
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८ सय ७१ रुपैयाँ मौज्दात रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै कोषमा रकम थपिँदै गएको हो।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । कार्यालयका अनुसार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९ सय ४७ रुपैयाँ जम्मा रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १ सय २१ अमेरिकी डलर जम्मा भएको छ।
रसुवासहित बाढी प्रभावित क्षेत्रका लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेकाले कोषमा जम्मा हुने रकम थपिँदै गएको कार्यालयले जनाएको छ।