
काठमाडौँ । त्रिपुरेश्वरस्थित बस स्टप अगाडि सडकमा गुडिरहेको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । घटनालगत्तै आगलागी नियन्त्रणमा लिन तथा घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ । बसभित्रै रहेका बेला आगलागी भएपछि उनी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रहरीका अनुसार चालक बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । बसमा आगलागी हुनुको यकिन कारण खुलिसकेको छैन।
प्रारम्भिक अनुसन्धानका क्रममा ट्राफिक प्रहरीसँग भएको विवादपछि चालक आक्रोशित भएर बसमा आगो लगाएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि, प्राविधिक खराबीलगायत अन्य कारणबाट आगलागी भएको हुनसक्ने सम्भावनासमेत रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।