कमेडी च्याम्पियनमा पूर्वराजा ज्ञानेन्द्र शाह : ‘म देशको राजा हो कि चेसको राजा ?’

- दियोपोस्ट  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज मौन जस्तो देखिन्छन् । केही महिनाअघि जुम्लामा प्रकट भएका शाह त्यसयता सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । तर, पूर्वराजाकै भेषमा एक कलाकार भने कमेडि च्याम्पियनमा देखिएका छन् । धादिङको ज्वालामुखि गाउँपालिका २ घर भएका प्रेम विश्वकर्माले ज्ञानेन्द्र शाहको नक्कल गरेर कमेडि च्याम्पियनको मञ्च तताएका छन् ।

पूर्वराजाको पहिरन, भेष र आवाज लिएर मञ्चमा उत्रिएका उनले शुरुमै जजहरु सन्तोष पन्त, मनोज गजुरेल लगायतमाथि नै पूर्वराजासँग जोडेर व्यंग्य गरेका थिए । ‘गणतन्त्र ठीक छ, सन्तोष पन्तजी हिजो राजदरबारमा आएर हसाउनु हुन्थ्यो । अहिले मेन्टल हुनुभएछ । जजमेन्टल । सबैले सन्तोष पन्तलाई हाँस्दैन भन्नु हुन्छ । किन नहाँस्नु भएको थाहा छ । राजतन्त्र गएदेखि रिसाएको अहिलेसम्म हाँस्नु भएको छैन । डेमोक्रेसीमा पेलिएको मान्छे उहाँ नै हो,’ जज पन्त प्रति व्यंग्य गर्दै उनले भनेका छन्,‘उहाँलाई एउटा मन परिहेको हुन्छ । तीन जनाको बहुमतले पिओडी अर्कैले खान्छ । गणतन्त्र हो राजाले त सहनु परेको छ । तपाईं पनि सहनुस् । बाँकी कम्युनिस्टको त के कुरा गर्नु ।’

१० वर्षे सशस्त्र युद्ध र शान्तिपूर्ण सडक आन्दोलनबाट बाहिरिएका ज्ञानेन्द्र शाह यतिबेला नागार्जुन दरबारमा बस्छन् । कमेडि च्याम्पियनको मञ्चमा प्रस्तुती दिएका प्रेमले राजाको नक्कल गर्दै आफूलाई ७ दल र दिल्ली सम्झौता भनेपछि डर लाग्ने बताएका छन् ।
‘आजकाल जनताले बानेश्वरबाट राजा आउ देश बचाउ भनेका छन् । मध्यरातमा पारस आएर गेटमा हर्न बजाउँदा त सुन्दिनँ,’ उनले शाहप्रति व्यंग्य गर्दै भनेका छन्,‘अनि बानेश्वरको नारा नागार्जुनमा कसरी सुन्नु । हामी फर्काउँछौँ भनेर घरमै आउनुहुन्छ । तर, अहिलेसम्म कसैले फर्काउन सकेको छैन । म फर्किएको यतिका समय भइसक्यो मलाई फर्काउँछु भन्नेहरु अहिलेसम्म मलाई भेट्न समेत आइपुगेका छैनन् ।’

उनले यसो भनेपछि मञ्चमा तीन जनाको मुकुण्डो लगाएका व्यक्ति आइपुग्छन्— राजेन्द्र लिङदेन, रविन्द्र मिश्र र ज्ञानेन्द्र शाही ।
यी तीनै जनालाई देखेर उनले भन्छन्,‘राजेन्द्र, मिश्र र शाही साँच्ची अर्को साँढे खै । पहिला कमल थापा आउनु भो । महाराज हजुरको गाई चराएर म फर्काउँछु भनेर गिता कसम नै खाएर गोठालो लाग्नु भो । पछि कसमपनि तोडे गोठालो पनि छोडे । अहिले गाई एकातिर गोरु अर्कोतिर भइराखेको छ । फेरि हलो जोतेर हामी फर्काउँछौँ भनेर राप्रपा आयो । तपाईंहरुसँग राजसंस्था फर्काउने के देन छ भनेर सोध्दा लिङ्देन भन्नु हुन्छ । मिश्रजि सबैतिर भत्काएर यता मिश्रित हुन आउनु भएको छ । पहिला साझा साझा भन्नु हुन्थ्यो अहिले राजा राजा भन्नु हुन्छ । यस्तै चाल हो भने तपाईं भद्रगोल खेल्न जानुस् । पछि शाही जी म राजा फर्काउँछु भनेर आन्दोलनमा पुलिसलाई बर्दि खोलेर सिंगल सिंगल भिडौँ भन्दै हुनुहुन्थ्यो ।’

 

उनले यति भनेर व्यंग्य गर्दै गर्दा तीन राजावादी नेताको मुकुण्डो लगाएका पात्रहरु मञ्चबाट बिलोप हुन्छन् । त्यसपछि प्रेमले फेरी व्यंग्य गर्दै भन्छन्,‘देख्नु भो नी अहिले १० मिनेट त साथ दिन सकेनन् । सँधैभरी कसरी साथ दिन्छन् ?’

उनले भनेजस्तै बिबिसी नेपाली सेवाबाट राजिनामा दिएर राजनीतिमा होमिएका मिश्रले साझा पार्टी खोलेका थिए । विवेकशिल नेपालीदलसँग मर्ज गरेपछि विवेकशिल साझा दल बनेको थियो । तर, उक्त पार्टी विभाजन गरि उनी राप्रपामा प्रवेश गरेका थिए । यसैलाई उनले विम्ब बनाएका थिए ।

आफू विभिन्न स्थान घुम्न जाँदा जनताले सरकारमाथि बेरोजगारीका गुनासो गरेको प्रति उनले व्यंग्य गरेका छन् । ‘सरकार हामी त बेरोजगार भयौँ भन्नुहुन्छ । गणतन्त्र आएदेखि म आफै बेरोजगार भएको छु । फेरी श्रीमतीले किचकिच गर्यो भन्छन् । मलाई पनि कोमल महारानीले किचकिच गरिबक्सनुहुन्छ । कित केही काम गरिबक्स्योस् कि त खाडी गइबक्स्योस् । फेरी मण्डि गएर तरकारी ल्याइबक्स्योस् । राजा भएपनि मान्छे त हुँ । खान त पर्यो । तरकारी लिएर घर आयो कोमल महारानीले फेरी भन्नुहुन्छ । ल हेर्नुस् त तपाईंलाई सबैले ठग्छन् । यत्रो तरकारी लयाउँदा एक मुठा धनियाँ पनि दिएनछ । कस्तो बिग्रिएको मुला । ठ्याक्कै शेरबहादुर जस्तो । यो मुला तरकारीलाई असक्षम घोषणा गरिबक्स्योस् । रातो रातो छ केपी ओली रिसाएर बसेको रहेछ । ए आलु यो त प्रचण्ड जस्तो । सबैसँग टाँसिने ।’

तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते कु गरेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गरि पदबाट बर्खास्त गरेका थिए । त्यसलगत्तै देउवा पक्राउ समेत परेका थिए ।

गणतन्त्र आएपछि आफूपनि सामान्य नागरिक भएको नक्कली ज्ञानेन्द्र बनेका प्रेमको भनाई थियो । राजा आउ देश बचाउ भन्ने आन्दोलनमा राजा आफै हिँडेको प्रति समेत उनको व्यंग्य थियो । ‘अस्ति आन्दोलनमा राजा आउ देश बचाउ भन्दै आफै आन्दोलनमा हिँडेछु । राजा त मै हुँ । ल हेर्नुस् त यति सामान्य ज्ञान पनि थाहा नभएको । आजकाल दिन बिताउन निकै गाह्रो भएको छ,’ उनले व्यंग्य गरेका छन्,‘छोरासँग कुरा गरौँ छोरा भेट्न पप जानुपर्छ । पप गए जनताको दुख बुझ्न राजा पप पुगे भन्छ । त्यसैले दिन कटाउन भएपनि कोमल र म घरमै राजारानी भई खेलेका छौँ । बसौँला नागार्जुनमा मैराजा तिमी रानी ।’
त्यसपछि उनले राजा ज्ञानेन्द्रको स्वस्थ्यलाई लिएर माओवादी आन्दोलनसँग जोडेर ब्यांग्य गर्छन् । ‘उमेर पुगेपछि स्वास्थ्यले पनि त्यति साथ नदिँदो रहेछ । अस्ति डाक्टरकोमा गएको डाक्टरले तपाईंको स्वास्थ्यमा धेरै समस्या छ । जडिबुटी कन्दमूल खानुस् भन्नु भो । खान त हुन्थ्यो । आफूलाई जंगलबाट आएको चिजले त्यति राम्रो गर्दैनँ,’ उनले यसो भनेपछि जजहरुमा हाँसोको पहरा छुट्छ । जजहरु प्रदिप भट्टराई र मनोज गजुरलले करोड करोड भन्छन् ।

उनी फेरी ज्ञानेन्द्र शाहको विगत तर्फ फर्कन्छन् । २००७ सालमा उनका हजुरबुवा तत्कालिन राजा त्रिभुवन र बुवा महेन्द्र देश छोडेर भारत गएपछि तत्कालिन शासकले उनलाई राजा बनाएको थियो । त्यतिबेला शाह ७ वर्षका थिए । पछि २०५८ मा तत्कालिन राजा विरेन्द्रको वंशनास भएपछि फेरी शाह नै राजा बनेका थिए । १० वर्ष सशस्त्र युद्ध र १९ दिने शान्तिपूर्ण आन्दोलनपछि तत्कालिन राजा शाहले अधिकार जनताको नाममा दिएको भन्दै संसद पुनस्थापना गरेका थिए । २०६५ सालमा संविधान सभाको पहिलो बैठकले शाहलाई सँधैका लागि नारायणहिटीबाट नागार्जुन पुर्याएको हो ।

त्यसैलाई लिएर उनले व्यंग्य गरेका छन्,‘भन्छन् नी जेठो छोरा कान्छो नानी माईलो छोरो अनोमनी । म नाबालक हुँदा ७ सालमा राजा बनाइदिए पछि झिकिदिए । फेरी ५८ मा राजा बनाइदिए । ६५ मा झिकिदिए । अहिले फेरी राजा चाहियो राजा चाहियो भन्छन् । होइन म देशको राजा हो की चेसको राजा ?,’ उनले यो प्रश्न गरेपछि हास्यकलाकार तथा जज सन्तोष पन्त र रिचा उठेर सम्मान गर्छन् ।

त्यसपछि मञ्चमा पूर्वराजाका पिएसओ प्रकट हुन्छन् । उनले फोन आएको भन्दै फोन पूर्वराजालाई दिन्छन् । फोन पारस शाहको हुन्छ । पारसले हेलमेट लगाउन खोजेको भन्दै उनीमाथि पनि व्यंग्य गरिन्छ । अन्तिममा उनले हेलमेट खोज्न जाने भन्दै अन्तिम सन्देश दिन्छन्,‘हामीले धेरै व्यवस्था परिवर्तन गर्यौँ । अब अवस्था पनि परिवर्तन गरौँ । त्यसैले शासक जो सुकै भएपनि नेतृत्व, नीति र नैतिकता यो तीन चिज मिले परिवर्तन पक्कै हुन्छ । धन्यवाद ।’

उनको यो प्रस्तुतीलाई चारै जना जजले स्टान्डिङ अवेसन दिन्छन् । नायीका मेरुना मगरले प्रेमको प्रस्तुतीले महत्वपूर्ण सन्देश दिएको बताइन् । कलाकार प्रविन खतिवडाले प्रेमको प्रस्तुतीमा राजनीतिक सचेतना प्रचुर मात्रामा रहेको बताए ।
त्यस्तै कमेडि च्याम्पियनका जज सन्तोषले प्रेमको प्रस्तुती र कन्टेन्ट दुबै मिलेको बताए ।

मनोज गजुरलले कहिलेकाँही पात्र र विषय छनौटले कमेडिमा फरक पार्ने बताए । प्रेमले जुन पात्रको तहबाट विषय बस्तु पस्किए त्यसमा उनको अब्बलता देखिएको गजुरेलले बताए ।
नायीका रिचा शर्माले अरु राजा नफर्किएपनि प्रेम अर्को सिजनमा फर्किने भन्दै राजनीतिक व्यंग्य गरिन् ।
अर्का प्रदिप भट्टराईले प्रेमको प्रस्तुतीलाई राजा प्रस्तुती भएको बताए ।

भिडियो हेर्नुहोस्