श्रीकेश तेल उत्पादन नै ‘अबैध’ : यसअघि नै ठगीमा मुछिएका थिए संचालक टिकाराम !

करोडौँ भ्याट छली

खुमा वली  

काठमाडौं । कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनका लागि निकै चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण हुँदै आएको खुलेको छ । पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिलगायत प्रधानमन्त्रीसम्मकाे हातमा देखिने यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको तथ्य भेटिएको हो । उत्पादक सप्तऋषी आयुर्वेद नामक आयुर्वेद अस्पतालले यो तेल उत्पादन र विक्री वितरण गर्दै आएको छ । प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित नहुँदै करोडौँको विक्री भइसकेको छ । तर, सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन् ।

आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा. रुपेन्द्र पुरीले उनले यो तेलबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । “औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्छ तर सप्तऋशी आयूर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन,” उनले भने,“ हामीले यहाँ दर्ता गरिसकेपछि उक्त संस्थाले के कस्तो औषधि उत्पादन गर्ने हो भनेर यसको चेकजाँच गर्ने हो । तर यो संस्था विभागमा दर्ता नै नभएका कारण हामीलाई यस विषयमा जानकारी भएन ।”

के भन्छ श्रीकेश उत्पादन गर्दै आएको शप्तऋशी आयुर्वेद संस्था ?

पछिल्लो समय श्रीकेश तेल एकदमै चर्चामा छ । यसको आधिकारिक विवरण भने अहिलेसम्म पत्ता लागेको छैन । हामीले यो तेल र यसको उत्पादन गर्दै आएको सप्तऋशी आयुर्वेदसंस्थासँग यसबारे जानकारी लिन खोज्दा संस्था नै पन्छिएको छ ।

उक्त संस्थाले सामाजिक संञ्जालमा राखिएका नम्बरहरुमा सम्पर्क गर्दा उक्त संस्थाबारे त्यहाँका अधिकारीहरु बोल्न चाहेनन् । “हामी पनि आधिकारिक बिक्रेता हो हेर्नुस् । टंकजी (गायक टंक बुढाथोकी), टिकाजी (टंक बुढाथोकीका दाई टिकाराम बुढाथोकी) उहाँहरु हो आधिकारिक चाहीँ म अहिले भ्याली बाहिर छु । पछि भेटेरै कुरा गरौंला फोनबाट भन्दा पनि । हामी आधिकारिक हो । टिकाजी प्रबन्ध निर्देशक हो उहाँलाई नै फोन गर्दा हुन्छ ।” उनले अल्मलिदै भने, “अब त्यस्तो न्युजमा त खै अहिले के गर्नु यसो भेटेर गफ गरौला नि हुन्न ?” प्रबन्ध निर्देशकको नम्बर माग्दा उनले भने,“टिका सरले नम्बर नदिनु भन्नुहन्छ । अर्काे नबराज जीले हेर्नुहुन्छ । उहाँलाई फोन गर्नस् उहाँको नम्बर दिन्छु ।”

तर उनले दिएको नम्बरमा फोन गर्दा आफू नबराज नभएको प्रतिक्रिया आयो । उनले नबराजको भन्दै अर्काे नम्बर दिन्छन् । तर उनले दिएको नम्बरमा पटक पटक सम्पर्क गर्दा आगमन कल निषेध गरिएको बताउँछ ।

औषधी व्यवस्था विभागका एक अधिकारी उक्त तेल उत्पादक कम्पनी औषधि व्यवस्था विभागमा दर्ता नभएको स्रोतले जनाएको छ । काठमाडौंको मध्य बानेश्वरमा रहेको सप्तऋषी आयुर्वेद मूलत आयुर्वेद अस्पताल हो । आयुर्वेद अस्पतालले ओपीडि, ल्याब संचालन गरिरहेको बोर्ड टाँसेको छ । अस्पतालले आयुर्वेदिक तेल भन्दै चिकित्सकीय प्रयोजनका लागि भन्दै तेल विक्री गरिरहेको छ ।

आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यावसया गर्नका लागि दर्ता नभएका चिकित्सकले यो व्यवसाय गर्न पाइँदैन । यो ऐनको दफा ५.१.१ अनुसार दर्तावाला चिकित्सकले बाहेक अरु कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आयुर्वेद चिकित्साको व्यावसाय गर्न पाउने छैन । यो ऐन अनुसार बुढाथोकी चिकित्सक होइनन् । तर, उनले आयुर्वेद चिकित्साको उत्पादन भन्दै श्रीकेश तेल विक्री गर्दै आइरहेका छन् ।

प्रति बोत्तल ३ हजार रुपैयाँ : करोडौँ भ्याट छली

उत्पादक कम्पनि सप्तऋषि आयुर्वेदले प्रति बोत्तल ३ हजार रुपैयाँ असुली गरिरहेको छ । तर, मूल्य निर्धारण कुनै निकायबाट नभई कम्पनिले आफै गरेको हो । यो तेल खरिद गर्दा खरिदकर्ताले भ्याट बिल समेत पाउँदैनन् । विभिन्न कम्पनिको नाममा प्यान बिल दिइन्छ ।

यसअघि पनि लागेको थियो ठगीको आरोप

त्यसो त बुढाथोकीमाथि यसअघि पनि विभिन्न रोग ठीक पारिदिने भन्दै भ्रम फैलाएर औषधी विक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको थियो । तर, उनी कारबाहीबाट भाग्दै आएका छन् ।

दियोपोस्टले प्रतिक्रियाका लागि टिकाराम बुढाथोकीको भनिएको नम्बरमा सम्पर्क गरेको थियो । तर, उनको नम्बरमा फोन गर्दा उनका म्यानेजर बताउने एक व्यक्तिले फोन उठाए । उनलाई श्रीकेश तेल उत्पादक कम्पनि सप्तऋषि आयुर्वेद कहाँ दर्ता छ भनि प्रश्न गर्दा कम्पनिमा दर्ता रहेको जवाफ आयो । तर, आयुर्वेद विभाग र औषधी व्यवस्था विभागमा दर्ता भएको विषयमा आफलाई थाहा नभएको बताए ।

कम्पनी म्यानेजर नवराज विश्वकर्मा भन्छन्,‘कस्मेटिक डाक्टरले पुष्टि गर्नुभएको छ’

यता कम्पनीका म्यानेजर बताउने नवराज विश्वकर्माले भने कस्मेटिक डक्टरको टिमले पुष्टि गरेपछि उक्त तेल उत्पादन र विक्री भएको बताए । उनले सप्तऋषी आयुर्वेद घरेलुमा दर्ता भएको समेत उनको दाबी छ ।

दर्ताका लागि विभिन्न निकाय धाउने काम गरिरहेको समेत उनले बताए । औषधी व्यवस्था विभागमा दर्ता नभएको उनले नै स्विकार गरे । तर, कम्पनिले भने औषधीय प्रयोजनका लागि यो तेल विक्री गर्दै आएको छ ।