काठमाडौं । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले दियोपास्ट डटकममा प्रकाशित ‘फेक रेस्क्यु धन्दा ः विचौलिया सिंह र नागरिक दैनिकका सम्पादक लुइँटेलको सेटिङमा छापियो समाचार’ शिर्षकको समाचारमाथि खण्डन गरेका छन् ।
पर्यटकको फर्जी उद्दार र विमा दाबी ठगीधन्दामा संलग्न रहेको र मतियार बनेको अभियोगमा पक्राउ परेका राजेन्द्र बहादुर सिंहले पक्राउअघि दिएको सुचनालाई आधार मानेर समाचार प्रकाशन गरेको विषयलाई अपराधका रुपमा चित्रण गर्न नहुने जिकिर गरेका छन् । उनले १० बुँदामा दियोपोस्टमा प्रकाशित समाचारहरुको खण्डन गरेका छन् ।
लुइँटेलले प्रकाशित समाचारलाई पुष्टि गर्न अन्य पत्रिका र संचार माध्यमलाई जोडिरहनु नपर्ने र कुनै व्यक्ति स्रोत वा संस्थाबाट समाचार वा सामग्री लिनुलाई अपराधको रुपमा चित्रण गर्न नसकिने बताएका छन् ।
सिंहले ह्वाट्स एप मार्फत पठाएको सन्देशलाई जस्ताको तस्तै नागरिक दैनिकमा प्रकाशन भएको विषयलाई उनले स्विकार गरेका छन् । तर, अरुको व्यावसायीक मर्यादामा आँच पुर्याइँ जथाभावी समाचार लेखिएको उनको आरोप छ ।
‘पत्रकारितामा कुनै पनि व्यक्तिसँग कुरा गर्न सकिन्छ । कुनै पनि व्यक्तिसँग विगतमा गरेका कुराकानी वा कसैले पठाएको सामग्री छाप्ने वा नछाप्ने अखबारको आफ्नो विषय हो । छापेकै कारण पछि पक्राउ परेको व्यक्तिसँग मिलेमतोमा समाचार छापेको भन्न मिल्दैन । अभियुक्तसँग मिलेमतोमा समाचार प्रकाशन गरेको भन्ने भनाई यथार्थ होइन,’ मूलधारको संचार माध्यममा लामो समयसम्म सम्पादक बनेका लुइँटेलले खण्डनमा संचार माध्यममाथि नै झूटो आक्षेप लगाएका छन्,‘आफ्नो लाभको निम्ति अर्को व्यावसायिक पत्रकारमाथि लाञ्छित गर्न मिल्दैन ।’
जबकी पत्रकार आचार संहिता २०७३, पहिलो संशोधन (२०७६) को दफा ६ को उपदफा १ (क)मा प्रतिक्रिया वा खण्डन बुँदागत स्पष्ट, संक्षिप्त, र तथ्यपरक, शिष्ट र मर्यादित हुनुपर्ने उल्लेख छ । उनले समाचार प्रकाशन गर्ने संचार माध्यम दियोपोस्टले ‘लाभका निम्ती’ भनि झूटो विवरण उल्लेख गरेका छन् ।
त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय हुँदै आइतबार मात्रै जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा सीआईबीको हिरासतमा रहेका राजेन्द्र बहादुर सिंहले नागरिक दैनिकलाई प्रयोग गरी वर्ष १७ अंक २६७ सोमबार ‘मुख्य पृष्ठमा पर्यटनको प्रतिवेदन एकातिर सिआइबीको अनुसन्धान अर्कैतिर’ भन्ने शिर्षकको समाचार लेख्न लगाई अनुसन्धानलाई प्रभावित पार्ने र आफ्नो अनुकूल आर्टिकल लेखाई राज्यको अनुसन्धान गर्ने निकायको अनुसन्धानलाई उपहास गर्नु र अनुसन्धान प्रक्रियामा रहेको कसुरको सम्बन्धमा आफु अनुकुलको समाचार प्रकाशन गर्नु गराउनु कानुनको शासनको विरुद्धको चुनौती तथा आपराधिक समुहको लागि आपराधिक समुहसँग मिलेर संगठित अपराधमा सघाउ पुर्याउने तथा अनुसन्धान कार्यलाई प्रभावित गर्न खोजेको पुुष्टी भएको भन्ने उल्लेख छ ।
यो विषयलाई अनुसन्धान कसको हो ? के यो संचारगृह आफै अनुसन्धानमा संलग्न भएको हो ? भनि प्रश्न गरेका छन् । दियोपोस्टले प्रकाशित गरेको समाचारमा अनुसन्धान गर्ने निकायको अनुसन्धान प्रतिवेदन र स्वयं लुइँटेलकै ह्वाट्स एपमा तत्कालिन अभियुक्त सिंहले पठाएको सन्देशलाई समेत आधार बनाएर समाचार बनाएको तथ्यसहितको समाचार प्रकाशन गरेको थियो ।
लुइँटेल र सिंहबीचको ह्वाट्स एप कुराकानी सार्वजनिक गर्नुलाई लुँइटेलले निजि कुराकानी सार्वजनिक गरेको आरोप लगाएका छन् । ‘निजि कुराकानी सार्वजनिक गरेर यसबाट सञ्चार माध्यमको स्रोत उदांगो पारेको भन्ने निष्कर्ष निकाल्न मिल्दैन । पत्रकारले जो सुकैसँग कुराकानी गर्न सक्छन् । कुनै व्यक्तिको अभियोगसँग यसको के अर्थ रहन्छ ?’ उनको प्रश्न छ,‘अभियोग लागेकै व्यक्तिसँग पनि कुराकानी गरेर यथार्थ प्रकाशन गर्न सकिन्छ । यसलाई अपराधको रुपमा चित्रण गरी कसैको व्यावसायीक प्रतिष्ठामाथि धावा बोल्ने प्रयास गरिएको छ ।’
यस्तो छ लुइँटेलले दियोपोस्टलाई प्रेसित गरेको खण्डनको पूर्ण पाठ


