२ राउण्ड हवाई फायर गरी ३० किलो गाँजासहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी रहेका छन्।

गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाउँपालिका-१ मलाही टोलमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले नन्दलाल सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा भुटी भन्ने भुरी चौधरीसमेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई पनि पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस