काठमाडौं, १ चैत्र । राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालमा एक विदेशी नागरिकमाथि डाक्टरले यौनजन्य हिंसा गरेको खुलाशा भएको छ ।
नर्भिक अस्पताल मुटोरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डा. जेपी जैसवालले स्पेनबाट उपचारका लागि नेपाल आएका एक नागरिकको श्रीमतीलाई यौनजन्य हिंसा गरेको पाइएको हो ।
नेपालका एक मात्रै डलर अर्बपतिको रुपमा चर्चित बिनोद चौधरीका भाई बसन्त चौधरीद्वारा सञ्चालित नर्भिक अस्पतालमा उपचार गर्न पुगेका स्पेनबाट आएका इजरायली नागरिकले आफ्नी श्रीमतीमाथि डा. जैसवालले पटक पटक बलात्कार प्रयास गरेको भन्दै नर्भिक अस्पतालमै उजुरी समेत गरेको पाइएको छ ।
अस्पताल स्रोतका अनुसार डा. जैसवालले ती महिलामाथि उनी बसेको होटल हिमालयमा समेत पुगेर बलात्कार प्रयास गरेका थिए । सन् २०१९ अगष्ट १८ मा नर्भिक अस्पताल भर्ना भएका ती नागरिकले डा. जैसवाललाई डाक्टरको ‘आवरणमा पिचास’ भन्दै अस्पतालकै प्रशासनमा उजुरी समेत दिएका थिए । तर, अस्पताल प्रशाशनले उजुरीमाथि छानबीन गर्नुको सट्टा घटना गुपचुपमै लुकाएको पाइएको छ ।
उनी अस्पताल रहँदा हिमालय होटलमा बसेकी उनकी पत्निमाथि डा. जैसवलालले पटक पटक बलात्कार प्रयास गरेको उनको आरोप छ । डा. जैसवालको बलात्कार प्रयासपछि ती महिला विरामी श्रीमानलाई छोडेर आफ्नो देश फर्किएको समेत उजुरीमा उल्लेख छ । पीडित विदेशी नागरिकका अनुसार डा. जेसवालले विरामीका श्रीमतीलाई अस्पताल भित्रैको क्याबिनमा बोलाएर पटक पटक बलात्कार प्रयास गरेको समेत पाइएको छ ।
सन् २०१९ सेप्टेम्बर १६ मा ती विरामीको डिस्चार्ज भएको पाइएको छ । यद्धपी उनले आफ्नो देश फर्किएपछि आफ्नी पत्नीमाथि भएको घटनाको विवरण थाहा पाएका थिए । थाहा पाए लगत्तै डा. जैसवालबारे पीडित विदेशी नागरिकले अस्पतालकै इमेल ठेगानामा घटनाबारे जानकारी गराएका थिए । अस्पतालका मालिक बसन्त चौधरी उच्च राजनीतिक पहुँचका व्यक्ति भएका कारण घटना छानबीन हुनुको सट्टा मिलेमतोमै मिलाइएको हो ।
नर्भिक अस्पतालको टेलिफोन नम्बरमा सम्पर्क गर्दा ती विरामी अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको फोन उठाउने कर्मचारीले स्विकार गरिन् ।
मलाई नसोध्नुस् : कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह
घटनाका विषयमा नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहलाई सम्पर्क गर्दा उनी बोल्न समेत चाहेनन् । नेपाल प्रहरीबाट अवकाश प्राप्त पूर्व एआइजी समेत रहेका सिंहले घटनाबारे सोध्ने वित्तिकै पन्छिन थाले ।
‘मलाई थाहा छैन । म कहाँ त्यस्तो विषयमा बोल्ने मान्छे हो । भोली अफिस आउनुस्,’ सिंहले निकै रुखो स्वरमा भने ।
मलाई अस्पतालले सफाई दिइसक्यो : डा. जैसवाल
बलात्कार प्रयासको आरोप लागेका डा. जैसवाललाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफूलाई अस्पतालले सफाई दिइसकेको बताए ।
शुरुमा विरामीको नाम लिँदा उनले आफूलाई थाहा नभएको र आफ्नो असिस्टेन्टले हेरेको हुन सक्ने बताएका थिए । दियोपोस्टले ‘तपाईंले उहाँकी श्रीमतीमाथि बलात्कार प्रयास गर्नु भएको घटना के हो’ भन्ने प्रश्न गरेपछि भने आफूलाई थाहा नभएको भनेको विषयमा उनले जवाफ दिए ।
‘त्यो सबै नहुने कुरा भयो । मलाई सफाई पनि नर्भिकले दिइसकेको छ । त्यस्तो पनि हुन्छ त । त्यो आफै पनि ड्रगको काण्डमा परेको मान्छे हो । नक्कली पैसा डलर काण्डमा पनि परेको थियो । त्यसलाई कारागारबाट लिएर आएको हो,’ डा. जैसवालले भने,‘नर्भिकमा राखेको हो । त्यसलाई टाउको दुखेको भनेपछि न्यरोलोजिष्टले हेरेको थियो । त्यो पनि आफै पनि ब्रेनबाट हल्लिएको विरामी हो ।’
डा. जैसवालले ती विरामीसँग आउने महिलालाई समेत भेटेको स्वीकार भने गरे । ‘आफू ७० वर्षको थियो । छोरी जस्ती देखिने लिएर आएको थियो । मेरो वाइफ हो भन्थ्यो,’ डा. जैसवालले भने,‘तर उसको मानसिक अवस्था ठिक थिएन ।’
ती विदेशी नागरिकमाथि नर्भिक अस्पतालले लाखौँ रुपैयाँ अशुलेको छ ।