
कास्की । अनुमति नलिई स्वरूप परिवर्तन गरिएका र ठुलो आवाज बनाएर हिँड्ने गरेका मोटरसाइकलविरुद्ध कास्की प्रहरीको अपरेसन ३६५ मा ७७३ मोटरसाइकल कारबाहीमा परेका छन् । अनधिकृतरुपमा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण समेत गराउने कार्यमा संलग्न मोटरसाइकलसहित ३६ जना व्यक्ति पनि प्रहरीको नियन्त्रणमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार साउन ७ गते राति मात्रै ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । बिहीबार राति कास्कीको नयाँबजार, महेन्द्रपुल, लेकसाइड, सिर्जना चोक, राष्ट्रबैंक चोक, तालचोक, गगनगौंडा, बागलुङ बसपार्क लगायतका स्थानबाट ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
अनधिकृत रूपमा स्वरूप परिवर्तन गरिएका, ध्वनि प्रदूषण बढाएका र चोरी गरी चलाइएका मोटरसाइकलविरुद्ध कास्की प्रहरीले निरन्तर अपरेसन ३६५ सञ्चालन गरिरहेको छ ।
प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेदेखि हालसम्म ७७३ थान मोटरसाइकल नियन्त्रणमा लिइएको जनाएको छ । साथै मोटरसाइकल नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहार गर्ने, चोरीका मोटरसाइकल प्रयोग गर्ने लगायतका कार्यमा संलग्न ५६ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
कास्कीलाई शान्त र व्यवस्थित बनाउन अनधिकृतरुपमा स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण बढाउने कार्यमा संलग्न व्यक्ति तथा सवारीमाथि निरन्तर कारबाही हुने समेत कास्की प्रहरीले जनाएको छ ।