काठमाडौं । काठमाडौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिक पत्रिकामाथि ‘आपराधिक क्रियाकलाप’ संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्श निकालेको छ । सीआईबीको निष्कर्षको आधारमा सरकारी वकिल कार्यालयले उक्त पत्रिकाको कटिङ मात्रै हटाएर अभियोग पत्रमा भने पत्रिकाको नाम नै उल्लेख गरेर जिल्ला अदालत काठमाडौंमा दायर गरेको भेटिएको छ ।
काठमाडौंबाट प्रकाशित नागरिक दैनिकलाई सीआईबीले यस्तो कसुरमा संलग्न भएको अनुसन्धानप्रतिवेदनमा उल्लेख गरेको पाइएको हो । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम बनाएको ‘फेक रेस्क्यु’ अर्थात फर्र्जी उद्दार विमा दाबी भुक्तानीबारे सीआईबीले संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) करिब २ महिना लामो अनुसन्धान गरि ११ जना पक्राउ प्रतिवादीसहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । ३३ जनामध्ये ३२ जनालाई मुद्दा चलाएर यो धन्दाको मुख्य ‘मास्टर माइन्ड’ को रुपमा रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक तथा उड्डयन क्षेत्रका विज्ञ, उद्यमी मात्रै होइनन् नेपाल सरकारबाट गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिका सदस्य राजेन्द्र बहादुर सिंहलाई उन्मुक्ति दिइएको थियो । उनै कँडेलसँग मिलेर नागरिक दैनिकले समेत अपराधिक क्रियाकलापमा संलग्नता देखाएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुगेको सीआईबीको प्रतिवेदनमा नागरिक दैनिक पत्रिकाको कटिङसहित आपराधिक कसुर उल्लेख गरिएको छ ।

‘प्रतिवादी राजेन्द्र बहादुर सिंहले ‘यो चाहिँ अब म नै आर्टिकल लेखेर मिडियामा चाहिँ नागरिक दैनिकमा आर्टिकल निकाल्नु पर्यो, न्युज के । बुझ्नु भयो नि ? मलाई यो ईन्फर्मेशनहरु दिनु, हैन । आइतबार सोमबार तिर म नै एउटा न्युज निकाल्न लगाउँछु के सबभन्दा पहिला, त्यो पनि गर्नु पर्यो । अनि अब उप्रान्त चाहीँ हामी रेस्क्यु भन्दै नभन्ने के श्यामजी । हाम्रो चार्टर हो । हेलिकोप्टरले त भन्दै भन्दैन, तपाईंहरुले पनि रेस्क्यु नभन्ने भनी अर्को संवादकर्ता प्रतिवादी श्यामसुन्दर कँडेलसँग कुरा गरी नागरिक दैनिक वर्ष अंक २६७ सोमबार १२ माघ २०८२ मुख्य पृष्ठमा ‘पर्यटनको प्रतिवेदन एकातिर सिआईबीको अनुसन्धान अर्कैतिर’ भन्ने शिर्षकमा आर्टिकल लेख्न लगाई अनुसन्धानलाई प्रभावित पार्ने र आफ्नो अनुकुलमा आर्टिकल समेत लेखाई राज्यको अनुसन्धान गर्ने निकायको उपहास गर्नु र अनुसन्धान प्रक्रियामा रहेको कसूरको सम्बन्धमा आफु अनुकुल समाचार प्रकाशन गर्नु गराउनु कानुनको शासन विरुद्धको चुनौती तथा आपराधिक समुहको लागि आपराधिक समुहसँग मिलेर संगठित अपराध गर्न सघाउ पुर्याउने तथा अनुसन्धानलाई प्रभावित पार्न खोजेको पुष्टि भएको’ भनि लेखिएको छ ।
यसैलाई पुष्टि गर्नेगरी सिंहले नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई समाचार लेखिदिन आग्रह गरेको समेत स्विकार गरेका छन् । दियोपोस्टले सिंहले लुइँटेललाई पठाएको म्यासेजको स्क्रिन सर्टसहितको समाचार सार्वजनिक गरिसकेको छ ।

अभियोग पत्र अनुसार सिंहले आफूले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१०३२९९४ बाट ह्वाट्स एप नम्बरमा राम केसी भनेर सेभ भएपनि प्रतिवादी कँडेलले चलाउने ९८०१७०६८०९ नम्बरमा पटक पटक सीआईबाट कँडेललाई संगठित अपराध मुद्दाको जानकारीका लागि दिएको जानकारी पत्र नै पठाएको र अनुसन्धानलाई प्रभावित पार्न सेटिङ गरेको पुष्टि ठहर सरकारी वकिल कार्यालयले नै गरेको छ ।

त्यस्तै सिंहले कँडेलको मोबाइल नम्बरमा ‘श्यामजी आजदेखि रविन्द्र सिलवाल क्यानको बोर्ड डाइरेक्टर हो है …. आज एपोइन्टमेन्ट लिनु भयो । ६ महिना लाग्यो मलाई यो गराउन भनि म्यासेज समेत पठाएको देखिएको छ । उनले नियामक निकायमा आफू अनुकुल मानिस नियुक्ती दिलाएर संगठित रुपमा उद्दार कम्पनिसँग आपराधिक मिलेमतो गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अपमान, हुने होच्याउने वा घृणा वा द्वेष फैलाउने काम गरी राष्ट्रहित प्रतिकुल कार्य गरेको पुष्टि भएको तथा नेपाल नागरिक उडयन प्राधिकरणको आन्तरिक टर्मिनल शाखाले हेलिकोप्टर कम्पनिलाई लेखेको पत्र र सीआईबी पक्राउ गरेको रविन्द्र अधिकारीबारेको प्रेस वक्तव्य समेत पठाएको अभियोग पत्रमै उल्लेख छ ।
त्यस्तै अडियोमा सुनिएको तथ्यलाई लिएर सरकारी वकिल कार्यालयले सिंहमाथि तथ्यांक लुकाउन र प्रमाण लुकाउन र अनुसन्धानलाई प्रभावित पार्न निरन्तर लागि रहेको पुष्टि भएको दाबी गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले र जिल्ला न्यायधिवक्ता गोविन्द प्रसाद हुमागाइँको चलखेलको आधारमा सिंहलाई उन्मुक्ति दिइएको थियो । अहिले काफ्लेलाई सरकारले कारबाही स्वरुप महान्यायधिवक्ता कार्यालयमा तानेको छ ।

सिंहलाई उन्मुक्ति दिँदा सरकारी वकिल कार्यालयले आफैले पेश गरेको अघिल्लो पृष्ठहरुमा दोषी करार गरिएको वाक्यलाई समेत ख्याल गरेको छैन । अघिल्ला पृष्ठहरुमा तथ्य र प्रमाणका आधारमा अपराधी करार भएका सिंहलाई अन्तिम पृष्ठमा भने ‘पक्राउ प्रतिवादी राजेन्द्र बहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै लाभ समेत लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको हुँदा निकाशा भई आए बमोजिम गरिनेछ’ भनि लेखेर उन्मुक्ति दिइएको थियो । उनै सिंहसँग मिलेमतोमा अपराधिक क्रियाकलापमा मिडिया प्रयोग भएको भनेर सीआईबीले प्रतिवेदन बनाएको भेटिएको हो ।

सिंहले मिडिया लबिइङ गरेर अनुसन्धानलाई कमजोर बनाउने दुष्प्रयास गरेको सीआईबीको अनुसन्धानले नै देखाएको मिसिल संलग्न कागजातमा देखिन्छ । ‘आफ्नो पक्ष बलियो बनाउन ‘नागरिक न्युज’ जस्ता मिडियामा लेख छपाउने (नागरिक दैनिकको मिति २०८२ माघ १२ गते सोमबार, अंक २६७ मा’ पर्यटनको प्रतिवेदन एकातिर सिआइबीको अनुसन्धान अर्कैतिर शिर्षकमा प्रकाशन भएको) र अन्य हेलिकोप्टर कम्पनीका संचालकहरु (प्रताप पाण्डे, ओली आदि)लाई लिएर प्राधिकरणका महानिर्देशकलाई भेट्न जाने योजना बनाएको देखिन्छ,’ सीआइबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
फेक रेस्क्यु धन्दा : विचौलिया सिंह र नागरिक दैनिकका सम्पादक लुँइटेलको सेटिङ्गमा छापियो समाचार
गुणराज लुइँटेलको खण्डन : ‘निजि कुराकानी सार्वजनिक गरेर स्रोत उदांगो पारेँ भन्न मिल्दैन’