९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स, चैतमा मात्रै १ खर्ब २१ अर्ब ४० करोड

दियोपोस्ट संवाददाता

काठमडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिना अर्थात् साउन देखि चैतसम्ममा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको हो ।

चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।
अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ ।

अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ । यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो ।