
कपिलवस्तु- कपिलवस्तु नगरपालिका–५ स्थित बभनीमा स्थानीय कृषक राजाराम यादवको खेतमा रहेको पोखरीमा पुरातात्त्विक महत्त्वका २,३१४ वटा तामाका सिक्का र तामाकै करुवा फेला परेका छन्। कृषक यादवले खेतमा काम गर्ने क्रममा करिब २३ सेन्टिमिटर उचाइ भएको तामाको करुवा भेटिएको हो ।
स्थानीयवासीले खबर गरेपछि ४ गते दिउँसो प्रहरी, जनप्रतिनिधि र पुरातत्त्व विभागबाट कपिलवस्तु सङ्ग्रहालयको टोली घटनास्थल पुगेर ती पुरातात्त्विक वस्तु संकलन गरेको थियो। उक्त संकलनमा पुरातत्वविद् सुभेच्छा पोख्रेलसहितको टोली खटिएको थियो।
जिल्ला प्रहरी, जिल्ला प्रशासनका प्रतिनिधि, वडा अध्यक्ष र सङ्ग्रहालयको टोलीले ५ गते उक्त करुवा खोलेका थिए। करुवाबाट २३१४ तामाका सिक्का निकालिएको थियो । भेटिएका सिक्काहरूको तौल समग्रमा ७ देखि ८ किलोग्राम रहेको छ। करिब डेढ सेमीका उक्त सिक्काहरूमा अरबी/फारसी लिपिमा ‘मोहम्मद’ लेखिएको छ।

कपिलवस्तु सङ्ग्रहालयकी प्रमुख शान्ति शेर्माका अनुसार भेटिएका पुरातात्त्विक वस्तु करिब १२ औँ वा १३ औँ शताब्दी (मध्यकाल) को हुनसक्ने अनुमान गरिएको छ।

अन्य क्षेत्रहरूमा पनि यस्ता सिक्काहरू फेला पर्ने गरेको भए तापनि एकै स्थानमा यति ठूलो सङ्ख्यामा भेटिनु दुर्लभ घटना हो। यसअघि तिलौराकोट उत्खननका क्रममा प्राचीन चाँदीका ४९७ वटा सिक्काहरू भेटिएका थिए।
यस खोजले कपिलवस्तु क्षेत्र ईशापूर्वकालदेखि मध्यकाल हुँदै हालसम्मै एक समृद्ध मानव सभ्यताका रूपमा जीवन्त रहेको पुष्टि गर्ने र यस क्षेत्रको आर्थिक तथा राजनीतिक इतिहास अध्ययनका नयाँ आयामहरू खोल्ने विश्वास लिइएको छ। भेटिएका तामाको करुवासहितका मुद्राहरू हाल कपिलवस्तु सङ्ग्रहालयमा राखिएको छ।
पोख्रेलका अनुसार, वस्तुहरूको वैज्ञानिक पद्धतिबाट संरक्षण र विस्तृत अध्ययन पूरा भएपछि मात्र यिनलाई सङ्ग्रहालयको प्रदर्शनी कक्षमा सर्वसाधारणको अवलोकनका लागि प्रदर्शनमा राखिने छ।

तिलौराकोट-कपिलवस्तुको ऐतिहासिक महत्त्व
किल्ला-पर्खालले घेरिएको तिलौराकोट शाक्यमुनि बुद्धले जीवनको प्रारम्भिक २९ वर्ष बिताएको शाक्यहरूको राजधानी प्राचीन कपिलवस्तु नगर भनी पहिचान भइसकेको छ। भविष्यका बुद्ध र शाक्य राजाका छोरा राजकुमार सिद्धार्थ गौतमले सुविधायुक्त जीवन बिताएका थिए। उनका आमा र बुबाले उनलाई रोग, वेदना र वृद्धबाट टाढा राख्ने कोसिस गरेका थिए। दरबारभन्दा बाहिर यात्रा गरिरहेको बेला उनको वृद्ध, रोगी, मरेको मानिस र योगीसँग जम्काभेट भएको थियो। सिद्धार्थले आध्यात्मिक ज्ञानको खोजी र जन्म-मरणको चक्रबाट मुक्त हुनका लागि परिवार र राज्यको त्याग गर्ने निर्णय गरेका थिए।
कपिलवस्तु राज्यको राजधानी नगरको पूर्वी ढोकाबाट गृह त्याग गरेपछि उनले शिरको कपाल मुण्डन गरे, साधुको भेष धारण गरेर गृह त्यागको संकेत स्वरूप आफ्नो घोडा कन्थक र राजसी पोसाक परिवारलाई फिर्ता पठाइदिए। प्रथम सहस्राब्दीतिर यो ठाउँको परित्याग भएपछि प्राचीन कपिलवस्तु र बुद्धको जीवनसँग जोडिएका धेरै स्थलहरूको अवस्थिति विस्तारै मानिसहरूको स्मृतिबाट हराउँदै गयो। यो ठाउँको पुनः प्राप्ति सन् १८९९ मा भारतीय पुरातत्वविद् पि.सि. मुखर्जीले गरेका थिए। मुखर्जीलाई कपिलवस्तुको पहिचान गर्न सातौँ शताब्दीतिरका चिनियाँ यात्री युवानचाङ्गको यात्रा विवरणले सहयोग पुर्याएको थियो।

यस सङ्ग्रहालयमा ईशापूर्व तेस्रो शताब्दी निर्धारण गरिएका चाँदीका पञ्चमार्क मुद्राहरू, यहाँबाट प्राप्त पुराना मुद्राहरू हुन्। ईशाको प्रारम्भिक शताब्दीको कुषाणकालीन तामाका मुद्राहरू प्राप्त भएका छन्, जसमध्ये यहाँ राखिएको मुद्राको अग्र भागमा राजाले पलेटी कसेर बसेको देखिन्छ भने पृष्ठ भागमा ईशाको तेस्रो शताब्दीमा अयोध्याका शासकले टकमारी गरेको मयुर र ताडको वृक्ष अङ्कित मुद्रा पनि यहीँ भेटिएको हो, जुन विरलै पाइन्छ।
यो सङ्ग्रहालय शाक्यमुनि गौतम बुद्धको गृहनगरबाट १ किमीभन्दा कम दूरीमा पश्चिम दिशामा अवस्थित छ। विगत एक सय २० वर्षदेखि विभिन्न पुरातत्वविद्हरूले प्राचीन नगरको अन्वेषणका क्रममा प्राप्त गरेका धेरै वस्तुहरू यो सङ्ग्रहालयमा सङ्कलन गरिएको छ।