काठमाडौं, २८ पुस । नेपालका एक मात्रै डलर अर्बपति व्यापारीको सुचीमा रहेका नेपाली कांग्रेसका सांसद बिनोद चौधरीको परिवार नै व्यापारमा समलग्न छ । उनको परिवारले सम्हालेका व्यापार पटक पटक विवाद र चर्चामा रहने गर्छ । थापाथली स्थित भिभिआइपी व्यक्तिले उपचार गराउने नर्भिक अस्पताल पनि चौधरी समुहकै लगानीमा सञ्चालित छ । पूर्व राजा ज्ञानेन्द्र शाहदेखि भिभिआइपी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले उपचार गराउने नर्भिक अस्पताल पनि पदयात्री पर्यटक उद्दारका क्रममा हुने ठगीधन्दामा मछिएको छ ।
बिनोद चौधरीका भाई तथा आफूलाई विश्व काव्य यात्री बताउँदै आएका बसन्त चौधरीले सम्हालेको उक्त अस्पतालले नेपाल घुम्न आउने पदयात्री पर्यटकमाथि लुट मच्चाउने गरेको छ ।
पदयात्री पर्यटकलाई हिमाल अरोहणको क्रममा लाग्ने सामान्य हाई अल्टिच्युडको समस्यालाई माफिया व्यापारीहरुले हेलिकोप्टर मार्फत उद्दार गरी अवैध धन्दा चलाउँदै आएका छन् ।
हेलिकोप्टरबाट उद्दार गरिएका विरामी राजधानीका महँगा अस्पतालमा पुग्ने गरेका छन् ।
उनीहरुलाई अस्पताल पुगेपछि अस्पताल प्रशासनले पासपोर्ट समेत जफत गरेर राख्ने गरेको खुलेको थियो । गत वर्ष पर्यटन मन्त्रालयले बनाएको उच्च स्तरिय छानबीन कार्यदलले केही हेलिकोप्टर कम्पनि, ट्रेकिङ कम्पनि र ठूला अस्पताललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले अस्पतालहरुको ठगीधन्दा बारे छानबीन गर्न मन्त्रालयको उपचारात्मक सेवा महासाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठित समितिले छानबीन गरेको थियो ।
समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि समलग्न थिए ।
समितिले राजधानीका ठूला ६ अस्पतालको मुल्य सुची मागेको थियो । तर, नर्भिकले भने शक्तिको आडमा मुल्य सुचि समेत उपलब्ध गराएन । राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालले पदयात्राका क्रममा विरामी भएका पर्यटकलाई विभिन्न शिर्षक बनाएर चर्को शुल्क असुल्दै आएको छ । समितिले गरेको छानबीनको निष्कर्शमा ‘नर्भिक अस्पतालले बिरामीबाट उठाउनुपर्ने भन्दा अन्यथा शीर्षक राखेर पैसा असुलेको ‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’ जस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा उठाइएको छ । ‘बिरामीबाट साढे ६ लाखसम्म उठाइएको शीर्षकको मूल्यसूची माग्दा अध्ययन टोलीलाई समेत अस्पतालले उपलब्ध गराउन सकेन’ भन्ने उल्लेख छ ।
नर्भिक अस्पतालमा विदेशी विरामीको उपचार गर्ने जिम्मा डा. जेपी जैसवालले लिएका छन् । जैसवालको नेतृत्वमा नर्भिकमा व्यापक मात्रामा लुट मच्चिने गरेको बताइएको छ । त्यति मात्रै होइन अस्पताल भित्रै एक विदेशी महिलामािथ यौन हिंसा भएको आरोप समेत नर्भिक अस्पतालमाथि छ ।