नर्भिक अस्पतालले ६ तलाको अनुमति लिएर ९ तले महल बनाउँदा बालेन्द्र शाह बेखबर !
अस्मिता खड्का
शुक्रबार, माघ २६, २०८० | १६:२७:०३
काठमाडौं । बसन्त चौधरीको स्वमित्व रहेको काठमाडौको थापाथलीमा रहेको नर्भिक अन्र्तराष्ट्रिय अस्पतालले कानुनको ठाडो उलंघन गरि भवन निर्माण गरेको पाइएको छ । नर्भिकका् आधुनिक भवन साढे ६ तलाको निर्माण अनुमती लिएर ९ (नौ) तलासम्म निर्माण गरेको पाइएको हो । उक्त अस्पतालले काठमाडौ महानगरपालिकासँग साढे ६ तलाको निर्माण अनुमती लिएर नौ तलासम्म निर्माण गरि सञ्चालन गरिरहेको पाइएको हो ।
दियोपोष्टले प्राप्त गरेको भवनको नक्सा विवरण अनुसार अस्पतालले महानगरबाट २०५८ सालमा पहिलो पटक तीन तले भवन निर्माणको लागि नक्सा पास गरेको थियो भने दोस्रो पटक २०६४ सालमा थप साढे ३ तले भवनको नक्सा पास गरेको थियो । तर अस्पतालले भने उक्त भवन निर्माणको लागि स्वीकृत भएको नक्सा विपरित साढे ६ तलाको सट्टा नौ तलासम्म निर्माण गरेको पाइएको छ ।
दियोपोष्टलाई प्राप्तको भवनको नक्सा अध्ययनपछि दियोपोष्टकर्मीको टोली नर्भिक अस्पतालको मुख्य भवनमा पुगेको थियो । अस्पताल पुगेर भवनको भुईतलादेखि छतसम्म सबै तला गन्दा नौ तलासम्म निर्माण गरिएको छ । भवनको लिफ्ट भित्र चढेर जादा भने सातौ तलासम्म मात्र उल्लेख गरिएको देखिन्छ । सोहि भवनको माथिल्लो तलामा आठौँ तला जाने बाटो भनेर पनि उल्लेख गरिएको छ । लिफ्ट भुइतलादेखि (जेरो) सात तलासम्म मात्र जान्छ । सातौ तलाबाट झरेपछि ‘आठौ तला जाने बाटो’ लेखिएको संकेत देखिन्छ ।
भवन मापदण्डअनुसार भुईतलादेखि छतसम्मको संरचना भवनको तलामा गनिन्छ । भवन नक्सा तथा निर्माणसम्बन्धी विशेष ज्ञान भएका एक इन्जिनियरका अनुसार कुनैपनि भवनको भुइतलादेखि छतसम्मको संरचना भवनको तलामा गनिन्छ । ‘कुनैपनि भवनको भुइतलादेखि छतसम्म निर्माण भएको संरचना तलामा गनिन्छ’ नर्भिकको नक्सा अध्ययन गर्दै नाम नखुलाउने शर्तमा उनी भन्छन्, ‘यो नक्साअनुसार साढे ६ तलाको भवनका लागि मात्र नक्सा स्वीकृत भएको छ ।’ उनको भनाईलाई आधार मान्ने हो भने नर्भिक अस्पतालको भवनले साढेँ छ तलाको भवन निर्माण अनुमती पाएपनि नौ तलासम्म निर्माण भएको पुष्टि हुन्छ ।
भवनको नौ तला भएको अस्पताल अधिकारी नै स्वीकार्दैनन्
नर्भिक अस्पतालले अनुमतीबिनै भवनको नौ तला कसरी निर्माण गर्यो भन्नेबारे थप प्रष्ट हुन हामीले नर्भिक अस्पतालका सिईओ अजय कुमार मिश्रलाई सोधेका थियौ । उनले भवनको नौ तला सम्म निर्माण भएको स्वीकार्न चाहेनन् । साढे छ तलाको अनुमती लिएर नौ तलासम्म अस्पताल भवन कसरी निर्माण भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘हाल जम्मा साँढे सात तलाको भवन छ । कहाँनिर कसरी चाहि नौ तला देख्नुभयो होला ? लिफ्टमा सात तलासम्म छ । लिफ्टबाट झरेपछि माथि छाना छ । जुन साढे सात तलामा काउन्ट (गनिन्छ) हुन्छ ।’
नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र
यसबारे सुरुमा छ तलाको अनुमती लिएपनि पछि गएर नर्भिकले नौ तलाकै निर्माण अनुमती लिएको कागज आफुहरुसँग रहेको सिइओ मिश्रको भनाई छ । भन्छन्, ‘हामीले नौ तलाको अनुमती लिएका छौ । हामीसँग नौ तलाकै अनुमती भएपनि नौ तला बनाएनौ ।’
नर्भिकको नौ तले भवनबारे महानगर नै बेखबर
नर्भिक अस्पतालले साढे छ तलाको भवन निर्माणका लागि मात्र नक्सा स्वीकृती दिएको विवरण काठमाडौ महानगरपालिका स्वयम्ले दियोपोष्टलाई उपलब्ध गराएको थियो । तर साढे ६ तलाको मात्र निर्माण स्वीकृती दिएको विषयमा बालेन्द्र शाह नेतृत्वको काठमाडाैँ महानगरपालिका नर्भिकले नौ तलाको भवन निर्माण गर्दासम्म भने जानकार देखिएन ।
साढे छ तलाको निर्माण अनुमती लिएको नर्भिक अस्पतालको भवन नौ तला बनेपछि तपाईहरु जानुभएको छ या छैन ? भन्ने दियोपोष्टको प्रश्नमा आफु जानकार नभएको महानगरका प्रवक्ता नविन मानन्धर बताउँछन् । ‘त्यहाँ गइएको छैन । तपाईले जानकारी गराउनु भयो अब हामी भवन महाशाखालाई जानकारी गराएर त्यहाँ पठाउँछौ’ उनी भन्छन्, ‘आवश्यक जाँच गरी कारबाहि अघि बढाउछौ । उहाँहरुको कागजपत्र हेरेर यदि नियम विपरित भवन बनाएको छ भने हाम्रो भवन निर्माण महाशाखाले नियमअनुसार कारबाहि प्रक्रिया अघि बढाउँछ । नर्भिकबारे अन्य थप अध्ययन पनि भइरहेको छ ।’
हाललाई ठ्याक्कै के कारबाहि गर्न सकिन्छ भन्नेबारे बताउन नसकिने प्रवक्ता मानन्धरको भनाई छ । ‘अहिलेलाई ठ्याक्कै के कारबाहि हुन्छ यत्तिकै भन्न सकिन्न । हाम्रो न्यायालय छ । त्यहाँ प्रमुखहरु ह्ुनुहुन्छ । विज्ञहरु हुनुहुनछ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ त्यसपछि मात्र कारबाहि अघि बढ्छ’ उनी थप्छन् ।
यसअघि क्याफेटेरिया रहेको १ रोपनी ८ आना जग्गाममा निर्माण भएको अवैध संरचना हटाउन काठमाडौ महानगरपालिकाका मेयर बालेन साह स्वयम डोजरसहित नर्भिक पुगेका थिए । उक्त मुद्धा सर्बोच्चमा पुगेकोले हाल उक्त अधिकार आफुसँग नरहेको महानगरले बताउँदै आएको थियो । यदि भवन संरचनाको मामिला भए महानगर स्वयमले जाँचबुझ तथा कारबाहि प्रक्रिया अघि बढाउने प्रवक्ताले मानन्धर बताउँछन् । ‘अस्तिको संरचना भत्काउने विषय चाहि सर्बोच्चमा भएकोले हामीमा त्यो अधिकार हुदैन । तर भवनको मापदण्डमा चाहि हाम्रो आफ्नो अधिकार रहन्छ’ उनी भन्छन्, ‘अनुसन्धानपछि हामीले आवश्यक कारबाहिको प्रक्रिया अघि बढाउछौ ।’
नक्सा सच्याउन नर्भिकलाई हुन सक्छ ७० लाख जरिवाना
२०७५ सालमा काठमाडौ महानगरपालिाकाले नक्सा पास गर्न छुटेका तथा परिमार्जन गर्न छुटाएका भवनहरुका लागि जरिवानासहित अभिलेखीकरणको मौका खुलाएको थियो । कमलादीस्थित महानगरको कार्यालय शहरी व्यवस्थापन विभागअन्र्तगत नक्शा शाखामा गएर बुझ्यौ । उक्त समयमा भवनको नक्सा तथा विवरण परिमार्जनको लागि नर्भिक अस्पतालले प्रक्रिया सुरु गरेपनि हालसम्म प्रक्रिया पुरा गरेको अभिलेख उक्त शाखामा भेटिएन ।
यति मात्र नभई नर्भिकका सिईओ मिश्रले दाबी गरेअनुसार ९ तले भवन निर्माणको अनुमती लिएको कुनैपनि प्रमाण महानगरमा दर्ता भएको पाइएन ।
महानगरले तोकेको ०७२ सालपछिको मापदण्डअनुसार कुनैपनि भवनको नक्सा प्रयोजन भुलवश या जानाजान फरक पर्न गएमा उक्त नक्सा परिमार्जन गर्दा प्रति वर्गफिट रु १५२ का दरले जरिवाना तिर्नुपर्छ । नर्भिक अस्पतालको पछिल्लो पटक २०६४ मा स्वीकृत साढे छ तले भवनको नक्साअनुसार कुल क्षेत्रफल ३७ हजार ७ सय ६६ वर्गफिट रहेको छ । जसअनुसार नर्भिकले अब नक्साको प्रयोजनको आधारमा परिमार्जन गर्दा अर्थात् नक्सा सच्याउन साढे छ तलाको मात्र करिब ५७ लाख ४० हजार जरिवाना तिर्नुपर्ने हुन्छ । यति मात्र नभई यदि नर्भिक अस्पताल महानगरको सम्पर्कमा आयो र नक्सा परिमार्जनको प्र िक्रयामा गयो भने नर्भिकले अब प्रयोजनको आधारमा नौ तलाको कुल क्षेत्रफलअनुसार नक्सा परिमार्जनको शुल्क तिर्नुपर्ने हुन्छ । जसअनुसार नर्भिकले तिर्नुपर्ने नौ तले भवनको रकम ५७ लाखबाट बढेर ७० लाख बढि हुन आउछ ।
हाल अस्पतालको भवन भित्र विभिन्न सेवाहरु सञ्चालनमा छन् । अूपतालको भुई तलामा सहायता तथा अन्य कक्षहरु सञ्चालनमा छन् भने अन्य तलामा अन्य सेवा सुविधाहरु सञ्चालनमा छन् । भवनको माथिल्लो अर्थात् नवौ तला भने सर्बसाधारणका लागि निषेध गरिएको छ ।
यसअघि दियो पोष्टले नर्भिक अस्पतालको भवन नै अवैध शीर्षकको समाचार प्रकाशित गरेको थियो । जसमा अस्पतालले आवासिय प्रयोजनको इजाजत लिएर अस्पताल सञ्चालन गरेको उल्लेख छ ।