धर्मेश्वर अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि मृतकका आफन्तद्वारा प्रदर्शन

दियोपोस्ट संवाददाता

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका-१२, सिमरास्थित धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५, बकधुवाका अमित चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीको उपचारका क्रममा आइतबार राति विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

निर्मलाको मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी चिकित्सकमाथि कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सोमबार बिहानदेखि आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमा प्रदर्शन र नाराबाजी गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको हो ।

निर्मलाले असोज २ गते धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन् । शल्यक्रियापछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो ।

छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था थप गम्भीर भएपछि निर्मलालाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको प्रनाउ घिमिरेले बताए ।

सम्भावित अप्रिय घटना रोक्न अस्पताल परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको प्रनाउ घिमिरेले जानकारी दिए । नवजात शिशुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस