पूर्वएआइजीको आडमा नर्भिक अस्पतालका कर्मचारीमाथि ज्यादती : स्टाफ नर्सको तलब ९ हजार !

दियो पोस्ट  

काठमाडौं, ४ कार्तिक । प्रहरी सेवाबाट अवकाश पाएका उच्च तहका केही प्रहरी अधिकारीहरु समाज सेवामा छन् । प्रहरी नायब महानिरिक्षक डिआइजीबाट अवकाश पाएका डिआइजी रमेश खरेल सुशासनको आन्दोलनमा होमिएका छन् ।

पूर्व एसएसपी योगेश्वर रोमखामी जातिय समताको लागि अध्ययन चिन्तनमा छन् । तर, केही उच्च अधिकारी भने अवकासपछि पनि प्रहरी शक्तिको दुरुपयोग गर्दै आफ्नो संगठनलाई नै बद्नाम बनाइरहेका छन् । केहीमहिना अघि नेपाल प्रहरीका दुई जना पूर्व डिआइजीको समलग्नतामा नेटवर्किङको धन्दा चल्न थालेको बाहिर आएको थियो । केही पूर्व एआइजीहरु नेपालमा ठूला घरानिया व्यापारिको पहरेदार बनेका छन् ।


नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी)बाट अवकास प्राप्त व्यक्ति हुन्–राजेन्द्र बहादुर सिंह । उनी हाल राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालको कार्यकारी निर्देशक छन् । सामान्यतया कम्पनिको नियम अनुसार ५÷५ वर्षमा कम्पनिको प्रमुख कार्यकारी निर्देशक परिवर्तन हुन्छन् । तर, नर्भिक अस्पतालमा ९ वर्षदेखि एकै व्यक्ति कार्यकारी निर्देशक छन्– सिंह ।
६५ वर्ष पुगेका कर्मचारीलाई नर्भिक अस्पतालले उमेरहद देखाउँदै भटाभट निकालेको छ ।

सरसफाई मजदुरदेखि मार्केटिङ हुँदै मिडिया परिचालन गर्ने एक व्यक्तिलाई नै ६५ वर्षे उमेर हद देखाउँदै कोरोना महामारीकैबीचमा नर्भिकले जागिरबाट निकालेको एक कर्मचारीको दुखेसो छ । ती कर्मचारलाई उमेरहद देखाउँदै निकाल्ने व्यक्ति उनै पूर्व एआइजी सिंह हुन् । उनी स्वयंम भने ६५ वर्ष कटिसकेका छन् ।

‘हामीलाई चाहीँ उमेरहद पार भो भनेर निकालियो । तर, हामीलाई कोरोना महामारीमा जबरजस्ती निकाल्ने कार्यकारी निर्देशक सर भने ६५ वर्ष पार भइसक्नु भयो । उहाँ एउटै पदमा ९ वर्षदेखि हुनुहुन्छ,’ ती कर्मचारीको गुनासो छ,‘उहाँलाई चाहीँ किन उमेर हद लाग्दैन । कि नियम हामी गरिखाने साना मजदुरलाई मात्रै हो ।’


सिंहले नर्भिकको कार्यकारी निर्देशकको रुपमा भन्दा पनि आफूलाई नेपाल प्रहरीको पूर्व एआइजीको चिनाउने गरेका छन् । नर्भिकका मालिक बसन्त चौधरीले उनी मार्फत कर्मचारीमाथि ज्यादती गरेको आरोप छ । सिंहले कर्मचारीहरुलाई कोरोना महामारीको बीचमा जबरजस्ती निकाल्नेदेखि स्टाफ नर्सहरुलाई न्युनतम तलबमा काम लगाइरहेका छन् । नर्भिकका स्टाफ नर्सहरुले मासिक ९ हजार ४ सय २२ रुपैयाँ तलब पाउँदै आएका छन् । ‘यहाँ त बोल्न पनि हुन्न । स्टाफ नर्सले यहाँ काम गर्नुको एउटै कारण भने उनीहरु विदेश जान सजिलो होस् र यहाँको अनुभवलाई विशेष मान्यता दिइन्छ भन्ने मात्रै हो,’ प्रशासनका एक कर्मचारी भन्छन्,‘तलब थोरै भयो या केही गुनासो गरियो भने सिंह सरले जागिरबाटै निकालिदिनुहुन्छ ।’


कर्मचारीको हकहितका लागि काम गर्ने मजदुर युनियनमा समेत सिंहकै मान्छे छन् । उनी प्रहरी सेवामा कार्यरत रहँदा उनको सुरक्षा गार्ड रहेका व्यक्तिलाई नै उनले युनियनको प्रमुख बनाइदिएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरुले आफूमाथि भएको ज्यादतीको विषयमा गुनासो गर्दा पनि सुनुवाई नहुने गरेको पाइएको छ ।

केहीदिनअघि त्यहाँको युनियनले आफ्नो गुनासो नसुनेको भन्दै जबरजस्ती निकालिएका १० जना सरसफाई मजदुरहरुको समुह नै नेकपा निकट मदजुर संगठनको हेडक्वार्टर पेरिसडाँडा नै पुगेर गुहार माग्नु परेको थियो । ‘हामीलाई कामबाट निकालेको ४ महिनासम्म पनि युनियनले कुनै पहल गरेन । हामी त्यहाँ पुग्दा आजहुन्छ भोली हुन्छ भन्दै झुलाउने काम मात्रै भयो,’ एक सरसफाई मजदुरले भने,‘यहाँको युनियन नेता नै व्यवस्थापनको चाकडीमा लिप्त हुनुहुन्छ । यतिसम्मकी नर्भिककै सरसफाई कार्यमा समलग्न हुँदा खुट्टा भाँचिएको कर्मचारीलाई जागिरबाट निकाल्दा समेत यहाँको युनियन चुप बसेको छ ।’


९ वर्षदेखि नर्भिकमा जागिर खाइरहेका सिंह कार्यालय भित्रै क्वार्टरमा जुवातास खेल्ने गरेको समेत अरोप छ । ‘उहाँहरु क्वार्टरभित्रै जुवातास खेल्नुहुन्छ । अनि त्यसरी नै महिनाको ८ लाख भन्दा बढी तलब लिनुहुन्छ । उहाँले नर्भिकबाट मसिक ३ लाख रुपैयाँ र बिएलसीबाट मासिक ५ लाख रुपैयाँ लिनुहुन्छ,’ उनकै विभागका एक कर्मचारीको भनाई छ,‘हामीले भने दिनरात काम गर्दा पनि कोरोना महामारीमा उल्टै २५ प्रतिशत तलब काटिएको छ ।’


प्रहरी शक्तिको दुरुपयोग !


नर्भिक अस्पताल भित्र चिकित्सकको लापरबाहीका पटक पटक विरामीको मृत्यु हुने गरेको छ । तर, त्यस्तो अवस्थामा अस्पतालको सुरक्षामा सबैभन्दा धरै प्रहरी परिचालन हुने गरेका छन् । सिंहले आफु प्रहरीको पूर्व एआइजी भएको भन्दै प्रहरी शक्तिको दुरुपयोग गर्ने गरेको आरोप छ । अस्पताल भित्र भएका केही बलात्कार प्रयासका घटनामा समेत सिंहकै समलग्नामा प्रहरी प्रशासन मिलाउने र घटना लुकाउने काम गरिएको छ । केही महिनाअघि नर्भिकका डाक्टरले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त घटनामा समलग्न डाक्टरलाई भारत भगाइएको खुलेको छ । त्यति मात्रै होइन नर्भिककै बरिष्ठ डाक्टर जेपी जैसवालले अस्पताल भित्रै र होटल हिमालय भित्र एक विदेशी नागरिकलाई बलात्कार प्रयास गरेको घटना पनि गुपचुप पारिएको छ । दियोपोस्टसँगको कुराकानीमा ती डाक्टर जैसवालले आफूलाई उक्त घटनामा नर्भिक अस्पतालले नै सफाई दिइसकेको बताएका थिए । बलात्कार प्रयास जस्तो जघन्य अपराधको घटनामा प्रहरीले अनुसन्धान गरि अदालतले टुंग्याउनुपर्ने विषयमा नर्भिक अस्पतालले कसरी सफाई दियो वा दिन मिल्छ ?
जैसवालको घटना मात्रै होइन सिंहकै दबावमा एक बलात्कार अभियुक्त कर्मचारीलाई नेपालबाटै भगाइएको एक कर्मचारीको भनाई छ ।

नर्भिक अस्पतालमा अपरेटिङ डाइरेक्टरको रुपमा कार्यरत रहेका पंकज मकिजामाथि कार्यालय भित्रै बलात्कारको अभियोग लागेको थियो । नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी रोक्न भन्दै सरकारले लकडाउन घोषणा गर्नु केही अघि नै उनलाई नेपालबाट भारत भगाइएको बताइन्छ ।

‘भित्र भित्रै यस्ता घटना लुकाइन्छ । मिलेमतोमा कसैलाई उन्मुक्ति दिने र सोझा सिधालाई कारबाही गर्ने गरिएको छ,’ प्रशासनका एक कर्मचारी भन्छन्,‘नर्भिक अस्पताल सिंहकै कारण बदनाम बन्दै गएको छ ।


सिंह नर्भिक अस्पतालका मालिक बसन्त चौधरीपछिका बरियतामा छन् । उनले नै हस्पिटलको सबै व्यवस्थापन हेर्दै आएका छन् । ‘पुलिसका पावर देखेपछि कर्मचारी र बाहिरि मान्छे पनि डराउँछ भनेर उहाँलाई ल्याइएको हो,’ एक सिनियर कर्मचारी भन्छन्, ‘उहाँलाई डरका लागि नै यहाँ ल्याइएको हो ।’

सिंहले ६५ वर्ष पुगेको भन्दै मैनाली थरका एक कर्मचारीलाई समेत जबरजस्ती कामबाट निकालेको स्रोतले बतायो । २० वर्ष कार्यअवधि सकिएको र ६५ वर्ष उमेर पुगेको भन्दै कक्षपति थरका अर्का व्यक्तिलाई पनि जबरजस्ती निकालेको छ । यता सयौँका संख्यामा नर्सहरु निकालिएका छन् ।


उनले गिरि र अधिकारी थरका उनका पूर्व सुरक्षा गार्डलाई घुमुवाको रुपमा जागिर दिएका छन् । ती दुई जना दिनभर अस्पतालका विभिन्न विभागमा घुम्ने र आफू अनुनुल नभएका कर्मचारी विरुद्ध सिंहलाई कुरा लगाउने र निकाल्ने गरेको स्रोत बताउँछ । पुराना कर्मचारीलाई तलब धेरै दिन पर्ने हुनाले धमाधम निकालेर थोरै तलबमा नयाँ कर्मचारी नियुक्त गरेको समेत पाइएको छ ।

सिंहकै योजनामा पुराना नर्सलाई निकालेर १ सय भन्दा बढी नयाँ स्टाफ नर्स भर्ति गरेको स्रोतले जनाएको छ । उनीहरुलाई थोरै तलबमा करार सम्झौता गरिएको दाबी छ । यी सबै विषयमा प्रतिक्रिया लिनका लागि नर्भिक अस्पतालका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।