काठमाडौं महानगर वडा नं. ३० का लेखा अधिकृत घुस रकमसहित रंगेहात पक्राउ

दियोपोस्ट संवाददाता

 काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्धव भट्टराई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई रु. २१ हजार घुस रकमसहित आज वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिस मिलाइदिने बहानामा उनले सेवाग्राहीलाई विभिन्न दुःख-हैरानी दिई घुस/रिसवत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो। सोही सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।