काठमाडौं । प्रसिद्ध भारतीय पत्रकार आनन्दस्वरुप वर्माले आफ्नो पुस्तक ‘पत्रकारिता का अंधा युग’ मा लेखेका थिए, ‘मिडियाले कर्पोरेट घरानाका लुटलाई सहज बनाउन भूमिका खेलिरहेका छन् ।’
भारतीय समाज र नेपाली समाज मूलत: भाषिक र सांस्कृतिक रुपमा मात्रै होइन आचारणमा पनि मिल्दोजुल्दो छ । त्यहाँका मिडिया र नेपाली मूलधारका मिडियाका धन्दा र व्यावसायमा समानता छ भन्दा अन्यथा नहोला । वर्माले भनेजस्तै नेपाली मूलधारका एक सञ्चारमाध्यम र त्यहाँ कार्यरत सम्पादकले ठगी र अपराधका आरोपीहरूको लुटलाई सहज बनाउने गरि भूमिका निभाएको पाइएको छ ।

हाल हिरासतमा रहेका सिंहले पठाएको सन्देश र सोही सन्देशलाई सीआईबी स्रोतले दिएको जानकारी भनि प्रकाशित भ्रामक समाचार (हाइलाइट)
उच्च हिमाली भेगमा पदयात्राका लागि आउने विदेशी पर्यटक उद्दार (रेस्क्यु) का नाममा हुने गरेको नक्कली उद्दार, ठगी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक अभियुक्तसँग मिलेमतोमा काठमाडौंबाट प्रकाशित हुने नागरिक दैनिकका सम्पादक गुणराज लुँइटेलले समाचार प्रकाशन गरेको पाइएको छ ।
गत फागुन १३ गते प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परी हाल हिरासतमा रहेका राजेन्द्र बहादुर सिंहले फेक रेस्क्यु धन्दा गर्नेहरुको पक्षपोषण गरि समाचार सामग्री प्रकाशन गर्न नागरिक दैनिक र सम्पादक गुणराज लुँइटेललाई प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेल र हाल केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी)को हिरासतमा रहेका राजेन्द्र बहादुर सिंहबीच समाचार लेखाउने विषयमा भएको कुराकानीको स्क्रिन सर्ट
सीआइबीले सरकारी वकिल कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदन र मिसिलमा भेटिएको प्रमाणले सिंह र लुइँटेलबीच ह्वाट्स एप कन्भर्सेसनले नेपाली मूलधारका सञ्चारमाध्यमको समाचारको स्रोत समेत उदाङ्गो पारिदिएको छ ।
माउन्टेन हेलिकोप्टर नामक कम्पनिका प्रबन्ध निर्देशक समेत रहेका सिंह विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष समेत हुन् । उनले सीआइबीको अनुसन्धानलाई प्रभावित पार्ने गरि विचौलियाको भूमिका निभाएका थिए । फेक रेस्क्यु धन्दामा संलग्नहरूलाई जोगाउने नियतले नागरिक उडयन प्राधिकरणसँग मिलेमतोमा गलत तथ्यांक दिलाउने भूमिकामा सिंह थिए । सीआईबीले प्राधिकरणसँग रेस्क्युको विवरण माग गर्दै पत्राचार गरेको थियो । सोही पत्रको जवाफ लेख्नेक्रममा सिंहले रेस्क्यु शब्द नै नराख्न र सबै उडानलाई चार्टर फ्लाइट मात्रै देखाउन निर्देशन दिएको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेल र हाल केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी)को हिरासतमा रहेका राजेन्द्र बहादुर सिंहबीच समाचार लेखाउने विषयमा भएको कुराकानीको स्क्रिन सर्ट
हवाई क्षेत्रको नियामक निकाय समेत रहेको नागरिक उडयन प्राधिकरणका महानिर्देशकसँग सेटिङमा ‘आईतबार पत्र लेखेर हामीसँग रेस्क्यु डेटा छैन’ भन्ने जवाफ लेख्न समेत सिंहले भूमिका खेलेको अनुसन्धानमा देखिएको छ । सीआईबीले अनुसन्धान प्रतिवेदनमा यसलाई नियामक निकायलाई प्रभावमा पारेर कसुर वा अपराध लुकाउने प्रयास गरेको स्पष्ट भएको उल्लेख गरेको छ ।
सीआईबीले चलानी नम्बर २०८२ पुस ११ गते चलानी नम्बर ६११७ को पत्रबाट हेलिकोप्टर कम्पनिको तथ्यांक तथा उद्दारको विवरण माग गरेको थियो । यता प्राधिकरणले भने मिति २०८२ पुस २८ गते पत्र पठाएर अल्टिच्युड एयर बाहेक अन्य कुनै हेलिकोप्टर कम्पनिले विवरण नदिएको जवाफ पठाएको थियो ।
सिंहले आगामी सिजनदेखि नै कागजातमा ‘रेस्क्यु’ भन्ने शब्द नै प्रयोग नगर्ने यसलाई ‘चार्टर’ वा ‘मेडिकल रेस्क्यु’को नयाँ परिभाषा दिएर वास्तविक संख्या लुकाउने रणनीति भएको संवाद समेत सीआईबीले सरकारी वकिल कार्यालयमा पेश गरेको मिसिलमा देखिन्छ । उनै सिंहले सञ्चारमाध्यमलाई समेत दुरुपयोग गरि फेक रेस्क्यु धन्दा गर्नेहरुको पक्षपोषण गरेको र त्यसमा नागरिक दैनिक संलग्न भएको प्रमाण फेला परेको छ ।
विचौलियाको भूमिका निभएका सिंहले सन् २०२६ जनवरी २५ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई फेक रेस्क्यु धन्दा गर्नेहरुलाई जोगाउने उद्देश्यले समाचारमा उल्लेख हुनुपर्ने विवरण लेखेर ह्वाट्स एपमा पठाएको देखिन्छ ।
सिंहले लुइँटेललाई पठाएको विवरणमा अधिकांश शंकाजन्य विषयहरू मात्रै छन् । ‘प्रहरीको शक्तिको दुरुपयोग भएको, कुनै व्यक्तिले फेक रेस्क्युमा परेको भनि उजुरी नदिएको, सीआईबीले कथा बनाएको, आन्दोलनले थिलिएको पर्यटन उद्योगलाई दबाव परेको, सीआईबीको अनुसन्धान फितलो भएको र विषय विज्ञको प्रयोग बिना अनुसन्धान गरेको, बजारको प्रतिष्पर्धाले गर्दा कतै सीआईबी प्रयोग भएको हो की ?, उक्त पर्यटकलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्दैन ?’ भन्ने प्रश्नसहितको विवरण राखेर सिंहले प्रधानसम्पादक लुइँटेललाई पठाएका छन् । त्यसको जवाफमा लुइँटेलले ‘हस सर’ र ‘कल यु सर’ भनेर जवाफ पठाएका छन् ।

फेरी ६ बजे सिंहले ‘सर यी केही मूल प्रश्नहरु हुन् छुट्नु हुँदैन सर’ भनेर ‘नमस्ते’को ईमोजी पठाएका छन् । जवाफमा लुइँटेलले ‘स्योर सर’ भनेर जवाफ दिएका छन् । फेरी, सिंहले नै लुइँटेललाई सन्देश पठाएको देखिन्छ, जसमा लेखिएको छ, ‘यो केसमा पीडित को हो भन्ने जानकारी नभएको’, कति जना पर्यटकले म फेक रेस्क्युमा परेँ भनेर नेपाल सरकार वा सम्बन्धित निकायमा उजुर गरेको भन्ने डाटा नभएको’, शंकाष्पद आधार बनाई सबैभन्दा बढि व्यापार र कर तिर्ने कम्पनिलाई टार्गेट गरेको देखिन्छ, यि कम्पनिहरू केही राजनीतिक र प्रहरी प्रशासनमा पहुँच एवं पकड भएको हेलिकोप्टरका साहुसँग व्यापार नगर्ने मध्ये परेका छन् । के यो संयोग मात्र हो त ?’
अर्को सन्देशमा सिंहले डेनी केनमाथि यौनहिंसा गरेको र ट्राभल एसिस्ट भन्ने कम्पनि सञ्चालन गरेको भनेर लेखेका छन् ।
सिंहले सन्देश पठाएको भोलीपल्ट अर्थात २०२६ जनवरी २६ मा गुणराज लुइँटेलले ह्वाटसएपमा समाचार शिर्षकसहितको लिंक पठाएका छन्, ‘पर्यटनको प्रतिवेदन एकातिर, सिआइबी अनुसन्धान अर्कैतिर ।’

यो शिर्षकको समाचार २०८२ माघ १२ गते सोमबार अंक २६७ मा समेत पहिलो पृष्ठमा प्रकाशित छ । टपेन्द्र कार्कीको बाइलाइनमा लेखिएको समाचारमा फेक रेस्क्यु र प्रमाण मेटाउन सक्रिय राजेन्द्र बहादुर सिंहले प्रधानसम्पादक लुइँटेललाई पठाएको सम्पूर्ण सन्देशको व्यहोरा जस्ताको तस्तै छापिएको छ ।
प्रकाशित समाचारमा सिंहले लुइँटेललाई पठाएकै सन्देशलाई पत्रकारले आफ्नो दाबी ठानेर लेखेको देखिन्छ । ‘अनुसन्धानका नाममा प्रहरी शक्तिको दुरुपयोग गरिएकोमा चिन्ता गरिएको छ । कुनै पनि व्यक्तिले म ‘फेक रेस्क्युमा परेँ’ भनेर उजुरी गरेको अवस्था छैन । गत जेनजी आन्दोलनले थला पारेको पर्यटन उद्योगलाई थप थला पार्न र केही व्यक्तिको व्यावसायिक प्रतिष्पर्धालाई प्रयोग गरिएको आशंका हुन थालेको छ,’ समाचारमा सिंहकै दाबीलाई पत्रकारले आफ्नो सूचना मानेर लेखेका छन्, ‘विषयविज्ञसँग बुझ्दै नबुझी अनुसन्धानको नाममा कारबाही बढाइएको आरोप पनि लगाइएको छ ।’
२९ फागुन २०८२ मा पनि नागरिक दैनिकले अर्को समाचार लेखेको छ, जसको शीर्षक छ,‘फेक रेस्क्यु’ प्रकरण: उजुरी इमेलमा, प्रमाण जुटाउन सकस’ । यो समाचारको अन्तिमतिर पनि यसअघि सिंहले नै पठाएको सन्देशलाई सीआईबी स्रोतले दिएको सूचना भन्दै रिपोर्टरले दाबी गरेर समाचार लेखेका छन् ।
दियोपोस्टले सम्पादक लुइँटेल सम्पर्क गर्दा उनले ‘आफू अहिले मिटिङमा रहेको’ फोन काटिदिए।
अपडेट
गुणराज लुइँटेलको खण्डन : ‘निजि कुराकानी सार्वजनिक गरेर स्रोत उदांगो पारेँ भन्न मिल्दैन’