन ।

त्यहाँ कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर जेपी जैसवालले इजरायली पासपोर्टधारी नागरिककी श्रीमतीमाथि अस्पतालदेखि उनी बसेको होटलसम्मै बलात्कार प्रयास गरेको आरोप छ । तर, छानबीन गर्ने निकायले कुनै छानबीन गरिरहेको छैन ।

उल्टै बलात्कार प्रयासको आरोपी डाक्टर जैसवालले आफूलाई नर्भिकले सफाई दिएको बताउँदै हिडेका छन् ।

डा. जैसवालले ती महिलामाथि उनी बसेको होटल हिमालयमा समेत पुगेर बलात्कार प्रयास गरेका थिए । सन् २०१९ अगष्ट १८ मा नर्भिक अस्पताल भर्ना भएका ती नागरिकले डा. जैसवाललाई डाक्टरको ‘आवरणमा पिचास’ भन्दै अस्पतालकै प्रशासनमा उजुरी समेत दिएका थिए । तर, अस्पताल प्रशाशनले उजुरीमाथि छानबीन गर्नुको सट्टा घटना गुपचुपमै डा. जैसवाललाई सफाई दिएको थियो ।


डा. जैसवालको बलात्कार प्रयासपछि ती महिला विरामी श्रीमानलाई छोडेर आफ्नो देश फर्किएको समेत उजुरीमा उल्लेख छ । पीडित विदेशी नागरिकका अनुसार डा. जैसवालले विरामीका श्रीमतीलाई अस्पताल भित्रैको क्याबिनमा बोलाएर पटक पटक बलात्कार प्रयास गरेको आरोप ति विदेशी नागरिकले लगाएका थिए ।

अस्पतालका मालिक बसन्त चौधरी उच्च राजनीतिक पहुँचका व्यक्ति भएका कारण घटना छानबीन हुनुको सट्टा गुपचुपमै मिलाइएको हो ।

कोरोना महामारीमा समेत विभिन्न बहानामा विरामीमाथि चरम असुली गर्दै आएको नर्भिक अस्पतालले विदेशी पर्यटकमाथि झनै चरम ठगी गर्दै आएको छ ।


बलात्कार प्रयासको शिकार भएकी ती नागरिककी श्रीमानमाथि नर्भिक अस्पतालले २७ लाख रुपैयाँ भन्दा बढी रकम असुली गरेको पाइएको छ ।


नेपाल घुम्न आउने विदेशी पर्यटक विरामी भए वा घाइते भए अन्तर्राष्ट्रिय विमा कम्पनिहरुले विमा दाबी बराबरको रकम भुक्तानी गर्दै आएको छ । ती विदेशी नागरिकले नर्भिकमा बुझाएको भुक्तानीको बील अनुसार उनले २७ लाख ८६ हजार १४ रुपैयाँ बुझाएका छन् ।


सरकारी अस्पतालमा ५ सय रुपैयाँ पर्ने टेष्टको नर्भिक अस्पतालले ८ हजार रुपैयाँसम्म असुली गरेको पाइएको छ ।