काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नाममा १४ कट्ठा जग्गाबाहेक कुनै पनि भौतिक सम्पत्ति नरहेको विवरण बुझाउने गरेका छन् । तर, उनै प्रचण्डको परिवारको जीवन भने अस्वभाविक, अनियमित शंकाष्पद छ । कुनै समय निजि सम्पत्ति र भौतिक सुविधालाई समेत त्याग गरेर युद्धमा हिँडेका प्रचण्ड आलिसान निवास, करोडौँको गाडी र महँगो जीवन शैलीमा व्यस्त छन् । छोरी गंगा दाहालले बोक्ने ‘गुसी’ कम्पनिको ब्याग जेन्जी आन्दोलन अघि सामाजिक सञ्जालमा ‘नेपोबेवी’ नाममा भाइरल बनेको थियो । उनै गंगा दाहालको भनिएको ललितपुरस्थित घर जलेर खरानी भयो । केही नोट र सुन भेटिएको समेत चर्चा भयो । तर, ललितपुरमा भएको भनिएको घर गंगाको नाममा हालसम्मको अनुसन्धानले देखिँदैन ।
तीन पटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएका प्रचण्डकी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यमाथि यतिबेला सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । उनीहरु मात्रै होइन प्रचण्ड परिवारमा बसेर राइँदाइँ गरिरहेका प्रकाश रायमाथि पनि छानबीन शुरु भएको छ ।
प्रचण्ड पुत्री गंगा दाहालको नाममा चितवनको भरतपुर र मोरङमा करिब २४ रोपनी जग्गा रहेको खुलेको छ । उनले यो जग्गा खरिद गर्दा वैध स्रोतबाट खरिद गरेको पुष्टि हुने आधार नरहेको स्रोतले जनाएको छ ।

प्रचण्ड पुत्री दाहालको नाममा २०७८ मंसिर २० गते मोरङमा राम प्रसाद दाहालबाट एउटा कित्ता १४ कट्ठा जग्गा राजिनामा पास भएर आएको देखिन्छ । त्यस्तै २०७८ फागुन १८ गते साुविक मुना अधिकारीबाट मोरङमै अर्को २० कट्ठा जग्गा पनि आएको राजिनामा पास भएको छ ।
२०८० चैत्र ९ गते दाहालको नाममा चितवनको पटिहानी क्षेत्रमा हेमराज पौडेलको नामबाट कित्ता नम्बर ९४ बाट आवाशिय क्षेत्रको जग्गा वकसपत्रबाट आएको देखिन्छ । कतिपय जग्गा चितवनमा माइती र मोरङमा घर भएका कारण केही जग्गा आएको उनको परिवारको दाबी छ । यद्धपी यतिका जग्गा किन्ने वैध स्रोत उनीमा नभएको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् ।

सानो व्यवसायबाट सार्वजनिक जीवनमा प्रवेश गरेका जीवन आचार्यको सम्पत्ति विवरणले उनको आर्थिक हैसियत अपेक्षाभन्दा तीव्र रूपमा विस्तार भएको देखिएपछि त्यसको स्रोत र प्रकृतिबारे अनुसन्धान सुरू भएको छ ।
प्रचण्ड पुत्री गंगा दाहालसँग विवाहपछि पहुँच बढाएका जीवन कुमार आचार्यमाथि पनि विभागले गहिरो अनुसन्धान गर्दैछ ।
कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री रहँदा आचार्यले बुझाएको सम्पत्ति विवरणअनुसार ललितपुर, विराटनगर र मोरङमा फैलिएको घरजग्गा स्वामित्व उल्लेख गरेका छन् । ललितपुरको सुनाकोठीमा साढे दुई तले घरसहितको जग्गा ३६ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ, भने विराटनगरमा पनि साढे दुई तले घरसहितको जग्गा १३ लाख ५० हजारमा खरिद गरिएको जनाइएको थियो ।
मोरङको साबिक हात्तीमुढा क्षेत्रमा विभिन्न कित्तामा ठूलो परिमाणमा जग्गा स्वामित्व देखिन्छ, जसको केही भाग व्यवसायिक आम्दानीबाट खरिद गरिएको र केही पैतृक सम्पत्तिबाट प्राप्त भएको दाबी गरिएको छ । तर, सानो व्यवसायबाट आएको आम्दानीले यति ठूलो परिमाणको सम्पत्ति संकलन कसरी सम्भव भयो भन्ने विषय स्पष्ट छैन । फेरि उनले गंगा दाहालसँग विवाह गरेपछि व्यवसायमा जोडिएको देखिदैंन । उनी पटकपटक निर्वाचन लडेका व्यक्ति हुन् ।
उनले बुझाएको सम्पत्ति विवरणमा थप २० तोला सुन, ५० तोला चाँदी, ४५ लाख रुपैयाँ बैंक मौज्दात तथा काठमाडौँका दुई कम्पनीमा कुल ८० लाख रुपैयाँ बराबरको शेयर लगानीले आचार्यको वित्तीय विस्तारलाई थप प्रश्नको घेरामा ल्याएको छ । उक्त लगानीको स्रोत जग्गा बिक्री र ‘लाइफ कम्प्युटर प्वाइन्ट’ व्यवसाय भनिए पनि त्यसको वास्तविक आम्दानी, कर विवरण र कारोबारको पारदर्शिताबारे विवरण खुलाइएको छैन ।
ऋणतर्फ ८५ लाख रुपैयाँ बराबरको दायित्व देखाइएको भए पनि उच्च मूल्यको सम्पत्ति, शेयर लगानी र ४१ लाख रुपैयाँको गाडी खरिदले कुल सम्पत्ति संरचनामा असन्तुलन देखिएको विश्लेषण गरिएको छ ।
त्यस्तैगरी आचार्य, दाहाल र राय जोडिएको विभिन्न कम्पनिमाथि समेत अनुसन्धान शुरु भएको छ । जीवन आचार्यको नाममा २०७८ श्रावण महिना १६ गते जेएमडी नामक कम्पनि दर्ताभएको देखिन्छ । उनको कम्पनिमा मनोज कुमार ढुंगेल र दिपक चुँदाली साझेदार देखिन्छन् । चुँदाली तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालको स्वकिय सचिव समेत हुन । गंगा दाहाल, जीवन आचार्य र प्रकाश रायको नामा धनुश्री ट्रेडिङ कम्पनि समेत रहेको पाइएको छ । उक्त कम्पनिले नेपालमा के कारोबार गर्छ भन्ने खुलाइएको छैन । यद्धपी यो भारतीय कम्पनिसँग मिलेर नेपालमा अवैध धन्दा गर्ने कम्पनि भएको स्रोतले बनाएको छ । भारतमा धनुश्री ट्रेडिङ कम्पनिले बहुमुल्य पत्थर लगायत ढुंगाको काम गर्दै आएको छ । यो कम्पनिमा प्रचण्ड परिवार जोडिएको आशंकामा समेत अनुसन्धान जारी छ ।

यता प्रकाश राय नाम गरेका प्रचण्डका आइटि विज्ञको नाममा पनि अवैध धन्दा र कारोबार देखिएको छ । उनको नाममा स्किमा टेक्नोलोजी प्रा.ली नामक कम्पनि रहेको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको उच्च स्रोतले जनाएको छ । उनको कम्पनिले पछिल्लो आर्थिक वर्ष २०७९ मा पेश गरेको वित्तिय विवरणमा जम्मा १ लाख १७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको देखिन्छ । तर, रायमाझी र उनकी कार्की थरकी श्रीमतीको नाममा ६ करोड मुल्य बराबरको बंगला रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार नेपालमा अवैध मानिएको बिटक्वाइन कारोबारमा संलग्न रहेका आरोपी ज्ञानेन्द्र खड्कालाई तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई भेटाएर मुद्दा सेटिङ गराएबापत रायलाई खड्काले सातदोबाटोमा ६ करोडको बंगला खरिद गरिदिएका थिए । खड्कामाथि रवि लामिछो गृहमन्त्री र प्रचण्ड प्रधानमन्त्री भएको समय २०८० फागुनमा प्रहरीले समेत अनुसन्धान गरेको थियो । तर, प्रहरीको मुद्दा मिलाउने सर्तमा रायलाई उक्त बंगला दिएपछि मुद्दा सामसुम भएको स्रोतको भनाई छ ।

रायले काठमाडौंमा हियर एण्ड शान्ति सलुन कम्पनि समेत संचालन गरेका छन् । उक्त कम्पनिमा एक मिडियाका संचालककाे परिवार र भारतीय समुहको तर्फबाट एक शंकाष्पद व्यक्तिको समेत लगानी छ । ती मिडिया सञ्चालकले भने उक्त अाराेप अस्विकार गरेका छन् । भारतीय लगानीकर्ताले गंगा दाहाल र स्मिता दाहालको तर्फबाट सेयर लगानी गरेको स्रोतले बताएको छ । रायले मुद्दा मिलाए बापत झोलामा पैसा बुझ्ने गरेको तत्कालिन प्रचण्ड सचिवालयमा कार्यरत निकटस्थहरु नै बताउन थालेका छन् ।
रायले भारतीय लगानीकर्ताको रकम हिनामिना गरेपछि केही समयअघि विवाद भएको र निकै ठूलो समस्या झेल्नु परेको समेत उनी निकटस्थहरु बताउँछन् । प्रचण्डको सचिवालय भित्र आइटि विभागको काम गरेपनि कयौँ नेताहरुको मोबाइल तथा ह्वाट्स एप ह्याक गर्ने र गोप्य सुचना संकलन गर्न उनलाई प्रयोग गरेको समेत नेताहरुकै दाबी छ । रायले नारायणकाजी श्रेष्ठ, मनहरी तिमिल्सिना र गोकर्ण भट्टसम्मको मोबाइलका गोप्य डाटा लिएर बार्गेनिङ गरेको आरोप छ ।
साइबर अपराधमा मुद्दा हाल्ने रायको धम्की
प्रचण्डको सचिवालयमा आइटि विज्ञको भूमिका निभाएका प्रकाश रायले दियोपोस्टलाई साइबर अपराधमा मुद्दा हाल्ने धम्की दिएका छन् । प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता विपरित उनले समाचार हटाउन समेत माग गरेका छन् । तथ्यगत बुँदासहित बस्तुनिष्ठ खण्डन गर्नुपर्ने प्रावधान विपरित रायले धम्कीपूर्ण रुपमा समाचार हटाउन माग गरेका छन् ।
यस्तो छ उनको धम्की पत्र
