सिल्भर सिक्स लगायतका नक्कली आयुर्वेदिक औषधी बनाउनेहरू पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स्ड आयल, एलोभेरा स्किल सेरम लगायतका नक्कली आयुर्वेदिक औषधी उत्पादन तथा विक्री वितरण गर्नेहरू पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले नक्कली आयुर्वेदिक औषधी बनाउने ५ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीका अनुसार नक्कली आयुर्वेदिक औषधी उत्पादन र विक्री गर्ने गिरोहका ५ सदस्यलाई पक्राउ गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको छ ।

पक्राउ पर्नेहरूमा प्युठानको झिम्रुक गाउँपालिका ७ स्थायी ठेगाना भई काठमाडौँको कीर्तिपुर नगरपालिका १, अमृतनगर बस्ने २६ वर्षीय राम प्रसाद पोख्रेल, ताप्लेजुङको श्रीजंगा गाउँपालिका ७ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी ५ टिकाथली बस्ने २९ वर्षीय आइतमान ताम्लिङ लिम्बु, सोही स्थानका ३३ वर्षीय उज्ज्वल लिम्बु, ललितपुरको ललितपुर महानगरपालिका ७ का ४२ वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका २ स्थायी ठेगाना भई टोखामा बस्दै आएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् ।

सक्कली औषधीकै नाम, लेबल, आकार, प्रकार प्रयोग गरी उनीहरूले अनधिकृत रूपमा बिना परीक्षण नक्कली आयुर्वेदिक औषधीहरू बनाएका थिए । उनीहरूले अहिले चर्चामा रहेको सिल्भर सिक्स वार्म थेरापी आयलदेखि, एलोभेरा फेस सेरम र गोल्डेन त्रिपल एक्स कमाण्डो पावर नामक भियाग्रासमेत नक्कली बनाएर विक्री गरेको पाइएको हो ।

प्रहरीले ठुलो मात्रामा सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स आयल, पायल्स मुक्ति, हिमाल ग्यास्ट्रिक निर्मल चिया, मसला चिया, स्मार्ट तुल्सी हर्बल टुथपेस्ट, आदिवासी हर्बल हेयर आयल लगायतका नक्कली उत्पादनहरूसमेत बरामद गरेको छ ।

सम्बन्धित खबर